काम चाहियो कि कामदार ? पसलले खोजिदिन्छ

 चैत २७, २०७५ बुधबार १३:५३:३५ | मोहन पौडेल

काठमाण्डौ – बानेश्वरबाट पूर्वतिरको शान्तिनगर चोक । धेरै पसलका बीचमा एउटा पसल छ । नाम रोजगारी पसल । पसलको नाम लेखिएको बोर्डमा नामभन्दा तल लेखिएको छ – यहाँ काम र कामदार पाइन्छ ।

पसलभित्र चार/पाँच जना कर्मचारी काम गरिरहेका छन् । अघिल्लो हप्ता रोजगारी पसलमा पुग्दा पसलका बिजनेस म्यानेजर सन्जिव निरौला त्यो दिनका लागि कामदार खोज्दै आएका आवेदन हेर्दै हुनुहुन्थ्यो । शुक्रबार मात्रै पसलमा काठमाण्डौका लागि २० जना कामदार चाहियो भन्दै आवेदन परेको थियो ।

‘आजका लागि मात्रै काठमाण्डौमा २०, इटहरीका लागि ३, पोखराका लागि ४ अनि बुटवलबाट २ जना मान्छे चाहियो भनेर माग आएको छ’ कम्प्युटरमा अध्यावधिक भएको विवरण सुनाउँदै निरौलाले भन्नुभयो, ‘आएका मागमध्ये कुकमा बढी छ अनि त्यसपछि धेरै कामदार खोज्ने क्षेत्र सेल्स र मार्केटिङ हो ।’

यो पसलमा दिनहुँ यसरी नै आफूलाई चाहिने कामदारको माग आउँछ अनि काम खोज्नेहरुका आवेदन पनि । काम खोज्दै आउनेहरुका निवेदनका आधारमा उनीहरुसँग अन्तरवार्ता लिएर काम खोजिदिने काम गर्छ पसलले । 

पछिल्लो ७/८ वर्षमा रोजगारी पसलले झण्डै एक लाख जनालाई काम खोजिदिएको छ । अनि त्यतिकै मात्रामा कामदार खोज्नेहरुको माग पनि पूरा गरिदिएको छ पसलले  । 

अनलाइन हेरेर काम गर्न जाँदा सजिलो

काठमाण्डौका मिङ्मा दावा शेर्पा एउटा होटलमा कुकको काम गर्नुहुन्छ । उहाँले यो काम गर्न थालेको अढाई वर्ष भयो । त्योभन्दा पहिले पनि मिङ्मा होटल र रेष्टुरेण्टहरुमै काम गर्नुहुन्थ्यो । तर त्यतिबेला न काम गर्ने समय निश्चित थियो, न त्यसबापत पाइने पैसाकै टुङ्गो थियो । 

त्यही भएर उहाँले ६ महिना जति काम छोड्नुभयो । तर काम छोडेपछि उहाँलाई झनै तनाव भयो । त्यतिबेला मिङ्मालाई उहाँका दाइले अनलाइनबाट आवेदन गरेकै आधारमा काम खोजिदिने रोजगारी पसलका बारेमा बताउनुभयो ।

पसलमा निवेदन दिएपछि तीन ठाउँमा अन्तरवार्ता दिएपछि मिङ्माले कुक हेल्परको जागिर पाउनुभयो । अढाई वर्षपछि उहाँको बढुवा भएको छ । अहिले उहाँ कुक हुनुहुन्छ । 

आफैं काम खोज्दै हिँड्दा काम दिने व्यक्तिले जति भन्यो त्यति समय काम गर्नुपथ्र्यो । अनि आफूले सोचेको जस्तो तलब पनि पाइँदैनथ्यो । यो दुःख मिङ्माले पनि नभोग्नुभएको होइन । तर पसलमा आवेदन दिएर त्यहाँ कामदार खोज्न आएका होटलहरुमध्ये अन्तरवार्ता दिएर काम गर्न थालेको होटलमा यी समस्या छैनन् । 

काजोल लामाले पनि पसलमार्फत नै काम खोजनुभएको हो । तीन वर्षअघि उहाँ एउटा म्यानपावरमा काम गर्नुहुन्थ्यो । आफैंले काम गर्ने म्यानपावरमा दुबईबाट राम्रो कामको माग आएपछि उहाँ दुबई पुग्नुभयो । दुई वर्षमा कम्पनी बन्द भएपछि नेपाल फर्किएकी काजोल अहिले एउटा कम्पनीमा रिसेप्सनमा काम गर्नुहुन्छ ।

दुबईबाट फर्किएर काम खोजिरहेकी काजोललाई अनलाइनबाट काम खोजिदिने पसलका बारेमा बहिनीले सुनाइन् । सुरुमा त काजोललाई यो कुरा पत्यार लागेन । तर पसलमा आएर आफ्नो विवरण छोडेको केही समयमा उहाँले जागिर पाउनुभयो ।

‘मैले अहिलेसम्म अनलाइनबाट कुनै पनि कुरा खोजेको थिइनँ, त्यसमाथि काम नै खोजिदिन्छन् भनेर बहिनीले भन्दा त ठग्ने होला भन्ने जस्तो पनि लागेको थियो ।’ रोजगारी पसलमै भेटिएकी काजोलले भन्नुभयो, ‘तर होइन रहेछ । पसलले आफ्नो क्षमता अनुसारको काम खोजिदिने रहेछ ।’

भनेका कामदार पाउन समस्या

काम पाइएन भने काम खोज्न शहर पस्नेको सङ्ख्या ठूलै छ । प्रायः धेरैले कार्यालयको १० देखि ५ बजेको जागिर खोज्छन् । यही कारणले शहरमा घरका काम गर्ने कामदार पाउन गाह्रो छ । कञ्चनपुरको बेलौरीका जनक भट्टलाई केही वर्षअघि एउटा समस्या पर्‍यो । 

उहाँ बसेको कोठाको ढोका बिग्रिएर मर्मत गर्नुपर्ने भयो । ढोका मर्मत गरिदिने मान्छे खोज्न उहाँलाई हप्ता दिनभन्दा धेरै लाग्यो । ढोका बनाउन आएका व्यक्तिले एक घण्टा काम गरेर दुई हजार रुपैयाँ लिएर गए । 

एक त कामदार पाउन भागेको सास्ती अनि अर्कोतिर एक घण्टामा ती व्यक्तिले दुई हजार रुपैयाँ लिएपछि जनकले यस्ता काममा कामदारको अभाव रहेछ भन्ने मात्रै बुझ्नुभएन कमाइ पनि राम्रै हुने रहेछ भन्ने थाहा पाउनुभयो । 

उहाँ कम्प्यूटर इञ्जिनियरको विद्यार्थी । पढाइकै क्रममा जागिर खाँदा उहाँको भेट सिरहाका सुनिल साहसँग भएको थियो । दिल्ली युनिभर्सिटीमा पढेका सुनिल पनि अरुको कम्पनीमा काम गर्नुभन्दा आफ्नै केही गर्न चाहनुहुन्थ्यो । जनक र सुनिलले त्यतिबेलै मिलेर आफ्नै केही गर्ने सोच्नुभएको थियो ।

जनकले भोगेको कामदार नपाउने समस्यासँग उहाँहरुको सोच मिलेपछि उहाँले घरमा चाहिने विभिन्न कामका लागि कामदार खोजिदिने सोच बनाएर सुरु गर्नुभयो ‘होम सेवा’ । 

होम सेवाले विभिन्न क्षेत्रका कामदार चाहिएका बेलामा उपलब्ध गराउने गर्छ । होम सेवाले अहिले पेन्टर, कम्प्यूटर बनाउने, मेसन, इलेक्ट्रिसियन, प्लम्बर, कार्पेन्टर र ब्यूटिसियन चाहिएमा भनेको ठाउँमा पठाइदिने गरेको छ ।

‘यो हामीले काम गर्ने मुख्य क्षेत्र भए पनि हामी प्रायः जसले जे कामका लागि कामदार माग गर्छन ती सबै कामका लागि कामदार उपलब्ध गराउँछौं ।’ होम सेवाका सञ्चालकमध्येका एक सुनिल साहले भन्नुभयो । 

तर भनेका कामदार पाउन उहाँहरुलाई पनि त्यति सजिलो छैन । रोजगारी पसलले जस्तै उहाँहरुले पनि अहिले भनेको समयमा भनेको जस्तो कामदार पाउन सकिरहनुभएको छैन । 

युवाहरु काम पाइएन भन्दै देश छोडेर विदेश गइरहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ७५ प्रतिशतभन्दा धेरै अदक्ष रुपमै विदेश गइरहेका छन् । उनीहरुले विदेशमा काम  गरेबापत १५ देखि २५ हजार रुपैयाँ पाउने गरेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ ।

तर यतिको कमाइ हुने काम नेपालमै धेरै रहेको रोजगारी पसलका बिजनेश म्यानेजर सञ्जिव निरौलाको भोगाइले बताउँछ । उहाँ भन्नुहुन्छ, ‘कामदारको माग हामी कहाँ आइरहन्छ, तर हामीले भनेको जस्तो कामदार नै पाइरहेका छैनौं । हामीलाई आफ्नो ठाउँमा काम गर्न केले छेक्छ छेक्छ ।’ 

उहाँको विचारमा गाउँ समाजमा अझै पनि कामलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । जसका कारणले युवाहरु देशमा काम गर्नभन्दा विदेश नै जान जोड गरिरहेका छन् । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

6 Comments

  • Atindra Dahal

    Dec. 21, 2020, 7:25 p.m.

    मलाइ प्लास्टर मिस्त्री चाहिएको छ, सम्पर्क गर्नु होला: ९८५१०१००४६

  • खगेन्द्र खत्री

    Dec. 11, 2020, 12:25 p.m.

    म प्लास्टर मिस्त्री हुँ , म पाँच वर्षदेखि काम गर्दै आएको छु काठमाडौंमा काम चाहियो /

  • Charurman Tamang

    Aug. 19, 2019, 10:57 a.m.

    म ड्राइभर हुँ, १० बर्षको अनुभव छ - विदेशमा ७ वर्ष अनि ३ वर्ष नेपालमा काम गरेको छु / म अब विदेश नजाने सोच बनाएको छु, यहीं नेपालमा केहि काम गरेर बस्ने भनेको खै ?

  • Nirmal Poudel

    May 8, 2019, 1:07 p.m.

    Hello, I need Actual location and phone number of " Rojgari pasal"

  • Nawal Kumar Gupta

    April 11, 2019, 11:52 a.m.

    Hello sir I am Nawal kumar gupta from Bara. I am Electrician & I have 5 years GCC experience in Qatar the Arabian-mep company. So i want to join prefect company and try to make good role myself. Contact - 9810049650

  • Minman Shrestha

    April 11, 2019, 8:35 a.m.

    Congratulations you are doing very good job for nation. Keep it up. We can also support you. Let me have your complete contact. Thanks once again.

तपाईको प्रतिक्रिया