MENU

मेरो कथा मेरो भोगाई

​एजेन्टले भनेको नमान्दा कतारमा बढी तलव पाएँ

रमेश परियार/खोटाङ ।

मेरो घर रुपाकोट मझुवा गढी नगरपालिका ७ चिउरीडाडाँ हो । गाउँघरमा टेलर्स (लुगा सिलाउने) काम गरेर साधरण जिवन यापन गरिरहेको थिएं । यो कामको कमाईले घर ब्यबहार चलाउन धौ धौ पर्न थालेपछि वैदेशिक रोजगारीमा जाने सोच बनाएँ । २०५८ सालमा गाउँका साथीहरुसँगै म पनि काठमाडौंतिर लागें । 

काठमाण्डौमा मेरो साढदाईको साथी राजु बिकले एजेन्टको काम गर्नुहुँदो रहेछ । उहाँ मार्फत बसुन्धाराको एउटा म्यानपावर कम्पनीबाट कतार जाने प्रक्रिया सुरुभयो । 

उहाँ पनि काम भने यहिँ आफूले गरिरहेकै थियो । लुगा सिलाउने काममा गार्मेन्ट कम्पनीमा जानका लागि पासपोर्ट बुझाएँ । एजेन्टले सबै काम म मिलाउँछु भनेपछि हामी उसलाई बुझाउने पैसा खोज्न गाउँ फर्कियौं । 

हामीलाई महिनाको झण्डै २५ हजार रुपैयाँ (८००–९०० रियाल) तलव हुन्छ भनेको थियो । जाँदा म्यानपावरमा बुझाउन ७५ हजार रुपैयाँ चाहिन्छ भनेको थियो । एक महिना नबित्दै खबर आयो तपाईंहको भिसा आयो पैसा लिएर आउनुस् । 

त्यसपछि म पनि पैसा लिएर काठमाडौं गएको थिएँ । भिसा आएको कागजात देखाउँदै एजेन्टले ७५ हजार रुपैयाँ माग्न थाले । तर भिसा दुईटा थियो । एउटामा ४ सय रियाल तलव लेखिएको अर्को ७ सय रियाल । मैले किन यस्तो भनेर सोध्दा एजेन्टले भने केहि फरक पर्दैन त्यहाँ पुगेपछि तापाईंले पाउने तलव मैले भनेअनुसार नै हो, सबैको यस्तै हुन्छ भने । दुई महिना काम गरेपछि तलव बढ्छ पनि भने । 

दुईवटा सम्झौता पत्र देखाउँदै भने यो ४ सय रियाल तलव लेखिएको सम्झौता पत्र कम्पनीमा दिनु । ७ सय लेखेको चाहिँ विमानस्थलमा चेक गर्दा देखाउनु त्यसपछि च्यातेर फालिदिनु भनेको थियो । नच्याते समस्या हुने र हामी कुनै समस्यामा परे यसको जिम्बेवार हामी नै हुने एजेन्टको कुरा थियो । 

लागत बढी तलव थोरै भएपछि मलाई जान मन लागेन मैले एजेन्टलाई भने अब म जान्न । गएपनि ३० हजार भन्दा बढी तिर्दिन भनें । नगए भिसाको पैसा तिर्नुपर्छ भन्यो । बढी पैसा तिरेर जान्न बरु म नेपालमै काम गर्छु भनेर मान्दै मानिन । 

त्यसपछि एजेन्ट केहि लचक भयो । तपाईं पनि ३० हजार नभन्नु म पनि ७५ हजार भन्दीन भन्यो । ४० हजार रुपैयाँ तिरेर म रोजगारीका लागि कतार उडेको थिएँ । मैले विमानस्थलमा पनि एजेन्टले भनेको ७ सय रियाल तलव लेखिएको सम्झौता पत्र फालिन । 

कतार पुगेपछि कम्पनीमा पनि ४ सय रियाल तलव लेखिएको सम्झौता पत्र देखाइन । ७ सय रियाल लेखिएकै कागजात बुझाएँ । तर कम्पनीले एक पटक मेरो काम हेर्ने भन्यो । 

बिजुलिबाट चल्ने मेसिन भएकाले सुरुमा अलिक नेपालमा चलाएको भन्दा फरक भए पनि कटीङ्ग, सिलाईको तरिका नेपालकै जस्तो थियो । त्यसैले मैले राम्रै सगँ काम गर्न सकें । कम्पनीमा पनि ओभरटाइम पनि रामै्र थियो । खान बस्नको सुबिधा पनि थियो । ओभरटाइम समेत गरेर मासिक तलब १४ सय देखि १६ सय रिअल (झण्डै ४० हजार रुपैयाँ) सम्म थाप्थें । 

तर म सँगै गएका साथीहरुको बढीमा ८ सय रियाल मात्रै हुन्थ्यो । साथीहरुले एजेन्टले भनेअनुसार ४ सय रियाल तलव लेखिएको कागजात कम्पनीमा बुझाएका थिए । तलबको आधारमा ओभरटाइमको रकम पनि फरक पर्दो रहेछ । साथीहरु मलाई भन्थे तपाईंले त हिम्मत गर्नाले राम्रो तलव पाउनुहुन्छ । 

दुई वर्ष कतार बस्दा घर जग्गा पनि जाडें र २०६० सालमा घर फर्किएं । अहिले म गाउँमै टेलर्सको काम गर्छु र अहिले जाने भाइबहिनीलाई भन्छु– ‘विदेश जाँदा काम सिकेर र राम्रोसँग कुरा बुझेर मात्रै जानु ।’

(नबकिरण सेवा समाज नेपालद्वारा सञ्चालित सामी परियोजनाका सामाजिक परिचालक सन्तोष कुमार राईसगँको कुराकानीमा आधारीत)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा । / भिडियोः उज्यालो ।