१ सय ९७ वटा म्यानपावर खारेज

 बैशाख १५, २०७६ आइतबार १६:११:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ ।  नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

 

यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ । 

विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा १४ सय ३७ वटा म्यानपावर दर्ता छन् । 

एक वर्षमा सय जना पनि कामदार नपठाउने म्यानपावर पनि खारेज हुने 

विभागमा दर्ता भएका १४ सय ३७ मध्ये अहिले ११ सय ८५ वटा म्यानपावर मात्रै सञ्चालनमा छन् । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज हुने प्रावधान छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षा र म्यानपावरको संख्या घटाउन सरकारले यस्तो प्रावधान ल्याएको हो । विभागमा रहेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७४/७५ मा ५ सय १२ वटा म्यानपावरले एक सय जना कामदार पठाउन सकेनन् । विभागको वेभसाइटमा गएर हेर्न सकिन्छ ।

एक वर्षमा १० जना पनि कामदार पठाउन नसक्ने म्यानपावरको सङ्ख्या ६७ छ । जसमध्ये ८ वटा म्यानपावरले एक जना मात्रै कामदार पठाएको विभागको तथ्याङ्कमा उल्लेख छ । ७ वटाले २ जना मात्र वैदेशिक रोजगारीमा पठाएका छन् ।

३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० वटा म्यानपावर छन् । ११ देखि ५० जना पठाउनेको संख्या १ सय ८२ छ । २ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या १५ छ ।

तपाईको प्रतिक्रिया