चार दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

 चैत २९, २०७५ शुक्रबार १०:३७:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ जनाले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् ।

सरकारले यही चैत १७ गतेदेखि खुला गरे पनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको श्रम कार्यालयका प्रमुख देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले भन्नुभयो । सरकारले जेठदेखि मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोक लगाए पनि कामदार भने जान नछाडेको उहाँ बताउनुहुन्छ ।

मलेसियाबाट सात हजार ५०० ले कलिङ भिसा पाइसकेका छन् । भिसा पाएका सम्पूर्ण कामदारलाई नियमितरूपमा श्रम स्वीकृति दिइने उहाँले बताउनुभयो ।

श्रम कार्यालय ताहाचलले १७ गते नै कामदार पठाउन अनुमति पाएको भए पनि २५ गतेबाट मात्र श्रम स्वीकृति दिन सुरु गरेको थियो । जसमध्ये पहिलो दिन २५ गते दुई जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै २६ गते १७, २७ गते सात र २८ गते ३८ जनाले श्रम स्वीकृति लिइसकेका छन् । 
            

तपाईको प्रतिक्रिया