MENU

मेरो कथा मेरो भोगाई

डोल्मा शेर्पालाई फाँसीबाट बचाएर घर फर्काउनेहरुको नाममा

विजया राई श्रेष्ठ

विदेशमा काम गरेर फर्किएका महिला र उनीहरुका परिवारको हकहितका लागि काम गर्न थालेको १५ वर्ष भयो । अन्यायमा परेकालाई न्याय दिलाउने, पिडामा परेर फर्किएकालाई आवासको व्यवस्था गर्नु, विदेशमा समस्यामा परेकालाई उद्धार गर्नु र दलालबाट ठगिएकालाई न्याय दिलाउन सहयोग गर्ने काम गरियो । 

१० वर्ष पहिले हाम्रो संस्थाले आप्रवासी महिला कामदारको विषयमा महिला वकिलहरुलाई अभिमुखिकरण दिएको थियो । त्यसै समयमा माइती नेपालमा आवद्ध एकजना वकिलमार्फत एउटा मुद्दा आयो । पीडित थिइन् डोल्मा शेर्पा । सिन्धुपाल्चोककी डोल्मा लामा घरेलु कामदारका रुपमा भारतको बाटो हुदै कुवेत पुग्नुभएकाे थियाे । 

एकदिन उहाँलाई सँगै काम गर्ने साथी मारेको आरोप लाग्यो । फिलिपिनी महिलालाई मारेको आरोपमा उहाँलाई फाँसीको सजाय सुनाइएको थियो । भाषाको समस्याका कारण उहाँले निर्दोष छु भनेर बताउन सक्नु भएन । त्यसबेला कुवेतमा नेपाली दूतावास पनि थिएन । 

अनौपचारिक तथ्याङ्क अनुसार सन् २००७ सम्ममा कुवेतमा २६ हजार नेपाली घरेलु महिला कामदार रहेका छन् । वैदेशिक रोजगार ऐन अनुसार कुनै पनि देशमा ५ हजार भन्दा धेरै कामदार छन् र त्यसमा पनि १ हजार भन्दा धेरै महिला कामदार छन् भने त्यहाँ दूतावास हुन आवश्यक छ । 

डोल्मा जस्तै धेरै नेपाली महिलाले कुवेतमा दूतावासको सहयोग पाएनन् । साउदीमा रहेको नेपाली दूतावासबाट पनि तत्काल सहयोग भएन । हामीले माइती नेपालका वकिलबाट डोल्माको विवरण पायौं । विदेशबाटै फर्केका महिलाहरुले स्थापना गरेको संस्था भएकाले हामीले राष्ट्रिय योजनाको कार्यक्रममा सरोकारवाला समक्ष यो मुद्दा प्रस्तुत गर्‍याैं । 

डोल्माको विषयलाई धेरै सञ्चारमाध्यमले उठान गरे । त्यसले हामीलाई मानवअधिकारवादी संस्थालाई साथमा लिएर अगाडि बढ्न सहयोग गर्‍यो । त्यसपछि यो राष्ट्रिय विषय बन्न पुग्यो । अनि माइती नेपालमा सचिवालय रहने गरी डोल्मा बचाउ अभियान नै सुरुवात गरियो  । 

एउटा कार्यक्रममा प्रस्तुत गरिएको डोल्माको विषयलाई सञ्चारमाध्यमले प्रकाशन प्रसारण गर्दा त्यो राष्ट्रिय मुद्दाका रुपमा स्थापित भयो । त्यसैले यो मुद्दालाई राष्ट्रिय विषय बनाइदिनमा सञ्चारमाध्यमले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । मसँग धेरै ‘न्युज च्यानल’ले अन्तर्वार्ता पनि लिए । 

अहिले एकजना गरिब निर्दोष घरेलु कामदार १० वर्ष पछि देश फर्किएर परिवारसँग भेट गर्न पाउनु भएको छ । यो सबैजनाको लगातारको साथ र सहयोगले नै सम्भव भएको हो । यो सफलताको कथा पनि एकता नै शक्ति भने जस्तै हो ।

डोल्मा फाँसीलाई जित्दै १० वर्ष कुवेतको जेलमा बसेर घर सकुशल फर्किइन् भन्न पाउँदा मलाई एकदमै खुसी लाग्छ । ३८ वर्षकी डोल्मा १२ वर्ष अघि घरेलु काममा कुवेत जानुभएको थियो । ३ वर्षको छोरा र श्रीमानलाई छाडेर उहाँ भारतको बाटो हुदै कुवेत जानुभएको थियो । 

डोल्मालाई सहकर्मी हत्याको आरोपमा समातियो, उहाँले धेरै दुःख सहनु पर्‍यो । उहाँले मुद्दा लड्ने गतिलो वकिल पनि पाउनुभएन् । त्यसैले उहाँलाई  अदालतले फाँसी सुनाएको थियो । भाग्यवश छिमेकी पाकिस्तानी घरेलु कामदार सघिरले उहाँको बारेमा नजिकबाट जान्नुभएको थियो । त्यसपछि उहाँले माइती नेपाललाई डोल्माको रक्षाको लागि इमेल गर्नुभएको थियो । डोल्मार्ला तत्काल फाँसी दिँइदैछ भन्ने जानकारी पनि गएको थियो ।

स्वर्गीय गजानन्द वैद्यलाई म हृदयदेखि धन्यवाद् दिन चाहन्छु । उहाँको तत्कालको सहयोगका कारण पनि डोल्मा सकुशल घर फर्किनु भएको छ । त्यस्तै माइती नेपालकी आदरणीय अनुराधा कोइराला र उमा तामाङलाई पनि धन्यवाद् भन्नैपर्छ । उहाँहरुले तत्काल फिलिपिन्सका काउन्सिलर गजानन्दलाई भेट्ने समय लिनुभएको थियो । हाम्रो कुरा सुनेपछि उहाँ फिलिपिन्सका उच्चपदस्थहरु नेपाल आएका बेला त्यस विषयमा छलफलका लागि तयार हुनुभएको थियो । 

डोल्माको बारेमा फिलिपिन्सका उच्चपदस्थहरुसँग हामीले छलफल चलाएका थियौं । त्यसको एक हप्तापछि मृतक परिवार पनि ब्लडमनी लिन सहमत भयो । त्यसपछि मृतकका आफन्तलाई १० हजार डलर ब्लडमनी दिइयो । हामीले डोल्माको जीवन बचाउनका लागि पैसा उठाउन थाल्यौं । डोल्माको मुद्दालाई अघि बढाउन १२ हजार डलर लाग्ने साउदीस्थित नेपाली दूतावासले जानकारी गरायो । 

हामीले नेपाली आप्रवासी कामदार र एनआरएनहरुलाई धन्यवाद् दिनै पर्छ । जसले रकम जुटाउन सहयोग गरे । त्यसैगरी पूर्व  मन्त्री साहना प्रधानलाई । उहाँले हाम्रो अनुरोधलाई सधै सकारात्मक रुपमा लिनुभयो । सरकारका तर्फबाट ‘सिड मनी’का लागि सहयोग गर्नुभयो ।

कोरियाका एनआरएन तेन्जीलाई पनि धन्यवाद दिन चाहन्छौं । उहाँले पहिलोचोटि वकिललाई रकम तिर्नका लागि सहयोग गर्नुभएको थियो । डोल्माको जीवन बचाउने अभियानमा जति सहभागी भयौं, सबैजनाले आफ्नो क्षमता अनुसार राम्रो गर्ने प्रयत्न गर्‍यौं । उहाँलाई बचाउन विश्वभरबाट आवाज उठायौं । ब्लडमनी तिरेपछि कुवेतको अदालतले  १० वर्षको जेल सजायो । जुन सजाय सन् २०१७ मा सकियो ।

त्यसैगरी हाम्रो क्षेत्रीय र विश्वस्तरीय साझेदारलाई पनि धन्यवाद् दिन चाहान्छु । जसले यो  अभियानमा निरन्तर सहयोग गर्नुभयो । माइग्रेन्ट फोरम एसियालाई विशेष धन्यवाद् दिन चाहान्छु । अन्त्यमा म केसाङ छेतेनलाई धन्यवाद् दिन्छु । जसले डोल्माको जीवन बचाउ अभियानमा सहयोग गर्नुभयो र डोल्मा बचाउ नामक डकुमेन्ट्री समेत बनाउनु भयो । 

अन्त्यमा, आमकास नेपालको तर्फबाट डोल्माको जीवन बचाउ अभियानमा संलग्न भई उहाँलाई घर फर्काउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद् दिन चाहन्छु । डोल्मा सकुशल घर फर्किएको देख्ने मेरो लामो प्रतिक्षा र आशा पुरा भएको छ । एक निर्दोष घरेलु कामदारको ज्यान बचेको छ ।

लेखक विजया राई श्रेष्ठ आप्रवासी महिला कामदार समुह (आमकास) नेपालकी अध्यक्ष हुनुहुन्छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।