कानुन नमान्ने र सरकारलाई नटेर्ने म्यानपावर कम्पनीलाई कारबाही हुन्छ : विभाग

 बैशाख ३१, २०७६ मंगलबार १२:१२:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागको टोलीले सोमबार तीन म्यानपावर कम्पनीमा अनुगमन गरेको छ । 

पुरानै संरचनाबाट कामदार मलेसिया पठाउने प्रक्रिया अघि बढाएको सूचनाको आधारमा जुपिटर ओभरसिज प्रालि, स्काई अफ दी वल्र्ड र ट्रष्ट नेपाल ओभरसिज प्रालिमा अनुगमन गरिएको विभागका महानिर्देशक डा. भिष्मकुमार भुषालले बताउनुभयो । 

नयाँ कामदार मलेसिया पठाउने विषयमा स्वास्थ्य परीक्षणको कुरा अझै टुङ्गो नलागेको भए पनि म्यानपावर कम्पनीमा पासपोर्ट संकलन गरेर राख्न थालेको भेटिएको उहाँले बताउनुभयो । 

‘नियम अनुसार त कामदार लैजाँदा रोजगारदाताले नै सबै सेवा शुल्क बुझाउनु पर्ने हुन्छ, तर हिसाबकिताबको प्रमाण माग्दा दुई म्यानपावरले देखाउन सकेनन्,’ भुषालले भन्नुभयो, ‘कानुन नमान्ने र सरकारलाई नटेर्ने गर्न पाईंदैन, त्यस्तो गर्ने सबैलाई कारबाही हुन्छ ।’

रोजगारीका क्रममा कामदारलाई समस्या पार्ने, ठगी गर्ने कोही पनि म्यानपावरलाई छुट नहुने उहाँको बताउनुभयो । 

महानिर्देशक भुषालले म्यानपावर कम्पनीको अनुगमनको कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिसकेको र अब त्यसकै आधारमा नतिजामुखी अनुगमनलाई जोड दिने पनि बताउनुभयो । 

म्यानपावर कम्पनी अनुगमनबारे अहिलेसम्म कुनै कार्यविधि नबनेको र अब नयाँ कार्यबिधि पास भएसँगै यसलाई निरन्तरता दिने बिभागको तयारी छ । 

तपाईको प्रतिक्रिया