MENU

मेरो कथा मेरो भोगाई

ठगिनबाट जोगिने कुरा सिकाउँदा पैसा खाएर आएको आरोप लगाउँछन्

दिनेश कुमार महतो/सर्लाही

सूचना तथा परामर्श केन्द्र हरिवनमा स्वयमसेवकको काम गर्न थालेको १६ महिना भयो । यो अवधिमा मैले इश्वरपुर नगरपालिका १३,१४ र १५ नम्बर वडामा सूचना दिने काम गर्दै आइरहेको छु ।

म  पनि मलेसिया बसेर आएको हुँ । त्यस बेला सूचना दिने संघसंस्था केहि थिएन । एजेन्टले जे भन्थ्यो त्यहि सूचना हुन्थ्यो ।  अहिले अवस्था फेरिएको छ । वैदेशिक रोजगार सम्वन्धी सूचना रेडियोबाट आउँछ । साथै विभिन्न संघ संस्थाले पनि काम गरिरहेका छन् ।

मैले गाउँ टोल र समुदायमा घुम्दा चार किसिमको काम गर्छु । विदेशिने युवालाई सुरक्षित वैदेशिक रोजगारी बारे सूचना तथा जानकारी दिने, विदेशिने मनसाय बनाएका यूवालाई सीपको फाइदा बताउँदै निःशुल्क सीप सिक्नको लागि हरिवनमा रहेको सूचना तथा परामर्श केन्द्रसंग समन्वय गर्ने, निःशुल्क कानुनी सेवा बारे जानकारी दिने र मनोेसामाजिक रुपमा समस्यामा परेका व्यक्तिलाई परामर्शकर्तासँग भेट गराइदिने गर्छु । 

कतिपय गाउँमा घुम्दा र सूचना दिँदा उल्टै तँलाई कति पैसा दिएको छ ? भन्छन् । केहिले त यसको जागिर हो पनि भन्छन् । यथार्थमा गाउँमा र समुदायमा गएर कुरा बुझाउन धेरै गाह्रो छ । तर उनीहरुकै चिनेको व्यक्तिको उदाहरण दिएर भन्यो भने चाहिँ केही पत्याउँछन र विश्वास पनि गर्छन् । 

कुनै बेला त उनीहरुले चाहे अनुसार हामीले सहयोग पनि गर्न सक्दैन । जस्तै विदेशमा अवैधानिक भएर बसेको व्यक्तिको मृत्यु भयो भने उनीहरुको शव नेपाल ल्याउन धेरै समस्या छ । त्यसमा पनि साउदी अरबको हकमा यो अझै गाह्रो हुने रहेछ । उनीहरुले त्यसका लागि दबाव पनि दिन्छन् ।

तर ढिलो भयो या सकिएन भने हामीलाई गर्ने विश्वास घट्ने रहेछ । यसले खै के गर्न सक्यो र अनि सूचना केन्द्रले सहयोग गर्छ भनेर गफ मात्रै गर्दो रहेछ भनेर आरोप पनि लगाउँछन् ।

मैले काम गर्ने क्रममा विदेश जाने बेलामा हामीले भनेको सुन्दै नसुन्ने अनि विदेश पुगेर ठगिएर वा समस्यामा परेर फर्किएपछि सहयोग माग्नेहरु पनि भेटेको छु । त्यतिबेला चाहिँ मलाई उनीहरु सहयोग गर्ने बेलामा रिस उठ्छ । यदी उनीहरुले विदेश जानु भन्दा अघि नै हाम्रा कुरा सुनिदिएको भए त्यस्तो हुँदैनथ्यो नी । 

तर रिस उठ्यो भन्दैमा सहयोग नगर्नु मेरो काम होइन् । मेरो काम त अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु हो । त्यसैले सहयोग गरिरहेको छु । 

(दिनेश कुमार महतो सर्लाहीको ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा रिटर्नी भोलेन्टियरको रुपमा कार्यरत हुनुहुन्छ ।)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।