MENU

मेरो कथा मेरो भोगाई

​तपाईंको बोली र व्यवहारले परदेशीका परिवारलाई पीडा थपेको त छैन ?

दुर्गाप्रसाद भट्टराई÷सर्लाही ।

सर्लाहीकी अलिमा खातुन (नाम परिवर्तन)लाई राम्रो लुगा लगाएर हिँड्न मन लाग्छ । तर चाहेर पनि उनले राम्रो लुगा लगाएर हिँड्न पाएकी छैनन् । कारण उनका श्रीमान छैनन् । 

मलेसिया गएका अलिमाका श्रीमानको उतै ज्यान गयो । त्यसपछि उहाँको लवाईमा परिवर्तन आयो । अलिमाले आफूलाई परिवर्तन गर्नुको कारण थियो आफन्त र गाउँलेको कुरा काट्ने प्रवृत्ति । 

राम्रो लुगाा लगाएर हिँडेको देख्ने बित्तिकै आफन्त र गाउँलेले कुरा काट्न थालिहाले । ‘श्रीमानको मृत्यु भइसक्यो कसलाई देखाउन चिटिक्क परेर हिँडेकी होली’ भनेको सुनेपछि लुगा लगाउने बेलामा उनी झस्किन्छिन् । 

राम्रा लुगा लाउने रहर कसलाई हुँदैन र । अलिमालाई पनि त्यस्तै रहर छ । तर त्यो कुरा सोच्ने बित्तिकै आफन्त र गाउँलेले भनेका कुरा उनको कानमा गुन्जिरहन्छ । 

दयावन्ती (नाम परिवर्तन) को श्रीमान कतार गएको एघार महिना भयो । छोराले विदेश जाने कुरा गरेपछि आमा बुबाले बुहारीलाई अलग्गै राखेर विदेश जाने सल्लाह दिए । दयावन्तीका श्रीमानले कतारमा महिनाको ४० हजार रुपैयाँ कमाउनु हुन्छ । 

त्यही कमाएको पैसाबाटै दयावन्तीको दैनिकी चल्छ । श्रीमानको कमाई राम्रो भएपछि दयावन्तीको रहन सहन परिवर्तन भयो । पहिला अरुको खेतबारीमा काम गर्नुहुन्थ्यो । तर अहिले अबस्था त्यस्तो छैन । 

तर दयावन्ती र उनको छोराछोरीको लवाइखुवाइ देखेर देउरानी जेठानीले व्यङ्ग्य गरिरहन्छन् । देवरले विदेशमा पसिना चुहाएर काम गरेको छ । त्यही पैसा उडाएर उहाँ यिनीहरु चुरिफुरी देखाइरहेका छन् भन्छन् । यस्ता कुरा सुन्दा नराम्रो लाग्छ भन्छिन् दयावन्ती । उनलाई किन यस्तो भनेको जस्तो लाग्छ । 

यी दुई त प्रतिनिधि घटना मात्रै हुन् । वैदेशिक रोजगारीका कारण परेको मनोसामाजिक समस्याका निराकरणका लागि कार्यक्रम सञ्चालन गरिरहँदा परिवार र आफन्तबाट यस्तो व्यवहार सहिरहेका धेरै महिलालाई भेटेको छु । उनीहरु घरपरिवार र आफन्तबाट गरिने नराम्रो व्यवहारको सिकार भएका छन् ।

धेरै मानिस आफूले भनेको कुराले अरुलाई के असर गर्छ भन्ने सोच्दैनन् । उनीहरुलाई आफूले भनेका कुरा ठिक हुन् जस्तो लागिरहन्छ । तर यथार्थमा यसले अरुलाई धेरैनै तनाव दिइरहेको पनि हुन्छ । त्यसैले बोल्नु र व्यवहार गर्नु भन्दा अघि एक पटक गहिरिएर सोच्नुपर्ला । 

(प्रस्तुति : दुर्गाप्रसाद भट्टराई, मनोसामाजिक परामर्शकर्ता, सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।