MENU

मेरो कथा मेरो भोगाई

उहाँहरुका लागि त म ‘डाक्टर साहेब’ भएको छु

सरिता लामा/सर्लाही

सर्लाहीकी पार्वती (नाम परिवर्तन) सँधै तनावमा हुने अनि टाउकोमा हात लाएर बसिरहनुहुन्थ्यो । कहिलेकाहीँ घरको भित्तालाई देखाउँदै ऊ कालो मान्छेले मलाई हेरिरहेको छ भन्नुहुन्थ्यो । भित्तामा न कोही हुन्थ्यो न कसैको छायाँ नै ।  त्यसैले छोराछोरीले हाँसेर वास्ता गर्दैनथे ।  

मैले उहाँलाई यस्तै अवस्थामा भेटेको थिएँ पहिलो पटक । श्रीमान पनि हाम्रो घर भएको जग्गा राम्रो नभएकाले यसलाई यसलाई सैतान लागेको भन्नुु हुँदो रहेछ । तर न त्यो जग्गा खराब थियो न त पार्वतीलाई सैतान नै लागेको थियो । उहाँलाई मनोसामाजिक समस्या भएको थियो ।

श्रीमान् गोरुको व्यापार गर्नुहुन्थ्यो । सँगै व्यापार गर्ने साथीले पैसा लिएर भागेपछि पार्वतीका श्रीमान् समस्यामा पर्नुभयो । त्यसपछि उहाँ कतार जानुभयो । तर कतारमा पनि कमाउन सक्नुभएन् । काम र तलब फरक परेपछि उहाँ १३ महिनामा खाली हात फर्किनुभयो । 

ऋण गरेर गएका श्रीमानले कमाउन नसकेपछि नै पार्वती समस्यामा पर्नुभएको रहेछ । श्रीमान दुई वर्षमा फर्किनुभयो, त्यो पनि खाली हात । अनि श्रीमानले पार्वतीको समस्या बुझ्नुभएन् । पार्वतीको समस्या बारे थाहा पाएपछि म उहाँको घरमा पुगें । 

उहाँलाई परामर्शसँगै उपचार पनि आवश्यक रहेछ । उहाँलाई परामर्शसँगै उहाँको परिवारलाई मनोसामाजिक समस्या, यसमा फँसेपछि असर अनि यसबाट बाहिर आउने उपाय बारे जानकारी गराएँ । 

पार्वतीलाई चाहिँ परामर्श सँगसँगै उपचारमा लान व्यवस्था पनि गर्‍यौं । परामर्श गर्दा चाहिँ उहाँका पीडा सुनेर त्यसले जीवनमा पर्ने असर बारे बुझाएँ । त्यति मात्रै होइन उहाँलाई अहिले के भइरहेको छ त्यसलाई हेरेर बुझ्न पनि लगाउँथें । ऋणले बढाएको चिन्ता र चुनौतीका बारेमा पनि छलफल गरें । 

परामर्श र उपचारले उहाँमा देखिएका समस्या विस्तारै कम हुँदै गए । परामर्श सुरुको तीन चार महिनापछि नै उहाँले आफूमा परिवर्तन आएको बताउन थाल्नुभएको थियो । दिक्क लाग्न छोडेको, राति निन्द्रा पनि पर्न थालेको, काम गर्न जाँगर बढदै गएको अनि चिन्ता हटेर आत्मबल बढेको बताउनुहुन्थ्यो । अहिले त उहाँ घरव्यावहार र छोराछोरीका बारेमा पनि ध्यान दिनुहुन्छ । 

जनकपुरमा गएर मानसिक रोगको औषधि उपचार गरेपछि स्वास्थ्य अबस्थामा सुधार आएको छ । सात महिना अगाडि र अहिलेकी पार्वतीलाई देख्नेहरु खुशीसँगै चकित हुन्छन् । मनोपरामर्शकर्तासँगको भेटले आफनो श्रीमती ठिक भएपछि श्रीमान मात्रै होइन परिवार नै मसँग खुशी छन् । उहाँहरुका लागि अहिले त म ‘डाक्टर साहेब’ भएको छु । त्यही भएर पार्वतीका श्रीमान मलाई भेट्ने बित्तिकै मेरो डाक्टर साब आउनुभयो भन्नुहुन्छ । 

(सरिता लामा, सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ । ) 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।