MENU

मेरो कथा मेरो भोगाई

प्रेम विवाह, कुलत, भनेजस्तो कमाइ नहुँदा विदेशमा युवा सम्पर्कविहिन हुन्छन्

सोम लामिछाने/महासचिव, प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)

हामीले प्रवासी नेपालीको क्षेत्रमा काम गरेको धेरै वर्ष भयो । त्यसमा पनि विदेश गएर समस्यामा पर्नेहरुका लागि विशेष रुपमा काम गरिरहेका छौं । हामी विदेशमा गएर सम्पर्कविहिन भएका नेपालीलाई खोजी गरेर नेपाल फर्काउन सहयोग गर्छौं । 

विदेश गएका आफन्त हराए भन्दै हामीसँग पछिल्ला दुई वर्षमा १२२ जनाका आफन्तले खोजीका लागि आग्रह गर्नुभएको थियो । ती मध्ये ६७ जनालाई परिवारको सम्पर्कमा ल्यायौं । सम्पर्कमा आएका तथा परिवारसँग सम्पर्कविहिन भएर विदेशमा भएकाहरुलाई भेटेको आधारमा परदेशीहरु सम्पर्कविहिन हुने कारण एउटा मात्रै छैन ।  

कतिपय परदेशी घर परिवारको दवावका कारण सम्पर्कमा आउन नचाहेको पाएका छौं । परिवारले विदेश पुगेपछि त पैसा कमाइ हुन्छ नै भन्ने सोचेर त्यही अनुसारको आशा गर्ने अनि विदेश भएको व्यक्तिलाई धेरै पैसाको मात्रै कुरा गर्छन तर उनीहरुले त्यो अनुपातमा कमाउँछन भन्ने छैन । त्यसैले कमाउन नसकेपछि फोन गर्नुभन्दा नगर्नु नै ठिक भन्ने हुँदो रहेछ । 

कुलतमा फस्नेहरु पनि छन् । कुलतमा फसेपछि परिवारसँग सम्पर्क हुने कुरा भएन् । विशेष गरी मलेसियामा प्रेम विवाह गर्ने क्रम बढेसँगै परिवारसँग सम्पर्कविहिन हुने क्रम पनि बढेको छ । मलेसियामा इण्डोनेसिया, फिलिपिन्सलगायत देशका महिलाहरुसँग विवाह गरेर बस्ने नेपालीहरु धेरै भेटेका छौं । 

सम्झौता अनुसारको काम नपाउनु पनि सम्पर्कविहिन हुनुको अर्को कारण हो । नेपालमा म्यानपावरले एउटा काम अनि एउटा तलब भनेर सम्झौता गर्ने तर विदेश पुगेपछि त्यो अनुसारको काम र तलव पाउँदैनन् । 

काम र तलब भने अनुसारको नभएपछि यहाँबाट भनेर गएको कम्पनी छोडेर भाग्छन् । जुन कुरा परिवारसँग भन्न चाहँदैनन् । परिवारसँग भन्नु पनि कसरी जाँदा लिएको ऋण दिन प्रतिदिन बढिरहेको हुन्छन् । त्यसैले फोन गरेर यस्तो भयो भनेर तनावमाथि तनाव थप्नु भन्दा नगरेकै ठिक भनेर बस्नेहरु पनि छन् । 

कुनै कारणले प्रहरीले पक्रिएमा उनीहरुले चाहँदा चाहँदैमा पनि सम्पर्क गर्न सक्दैनन् । त्यसैले सम्पर्कमा आउन सकेका छैनन् । यस्ता घटना पनि मलेसियामा नै धेरै छन् । अर्को कारण सजिलै सञ्चार सम्पर्क गर्न सक्ने ठाउँमा नपर्नु पनि हो । मलेसियामै यस्ता ठाउँहरु पनि छन जहाँ काम गर्नेहरुलाई सम्पर्क गर्न सजिलो छैन । 

अनि महिलाको हकमा छुट्टै कारण छ । घरेलु कामदार महिलालाई सञ्चारको सुविधा धेरै ठाउँमा दिइँदैन । त्यसैले कहाँ पुगेका छन्, के काम गरिरहेका छन थाहा पाउन निक्कै मुश्किल पर्छ । कतिपयलाई त एउटा देश भनेर अर्कै देशमा पु¥याइएको पनि छ । त्यसैले उनीहरु त सम्पर्कविहिन हुने नै भए । 

त्यसैले परदेशीहरु कमाउन नसकेर मात्रै सम्पर्कविहिन भएका छैनन् । उनीहरु कोही रमाइलोका कारण त कोही कमाउन नसकेको बाध्यताले सम्पर्कविहिन भएका छन् ।

(मोहन पौडेलेले गरेको कुराकानीबाट) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।