वैदेशिक रोजगार विभागको महानिर्देशकमा भीष्मकुमार भुसाल नियुक्त, ठगिएका र दुःखमा परेकाहरुका लागि काम गर्ने प्रतिबद्धता

 चैत २८, २०७५ बिहिबार ११:२१:४९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागको महानिर्देशकमा डाक्टर भीष्मकुमार भुसाल नियुक्त हुनुभएको छ । 

गएको साउन पहिलो हप्ता महानिर्देशकको जिम्मेवारी सम्हालेका दिलिप चापागाईंले उमेर हदका कारण अवकास पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भुसाललाई महानिर्देशकमा नियुक्त गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, पुनःनिर्माण प्राधिकरणको उपसचिवका रुपमा पनि काम गरेका भुसाललाई मन्त्रालयले विभागको महानिर्देशक नियुक्त गरेको हो । 

विभागका नवनियुक्त महानिर्देशक भुसालले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीका क्रममा ठगिएका र दुःख पाएकाहरुको दुःखमा मल्हम लगाउने प्रतिबद्धता जनाउनुभएको छ । महानिर्देशकमा नियुक्त भएपछि आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उहाँले ठगिएका र दुःख पाएकाहरुका लागि काम गर्ने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘विदेशमा रहनु भएका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको छ। वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुखमा मल्हमपट्टी  लगाउन म र मेरो टीमले कुनै कसर बाँकी राख्ने छैन ।’

उहाँले सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएकाले सबैले अपेक्षा गरेअनुसार चमत्कार गर्न सक्ने अवस्था नरहे पनि आफू र आफ्नो टोली मन बचन र कर्मले खटिने बताउनुभएको छ । उहाँले आफूसँग विगतको भन्दा भिन्न चुनौती रहेको पनि बताउनुभएको छ । 

वैदेशिक रोजगार व्यवसायीलाई उहाँलाई पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्न विगतका गल्ती नहोहो¥याउन सुझाव दिनुभएको छ । ‘वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हातेमालौ गरौं’ भुसालले लेख्नुभएको छ । 
 

तपाईको प्रतिक्रिया