MENU

मेरो कथा मेरो भोगाई

६ महिनाको तलब खाएर साथी टाढिए, घर पठाउन लागेको पैसा लिएर अर्का साथी नेपाल पुगेछन्

फिरुलाल चौधरी, दाङ/हाल, दोहा कतार ।

परदेशको दुःख कसलाई सुनाउनु । ‘आमाले फोनमा बाबु काम कस्तो छ’ भनेर सोध्दा एसीमा बसेर गर्ने काम हो भनेर ढाँट्नु पर्ने । आमालाई यसो भनेर ढाँट्दा कहिले त आँशु आउँछ । बोल्दा बोल्दै धेरै पटक रोएको छु ।

घरको समस्याकै कारण कमाउन परदेशिएँ । यहाँको बास्तविकता कसरी बताउँ । मन बलियो पारेर राम्रै छ भन्नु पर्छ । परदेशिएका धेरै छोराले यस्तै भन्छन् होला । सपना धेरै हुन्छन् । अनगिन्ती सपना पूरा गर्न त हो घर छाडेको । तलव आउने बेला भएपछि अनेकौं योजना बनाउँछु । तिनै योजना र सपनाले नै काम गर्न उर्जा दिन्छ । तर यी सपना पुरा गर्न कहाँ सजिलो छ र ।

खाडीको गर्मीले बेलाबेलामा त बाँच्दिन कि झैं लाग्छ । काम गर्ने ठाउँमा पनि आफू भन्दा ठूलाले गर्ने व्यवहार र रुखो वचनले मन साह्रै रुन्छ । त्यतिबेला आमाको याद आउँछ । फेरि मेरो भाग्यमा लेखेको यस्तै भनेर चित्त बुझाउँछु । भाग्यले डोर्‍याएर यहाँसम्म आइयो । यहाँको दुःखको कुनै हिसाव छैन् ।

६ महिनाको तलब जम्मा पारेको थिएँ । एक जना नेपाली साथीले सापटी लगेको थियो । तर अहिले उसको केही खबर छैन् । मैले आफ्नो सम्झिएँ । तर ऊ भने पैसा लिएर गुमनाम बसेको छ । केहीदिन अघि आमाले फोन गरेर भन्नुभयो, बाबु घरमा पैसा चाहिएको छ ।

एकजना साथीसँग ४ हजार रियाल (झण्डै एकलाख १० हजार रुपैयाँ) सापटी लिएँ । मेरो छुट्टि नहुने भएकाले पैसा पठाउन जान सम्भव थिएन । पैसा पठाउने ठाउँ पनि मैले काम गर्ने ठाउँबाट टाढा थियो । डोटी घर बताउने तर कैलालीमा बस्छु भन्ने एक जना साथीसँग चिनजान थियो ।

फरक कम्पनीमा काम गर्ने भएपनि ऊसँग बिहान बेलुकी भेट भइरहन्थ्यो । उसले आफ्नो गाडी सिटीसम्म जान लागेको बतायो । आफू नभ्याउने भएपछि मैले घरको ठेगाना र पैसा पठाउने व्यक्तिको नाम पनि दिएर उसलाई ४ हजार रियाल दिएँ । म सँगै काम गर्ने अर्को साथीले पनि २३ सय रियाल दियो । दुई जनाको गरी उसलाई एक लाख ७५ हजार रुपैयाँ दियौं र हामी आफ्नो काममा लाग्यौं ।

आफू जान नपाएपनि उसले घरमा पैसा पठाइदिन्छ भन्नेमा हामी ढुक्क थियौं । तर हामीले सोचेजस्तो भएन । साँझ काम सकेर सिधै उसको कोठामा गयौं तर ऊ कोठामा थिएन् । त्यति विश्वास गरेका साथीले घरमा पैसा पठाइदेलान भन्ने सोचेका थियौं । तर उसले त सबै पैसा पोको पारेर त्यही दिन नेपाल फर्किएछ । श्रीमती सिकिस्त विरामी छिन भनेर साथीहरुबाट पनि यसले १०÷२० रियाल सहयोग उठाएर हिडेको रैछ ।

उसले १५ दिन पछि फर्कने बताएको रैछ । उसका साथीहरुलाई हाम्रो सबै कुरा सुनायौं । उनीहरुले १५ दिनमा आइहाल्छ नि भनेर आशा देखाए । तर मलाई ऊ फर्कन्छ भन्नेमा विश्वासै लागेन । तैपनि पर्खियौं । गएको मान्छे किन आउँथ्यो । एक जना साथीले उसको श्रीमतीको नम्बर दिए ।

त्यो नम्बरमा फोन गरेर केशवसँग कुरा गर्नु थियो भन्दा आएकै छैन् भनिन् । भोलिपल्टबाट त्यो नम्बरमा पनि सम्पर्क हुन सकेन । ऊ आजसम्म पनि सम्पर्कमा आएको छैन् । ऊ पुरानो घर डोडी जिल्ला र अहिले कैलालीको गुलरियामा बस्ने २८ वर्षका केशवबहादुर बोगटी हो ।

हामीलाई उसले साथीको नाता लगाएर ठग्यो । तपाईंले यदि उसलाई चिन्नुहुन्छ भने प्रहरीलाई खबर गरिदिनुहुन अनुरोध गर्छु । ऊ फेला परेमा हामी नेपाल फर्किएर कारबाहीका लागि प्रक्रिया अघि बढाउने छौं । हामीसँग सबै प्रमाणहरु पनि छन् । यो लेखमा कसैको चरित्र हत्या गर्ने उद्देश्य नभई यथार्थ कुरा लेखेका छौं । कृपया सहयोग गरिदिनुहोला ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

केप आरबी हिल्टन, साउदी अरेबियामा स्काफोल्डिङ्को काम गर्दै नेपाली कामदार। तस्बिरः अर्जुन गिरी / साउदी अरेबिया