यूएईमा १२ जना नेपाली अलपत्र

 जेठ १, २०७६ बुधबार १३:३४:३३ | उमाकान्त पाण्डे

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा १२ जना नेपाली अलपत्र परेका छन् । साढे २ महिनादेखि तलब नपाएपछि उनीहरु अलपत्र परेका हुन । 

अलपत्र पर्नेमा अर्घाखाँचीका हरिप्रसाद गैरे, मोरङका सानु राई, सन्तोष गुरुङ र लालध्वज राई, काभ्रेका बोमबहादुर तामाङ, नवलपुरका गया चौधरी र सुनसरीका इन्द्रबहादुर महतो रहेका छन् ।

काठमाण्डौ महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्याक्टिङ मेन्टिनेन्स् कम्पनीमा आएका उनीहरुलाई तलब नपाएपछि खाना र बस्न पनि समस्या परेको छ । 

समस्यामा परेका १२ जनामध्ये १ जना मात्रै कम्पनीमा साढे दुई महिना पहिले यूएई आएको भए पनि बाँकी भने कम्पनीमा ९ महिना पहिलेदेखि कम्पनीमा कार्यरत थिए ।

पहिलेदेखि काम गरेको तलब नपाएपछि उनीहरुले काम छोडेर कम्पनीको क्याम्पमा बसेको र अहिले कम्पनीले भाडामा लिएर राखेको मजदुर क्याम्पबाट पनि निकालेपछि थप समस्यामा परेका हुन् ।

आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा समस्यामा परेको छन् । मुसाफामा अलपत्र परेका ७ जनाले मंगलबार नेपाली दूतावास आबुधाबीमा पुगेर आफूहरु समस्यामा परेको र सहयोग गरिदिन भन्दै निवेदन समेत दिएका छन । 

सोही कम्पनीमार्फत दुबईमा कार्यरत बाँकी ५ जना दूतावाससम्म आउने जाने पैसा नभएकाले निवेदन दिनसमेत आउन नसकेको पीडितमध्येका एक मोरङका शिशिर राईले बताउनुभयो ।  

 अलपत्र परेकामध्ये सबै इलेक्ट्रिसियन तथा प्लम्बरको काममा यूएई आएका  हुन् । काम एउटै भए पनि म्यानपावरले नेपालमा गराएको सम्झौता अनुसार यहाँ तलब नपाएको पीडितहरुको गुनासो छ ।

एक हजार दिर्हाम न्युनतम तलब र खाना बापत २ सय दिर्हाम दिने भनेर यूएई ल्याएको भए पनि यहाँ आएर कम्पनीले ८ सय तलब र २ सय खाना बापतको सम्झौता गराएको थियो । 

तर पछिल्लो साढे दुई महिना यता तलब नपाएपछि अहिले उधारोमा सामान ल्याएर गुजारा गरिरहेको पीडित सानु राइले बताउनुभयो । पीडितहरुमध्ये कतिपयको मासिक तलब बाहेक ३ देखि ६ महिनासम्मको ओभरटाइमको हिसाबसमेत कम्पनीले नदिएको अर्घाखाँचीका हरिप्रसाद गैरेले दुखेसो गर्नुभयो ।

‘कम्पनीले काममा लगाएको ठाउँबाट पैसा नआएको भन्दै तलब दिएको छैन, हामीलाई खान बस्नसमेत समस्या भएको छ,’ सन्तोष गुरुङले भन्नुभयो । तलब नपाएपछि दुई हप्तादेखि काममा नगएको र आफूहरुले पाउनुपर्ने रकम दिलाएर नेपाल फर्काउन दूतावासलाई अनुरोध गरेको पीडितको भनाई छ । 

नेपाली कामदारको उजुरीका आधारमा दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले कम्पनीको मानव संसाधन विभाग र म्यानपावरका प्रतिनिधिसँग टेलिफोन गरेर समस्या समाधान गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

कम्पनीले एक हप्तामा कामदारहरुले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता दूतावाससँग गरेको छ । उनीहरुको समस्या समाधान गर्ने र खाना बस्नको समेत व्यवस्था गर्ने कम्पनीले मौखिक सहमति जनाएको काउन्सिलर कार्कीले बताउनुभयो ।

यस्तै कामदार यूएई पठाएको म्यानपावर कम्पनीले पनि कामदार कार्यरत कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्ने बताएको दूतावासले जनाएको छ ।
 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया