MENU

मेरो कथा मेरो भोगाई

छोरीलाई जिस्याएको ठानेर अरबी महिलाले हामीलाई गाली गरिन्

भगवान घिमिरे, रामपुर २ पाल्पा/हाल, दोहा कतार ।

भर्खरै कतार आएका थियौं । रहनसहन केही थाहा थिएन । अलखोर भन्ने शहरको भिल्ला नम्बर ५ मा ३५ जना बस्थ्यौं । एक दिन ४/५ जना चार तल्ला माथि छतमा बसेर भुइँतल्लाको किचेनमा खाना बनाइरहेका साथीहरुसँग अलि चर्को स्वरमा कुरा गरिरहेका थियौं । 

यत्तिकैमा पारिपट्टिको छतमा रहेकी एउटी केटीले अरबी भाषामा हामीलाई झपार्न थाली । उसले सम्झिछ कि हामीले उसलाई जिस्क्याउँदै छौं । रिसले भुत्भुताउँदै तल झरी । फेरि उसकी आमा छतमा आएर गाली गर्न पो लागिन् । गालीले सातोपुत्लो उडेर हामी तल भुइँतल्लामा झर्‍यौं । 

हामीलाई न त अरबिक नै आउँथ्यो, नत अंग्रेजी नै । त्यसैले हामी कुनै सफाई दिन लागेनौं । केहीबेर पछि एकजना अरबी ल्याण्डक्रुजर गाडीमा आएर हाम्रो गेट बाहिर आएर हर्न बजाउन थाल्यो । साथीहरु डरले थर्कमान भैहाले । हामीले अनुमान लगायौं, ती महिलाले बुढालाई भनिछ र बुढो चैं हामीलाई झपार्न आयो । 

उसले गाडीमै बसेर गाली गर्न थाल्यो । पुलिस बोलाउने जस्तो कुरा गरेझैं लाग्यो । अब यो यत्तिकै जाँदैन गएर माफ मागौं भनेको, सबै साथी डराए । जबर्जस्ती गाडीमा हालेर पुलिसमा लग्यो भने, कुट्यो या कम्पनीको अफिसमा पुर्‍याउला भनेर साथीहरु डराएका थिए ।

बरु भगवान दाइ तपाईं आफै जानु भने । म गएँ । मैले उसँग नम्र भएर माफ मागें । अंग्रेजी र अरबिक मिसाएर ‘आना नफर जदिद, सुनु मुस्किला कुल्लु नफर माफी मालुम, आना कलाम सदिक, माफी इन्त फेमिली, सरी बोस’ भन्दै जे कुरा भएको हो स्पष्ट पार्न खोजें । 

त्यति गर्दा पनि गाली गर्न छाडेको छैन । कुन देशको हौ भनेर सोध्यो । नेपालका हौं भनें । मैले छत र किचेनमा देखाउँदै हातको इशाराले हामी साथी साथी कुरा गरेको हो, तिम्रो परिवारसँग बोलेको हैन भनें । अरबमा यस्तो गर्न हुन्न भन्ने आफूहरुलाई जानकारी भएको पनि बताएँ । अन्त्यमा कुन कम्पनीको कामदार भनेर सोध्यो । मैले ग्रुप फोर हो भनें । 

उसले म्यानेजरको नम्बर माग्यो । तर म्यानेजरको नदिएर प्याट्रोलिङ्ग सुपरभाइजरको नम्बर दिएँ । त्यसले सिधै पुलिसमा कम्प्लेन नगर्ने रहेछ भनेर ढुक्क भइयो । भन्न त त्यसले तिमीहरुलाई पुसिसमा कम्प्लेन गर्छु भन्दै थियो । त्यसदिन पछि छतमा जाने ढोकामै चाबी लगाएर बन्द गर्‍यौं । छतमा जान नै बन्द भयो । 

केही पर अलखोर मार्केट थियो । खासै टाढा नभएकाले हामी सपिङ्ग गर्न पैदल नै जान्थ्यौं । तर बाटोमा अरबिकका ८/१० वर्षका बदमास छोराहरुले बाटोमा हामीलाई देखेपछि ढुंगा टिपेर हान्न थाल्थे । 

तिनीहरुलाई समातेर एक पट्को लगाउँ भन्दा आफ्नो बाउआमालाई कुरा लगाउला भन्ने डर थियो । उनीहरुलाई केही भइहाल्यो भने हाम्रो फिंगर प्रिन्ट आउँछ र फेरि अर्को लफडा लागेर कतिन्जेल जेल बस्नु पर्ने हो । यस्तै डरले उनीहरुलाई टाढैबाट हप्काउँदै आउजाउ गथ्र्यौं । 

अरबमा यस्ता कुरामा हाम्रो सुनुवाई हुँदैन । निर्दोष हुँदा हुँदै पनि भाषा नमिलेकै कारण जेल परेका कुरा सुनेकाले हामी उनीहरुको नजिक खासै पर्दैनथ्यौं । त्यसैले अरबी देशहरुमा आउने साथीभाइले यस्ता कुरामा निकै होसियार हुनुपर्ने रहेछ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।