मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० संस्थाको आवेदन

 बैशाख २, २०७६ सोमबार १८:१:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ३९ वटा स्वास्थ्य संस्थाले मात्रै गर्दै आएका थिए । 

तर यी संस्थाले स्वास्थ्य परीक्षण लगायतका नाममा कामदारसँग चर्को शुल्क असुलेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा यी संस्थालाई कारबाही गरिएको थियो । 

गएको कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार मलेसियाले पठाएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणका लागि निवेदन दिएका हुन् । 

मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आवेदनका लागि दिएको समय पनि सोमबार सकिएको छ ।

सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वस्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले मलेसिया जाने कामदार स्वस्थ्य परीक्षण लगायतका विभिन्न बहानामा ठगीमा परेको भन्दै यसअघि स्वस्थ्य परीक्षण गर्ने सबै स्वास्थ्य संस्थालाई कारबाही गरेको थियो । 

अहिले मादण्डअनुसार नै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि उत्साहजन रुपमा आवेदन आएको मन्त्रालयले जनाएको छ । पहिले ३९ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दा भएको सिण्डिकेट पनि सकिएको छ ।

कामदार लैजानेबारे गएको वर्ष कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वाथ्य परीक्षणका सम्बन्धमा मलेसिायले नै मापदण्ड पठाउने र नेपालले त्यसमा सहजीकरण गर्ने सहमति भएको थियो । 

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने मापदण्ड पठाएको छ । 

त्यस्तै मन्त्रालयले सूचीकरण लागि सबै स्वास्थ्य संस्थालाई आह्वान गरेको थियो । जसमा ३५२ वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । 

तपाईको प्रतिक्रिया