MENU

मेरो कथा मेरो भोगाई

पहिले विदेशको रहरले गाउँमा काम देखिन, अब भेटेरिनरी विषय पढ्छु

पशुपति कुमार साह/सुनसरी ।

साथीहरु गएको देख्दा मलाई पनि विदेश जाने रहर लाग्यो । विदेश कसरी जाने, के के प्रक्रिया गर्नुपर्छ भन्ने केही पनि थाहा थिएन । घरमा बसेर के काम गर्ने, विदेश जाने रहरले हो कि मलाई गाउँघरमा केही गर्न सकिन्छ जस्तो पनि लागेन । 

साथीहरुले पनि विदेशको बारेमा धेरै सुनाएका थिए । उनीहरुको कुरा सुनेपछि त मलाई झनै जाने रहर लाग्यो । घरमा कुरा गरें । तर बुवाआमाले मेरो विदेश जाने रहरलाई सुन्न पनि मानेनन् । साथीहरुको लहैलहैमा लागेर अर्काको देशमा नजाउ भनेर गाली गरे । 

आमाबुवालाई फकाउने कोशिष त गरें तर बुवाआमाले मान्नुभएन । ठूलो बुवाको छोरा मलेसियामा हुनुहुन्थ्यो । दाइलाई मलाई पनि विदेश जान मन छ भनेर सुनाएँ । दाइले मेरो कुरा सुनेपछि आफैले काम गर्ने कम्पनीबाटै भिसा पठाउने बताउनुभयो ।

दाइले यति भनेपछि त के चाहियो र । म खुसीले दंग भएँ । तर अर्को तिर पीर पनि लाग्यो । बुवाआमा खुसी भए त विदेश जाने पैसा दिनुहुन्थ्यो । अब कहाँबाट पैसा ल्याएर विदेश जाने । दाइसँग सबैकुरा भनेको थिएँ । मलेसियाबाट उहाँको साहु काठमाडौं आउन लागेको दाइले बताउनुभयो ।

नभन्दै दाइका साहुले काठमाडौ आएर मलाई फोन गर्नुभयो । म उहाँलाई भेट्न काठमाडौं गएँ । मैले १२ कक्षा पास गरेकाले विदेशमा वेटरको काम दिने भन्नुभयो । दाइका साहुका कुरा सुनेपछि मेरो मन मलेसिया पुगिसकेको थियो । चिन्ता थियो त विदेश जान लाग्ने पैसा कहाँबाट जुटाउने । 

साहुले मेरो त्यो चिन्ता पनि सुल्झाइदिए । उनैले मलाई एक लाख पाँच हजार रुपैयाँ खर्च हालेर मलेसिया उडाए । म विदेश जादा मेरो परिवार खुसी थिएन । तर म एकदमै खुसी थिए । 

सन् २०१३ मा राज ओभरसिसबाट म मलेसिया गएको थिएँ । मलेसियामा दाइले नै काम गर्ने होटलमा काम पाएँ । समुन्द्रको छेवैमा होटल, अनि त्यहाँ भित्रको रमझम साह्रै रमाइलो थियो । काम पनि सहज थियो । 

बारको काम थियो मेरो । कक्टेल बनाउँदा मलाई साह्रै रमाइलो लाग्थ्यो । होटलमा काम गरुञ्जेल म त संसारै भुल्थें । म्यानपावरले भने जस्तै मेरो महिनाको ९ सय रिंगिट तलव थियो । होटलमा ठूलाबडा मान्छे आउँथे । म त हेरेको हेर्‍यै हुन्थें तिनीहरुको चालचलन देखेर ।

टिप्सबाट आउने पैसा र तलव गरेर मैले जाँदा लागको ऋण पनि तीन महिनामै तिरिसकेको थिए । मलेसियामा मैले ७ लाख रुपैयाँ कमाए । बुवाले त्यसमा अलिअलि थपेर इनरुवामा १५ धुर जमिन किन्नुभयो ।

मलेसियामा म तीन वर्ष बसे तर त्यो तीन वर्ष कति चाँडै बितेछ पत्तै भएन् । तीन वर्षमा घर आएँ । घर आउने वित्तिकै बिहे भयो । विदेश फर्कने सोच थियो । तर बिहे भएपछि त्यो भएन । श्रीमतीले यतै केही गरौ विदेश नजानु भनिन् । अनि गइन् । 

त्यसपछि मैले सुरक्षित आप्रवासन परियोजना (सामी)मा काम सुरु गरे । मेरो काम थियो विदेश जान लागेका युवालाई सूचना दिने । नबुझी विदेश जान लागेकालाई सीप सिकेर विदेश जाउ, यस्तो हो भनेर आफूले सिकेका कुरा विदेश जान लागेकालाई सुनाउन सम्झाउन पाउँदा निकै खुसी लाग्ने । धेरै जनालाई विदेशमा हुने जोखिमबाट बचाएको पनि छु ।

तर अहिले त्यो काम सकिएको छ । एक मनले त पहिलेकै काममा मलेसिया जाउँ कि जस्तो पनि लाग्छ । त्यो बेला सिकेका सीपले होला उताबाट साहुले पनि बोलाइरहेको छ । विदेश त परिवारले पठाउँदैनन् होला । अब भेटेरिनरी डाक्टर बन्ने रहर छ । चाँडै पढाई सुरु गर्छु । गाउँमा धेरै स्वास्थ्यकर्मी भए, तर वस्तुभाउका लागि डाक्टर छैनन् । त्यसैले गाउँमै ‘भेटेरिनरी डाक्टर’ बन्ने मेरो सपना छ । 

सन्जिता देवकोटाले गरेको कुराकानीका आधारमा । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।