MENU

मेरो कथा मेरो भोगाई

क्वालालाम्पुरको एयरपोर्टमा यसरी लुटियौं

एकेन्द्र थापा मगर /अर्खौले जितपुर ९ धनकुटा ।

मलेसियामा पटक पटक गरी झण्डै ८ वर्ष बसें । यो अवधिमा पेनाङमा रहेका उत्पादनमुलुक र रेष्टुराँहरुमा काम गरें । सुरक्षाका हिसाबले मलेसिया त्यति राम्रो मानिन्न । किनभने त्यहाँ हामी जस्ता कामदार जतिसुकै बेला आक्रमणमा पर्न सक्थे । लुटिन सक्थे । 

तर ८ वर्ष बस्दा मैले त्यस्तो केही भोग्नु परेन । पछिल्लो पटक म मलेसिया गएको साढे चार वर्ष भएको थियो । कम्पनी राम्रो नभएकाले त्यहाँ बस्नको कुनै अर्थ नहुने ठानेर ‘फिनिस’मा नेपाल आउँदै थिएँ । २१ जुलाई २०१७ का दिन मालिन्डो एयरलाइन्सबाट नेपाल फर्कने टिकट गरेको थिएँ ।

मसँग सिरहाका एक जना साथी पनि थिए । उनी चाहिँ गैरकानूनी रुपमा काम गरेर त्यहाँ बसेका थिए । मलेसियास्थित नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्कदै थिए । 

जुलाई २१ तारिखका दिन बिहान ९ बजेर ५० मिनेटमा क्वालालाम्पुरदेखि काठमाडौंको उडान थियो । हामी बिहान ४ बजे नै एयरपोर्ट आइपुग्यौं । ७ बजे मात्रै एयरपोर्ट आएको भए पनि हुन्थ्यो । तर चाँडै पुगे आराम गर्न पाइएला भन्ने हिसावले हामी चाँडै एयरपोर्ट आएका थियौं ।

पेनाङबाट हामी बसमा एयरपोर्ट आएका थियौं । एयर एसियाको गेट नम्बर १ मा बसबाट उत्रियौं । मालिन्डो एयरलाइन्सको गेट नम्बर २ पनि नजिकै थियो । त्यहाँ पुगेपछि दुई जना मानिसले हामीलाई कहाँ जाने, कुन एयरलाइन्सको टिकट हो भन्दै सोध्दै आए । उनीहरु मलायु नागरिक थिए ।

एयरपोर्ट गेट वरपर भिडभाड नै थियो । एयरपोर्टकै कर्मचारी जस्ता लाग्ने ती दुईजनाले हामीलाई सहायता गर्ने भन्दै टिकट हेर्न मागे । सुरुमा त हामीले टिकट दिन मानेनौं । र पनि सहायता गर्न चाहेको भनेर पटक पटक भनेपछि टिकट दियौं । 

उनीहरुले मालिन्डो एयरलाइन्सको गेटमा लैजाने भन्दै मोटरमा राखे । होला नि त भनेर हामी उनीहरुको मोटरमा चढ्यौं । तर उनीहरुले त्यतातिर लगेनन् । उनीहरु दुई जना थिए । तीमध्ये एकजनाले मोटर चलाए । अर्काले हामीलाई धम्क्याउन सुरु गरे । 

उज्यालो पूरै भइसकेको थिएन । त्यसैले बाहिरबाट कसैले देख्ने कुरा भएन । हामीले सामान दिन नखोज्दा उनीहरुले हातपात पनि गरे । जे पनि गर्न सक्छौं, अन्तै ठाउँमा लगेर लगेज समेत चेक गछौं, तिमीहरुलाई मार्न पनि सक्छौं भनेपछि चुपचाप हामीसँग भएका सामान निकाल्यौं । 

मसँग तीन वटा मोवाइल थिए । एउटा आफैंले चलाउँदै गरेको । अरु दुई वटा चाहिँ आफन्तका लागि ल्याइदिएको थिएँ । तीन वटा मोवाइल झण्डै एक लाख रुपैयाँ बराबरेको थियो । मसँगै भएको साथीले चाहिँ मोवाइल लुकाउन भ्याएछ । हामीसँग भएको ३ सय रिंगिट पनि उनीहरुले लिएर गए । १० मिनेट भित्रमा लुटेराहरुले यी सबै काम गर्न भ्याएका थिए । उनीहरु एयरपोर्टका बारेमा जानकार थिए । मलाई लाग्छ, एयरपोर्टका कर्मचारी र ती लुटेराहरु मिलेका थिए । 

लुटेपछि चाहिँ हामीलाई गेटमा नै लगेर छोडिदिए । हामीले पुलिसलाई रिपोर्ट गर्न सकेनौं । किनभने त्यहाँको प्रहरीको भर थिएन । हामीलाई नेपाल फर्कन थियो । रिपोर्ट गरे पनि केही होला जस्तो लागेन । समस्या लम्बियो भने त्यतै अलमल हुन्छ भनेर हामीले रिपोर्ट गर्न चाहेनौं ।  

मलेसियाको एयरपोर्टमा त्यसरी हजारौं नेपाली युवा लुटिएका छन् । त्यसैले त्यस्ता लुटेरासँग सजग हुनुपर्ने रहेछ । अलमलमा परेकाका नेपालीलाई सजिलैसँग उनीहरले लुट्न सक्छन् । नेपाल फर्कंदा एयरपोर्ट आएपछि कसैले टिकट हेर्न माग्यो भने नदिनु होला ।

सिधै एयरलाइन्सको काउन्टरमा गएर मात्रै टिकट देखाउनुहोला । त्यसो भयो भने लुटपाटबाट बच्न सकिन्छ । अहिले म काठमाडौंमा छु । ललितपुरको एकान्तकुनामा रहेको प्रवासी नेपाली एकता सञ्जाल (निमोन)ले सहयोग गरिरहेको छ । हप्तादिन बसेर घर फर्कन्छु । 

रीतु थेबेले गरेको कुराकानीका आधारित । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।