MENU

मेरो कथा मेरो भोगाई

परदेशमा सोचे जस्तो हुँदैन, जे छ त्यसमै चित्त बुझाउनुपर्छ

तुलाराम लिम्बू, केराबारी गाउँपालिका १ पाटीगाउँ मोरङ/हाल साउदी अरेबिया ।

विदेश आउने बेलामा काठमाडौंको इमेज म्यानपावरमा अन्तर्वार्ता दिँदाको दिन दिमागबाट हटेको छैन । मलाई अन्तर्वार्ता लिने अरबी नागरिक साउदीबाटै आएका थिए । मलाई अरबी भाषा त आउँदैनथ्यो । अंग्रेजी भाषामै अन्तर्वार्ता दिएँ । 

क्याफेको काममा कमाइ पनि राम्रो हुन्छ भनेका थिए । त्यति बेला अर्को कुरा पनि भनेका थिए । चकलेट कम्पनीको काम पनि हुन सक्छ । तर मलाई रोड क्याफेकै काम मिल्ला जस्तो लागेको थियो ।

अन्तर्वार्तामा अरबीको कुराले मलाई झन कहिले काम गर्न विदेश पुगांै भैसकेको थियो । रोड क्याफेमा काम गर्न पाउने भएपछि म मख्ख परेको थिए । कतै गलत होलाकि जस्तो पनि लागेन किनकि अन्तर्वार्ता लिने पनि अरबी नै थिए । उनैले भनेका कुरा कसरी झुटो होला र भन्ठानेर म ढुक्क थिएँ ।

भिसा २० दिनमा आयो । अब साउदी अरेबिया पुग्नका लागि एक लाख २० हजार रुपैयाँ तिर्नुपर्ने बताए । मलाई अन्तर्वार्तामा काम र कमाई चित्त बुझेकाले धेरै सोचिन । उसले भने अनुसार नै पैसा पनि दिएँ । 

२०७० असारमा म साउदी आएँ । भने जस्तो काम पाइन । क्याफेको कामको सट्टा चकलेट कम्पनीको काम पाएँ । चकलेट कम्पनीकै काम भएपछि ठिकै छ भनेर चित्त बुझाएँ । तर काम पनि राम्रो भएन । 

सुरुसुरुमा १२ घण्टा काम लगाएपनि पछि भएपछि १८ देखि १९ घण्टासम्म काम गर्नु पर्ने । छुट्टि पनि नदिने । तलव त धेरै दिएन नै तर त्यसबाट पनि छुट्टि बसेवापतको एक दिनको कमाइको दोब्बर काट्न थाल्यो ।

१९ घण्टा दिनमा खट्दा मासिक १८ सय रियालसम्म तलव आउँथ्यो । कम्पनीमा हामी ६ जना नेपाली र ९ जना भारतीय नागरिकले काम गर्छन । न त कहिले तातो गाँस खान पाए न त आनन्दले एक रात निदाउन नै । जहिले पनि रात भर काम । दिनमा पनि काम ।

जानेबेलामा लागेको ऋण त बल्ल बल्ल तिरें । एक पैसा पनि बचेको थिएन । यसरी नै दिन बितिरहेका थिए । हामीलाई काम लगाउने सिरियाका एकजना नागरिक थिए । उहाँको उमेर ६० वर्ष भन्दा धेरै होला । कामको सिलसिलामा उहाँसँग बेलाबेलामा भनाभन त भैरहन्थ्यो । एउटै खाटमा सुत्दा खुट्टा लग्छ भने झै यस्तो त भै हाल्छनि भनेर चित्त बुझाउँथे । 

एकदिन मैले सोचेभन्दा फरक घट्ना भयो । नेपालीहरु ६ जनाकै आराम गर्ने समय थियो । त्यही बेलामा उसले भारतीय साथीलाई चक्कु प्रहार गरेछ । पेटमा ताकेको चक्कु साथीले हातले रोके छ । तर उसको हातमा धेरै काटेको थियो । त्यसपछि हामीले प्रहरीलाई खबर ग¥यौं । प्रहरीले उसलाई लिएर गयो । तर दुई घण्टामै फर्किए ।

परदेशमा त निकै गाह्रो रैछ । कानुनले पनि ठूलालाई केही गर्न नसक्ने तर हामीलाई भने त्रासमा काम गर्नु प¥यो । ज्यान खतरामा राखेर कतिदिन काम गर्ने । हामी सबैजना मिलेर काम नगर्ने भनेर सोच्यौं र साहुलाई हाम्रो कुरा राख्यौं । 

केही समय पछि सिरियन नागरिक नै कम्पनीबाट निक्लिए । त्यती बेला खुसी लाग्यो ।  सायद साहुले सायद हाम्रो कुरा सुने । त्यसपछि काम गर्न अलिक सहज पनि भयो । काम सबै जानेकाले साहुले हामीलाई काम गरिरहेको डिपार्टमेन्टको जिम्मा दिए ।

म सुपरभाइजर भएँ । मेरा दुई जना दाइहरु रणबिर खतिवडा र दुर्गाबहादुर केसी हुनुहुन्थ्यो । उहाँहरु पनि सुपरभाइजर हुनुभयो । हामीलाई टार्गेट दिएको हुन्थ्यो । कमाइ पनि राम्रो हुन थाल्यो । काम गर्ने समय पनि घट्दै गयो । दिनमा ८ देखि ९ घण्टा भन्दा बढी काम गर्नु परेन ।

मेहनतको फल मिठो हुन्छ भने जस्तै पहिला त्यतिधेरै दुःख सहे तर अहिले राम्रो भएको छ । अहिले मेरो काम पनि परिवर्तन भएको छ । म स्टोरकिपरका रुपमा कार्यरत छु । छुट्टिमा घर गएर आएको ६ महिना भयो । परदेशमा सोचे जस्तो त हुँदैन नै । तर पनि जे छ त्यसमै चित्त बुझाउने बानी बसाल्नु पर्दो रहेछ । मेहनत गरे फल चाहिँ पाइने रहेछ । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।