कामदारका समस्या सुन्न र बच्ने उपाय बताउन दूतावासको टोली मजदुर क्याम्पमा

 बैशाख २, २०७६ सोमबार १३:४५:१ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कार्यरत नेपालीलाई समस्याबाट जोगिन सिकाउन नेपाली दूतावास यूएईले  मजदूर क्याम्पमै पुगेर सचेतनामुलक कार्यक्रम गरेको छ ।

यूएईमा रहँदा समस्यामा पर्नबाट जोगिने उपायबारे दूतावासका प्रतिनिधिले कार्यस्थल तथा क्याम्पमै पुगेर जानकारी दिएका हुन् । 

‘कामदार बस्ने क्याम्पमा वा कार्यस्थलमै पुगेर आफ्ना नागरिकलाई यहाँको कानुन तथा गर्न हुने र नहुने विषयमा जानकारी दिने उदेश्यले जनतेचनामुलक कार्यक्रम गरेका हौं,’ दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले भन्नुभयो । 

आइतबार नयाँ वर्षको सार्वजनिक बिदाका दिन पनि दूतावास प्रतिनिधि टोली कामदार बस्ने शिविरमा पुगेका थिए । आबुधाबीमा रहेको अल जाबर कोइन सेक्युरिटी कम्पनीको क्याम्पमा पुगेर त्यहाँ रहेका १ सय भन्दा धेरै नेपाली सेक्युरिटी गार्डका लागि कार्यक्रम गरिएको छ । 

टोलीले कामदारका समस्या तथा कामदारले काम गरुन्जेल ध्यानदिनु पर्ने विषय, यहाँ बस्दा गर्न हुने, नहुने काम र दूतावासले आफ्ना नागरिकलाई दिने सेवाका बारेमा जानकारी गराइएको थियो । 

पैसा कमाएर बचाउने र त्यसलाई सही ठाउँमा कसरी प्रयोग गर्ने,  पैसा पठाउँदा बैधानिक बाटो अपनाउनुपर्ने लगायतका विषयमा पनि कामदारलाई जानकारी गराइएको फुयाँलले बताउनुभयो । 

गएको वर्षदेखि दूतावासले कम्पनीका क्याम्पमै गएर कामदारलाई भेट्ने र जानकारी दिने गर्दै आएको छ । यसरी गरिने कार्यक्रम थोरै बजेटमा धेरै ठाउँमा गर्न सकिने र सिधै कामदारसम्म पुग्ने भएकाले प्रभावकारी हुने दूतावासको विश्वास छ ।

दूतावासले गएको हप्ता इमिरेट्स क्याटरिङ्ग सर्भिसेस कम्पनी र आबुधाबीमा रहेको इमदाद गल्फ क्याटेरिङ् सर्भिसेस कम्पनीको क्याम्पमा कार्यक्रम गरेको थियो ।

इमिरेट्स क्याटरिङ सर्भिसेस कम्पनीमा गरिएको कार्यक्रममा कामदारको अवस्था बुझ्न नेपालबाट आएको सरकारी प्रतिनिधि मण्डल तथा राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी हुनुभएको थियो । 
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया