MENU

मेरो कथा मेरो भोगाई

कतारमा ठूलो घर देखेर कामै नगरी फर्किएँ

दिनेश झा/दुहवी नगरपालिका, सुनसरी ।

विदेशको काम र कमाईको बारेमा खासै थाहा थिएन मलाई । जहाज चढेर जान पाइने भएपछि विदेशमा धेरै थोक होला जस्तो लाग्थ्यो । मलाई जहाज चढ्ने रहर पनि सानै देखि थियो । त्यसैले काम गर्न विदेश नै जाने सोच बनाएँ ।

गाउँको दलालसँग कुराकानी भयो । उनैले मलाई विदेशे पठाउने चाँजोपाँजो मिलाए । कतारमा ट्रेडको काममा जाने निधो भयो । तर म त्यो कामका लागि योग्य चाहिँ थिइन । मलाई केही पनि आउँदैनथ्यो । दलालले ११ सय रियाल मासिक तलव हुन्छ, त्यसमा ओभरटाइमको पैसा पनि आउँछ भनेका थिए ।

महिनामा ११ सय रियाल भन्दा धेरै कमाइ हुने भएपछि मैले दलाललाई भने अनुसारकै पैसा बुझाएँ । कतार उड्ने दिन मलाई म्यानपावरले कार्यलयमा बोलायो । २ बजेको उडान थियो । बिहान ११ बजेतिर म्यानपावर पुगे ।

म्यानपावरको कुरा सुनेपछि मलाई त के गरौ के भयो । ११ सय रियाल भनेर जान आटेको तर मलाई म्यानपावरले जबरजस्ति ७ सय लेखिएको सम्झौता पत्रमा सहि गरायो । विदेश नजाउ गाउँबाट ऋण काढेर विदेश जानका लागि झोला बोकेर हिँडिसके । जाउँ ७ सय तलव । त्यो पनि पाइएला भन्ने के ठेगान र ।

दलाललाई फोन गरें । उसले अहिले त्यसैमा सही गर । तिम्रो तलव त ११ सय नै आउँछ भन्ने आश देखाए । विदेश नगइ अर्को विकल्प पनि थिएन । २०७१ सालमा कतार गएँ ।

कतारमा गर्मी हुन्छ भन्ने थाहा थियो । त्यसैले बाहिर काम गर्न सक्दिन भनेको थिए । दलालले भित्रकै काम दिन्छ भनेका थिए । तर कतार पुगेको तीन दिन पछि बाहिरकै काममा लगायो ।

मलाई पहिलो दिन काम गर्ने ठाउँमा लग्यो । म त आत्तिएर काम नै गरिन । यति ठूलो ठूलो घर कि मैले त त्यत्रो ठूलो घर कहिल्यै देखेको थिइन । काम गर्न डर लाग्यो । पहिलो दिन त कामै नगरी फर्किएँ ।

क्यापमा भएका सबै नेपाली दाजुभाइले सम्झाए । पछि डर हट्दै जान्छ भने । काम गर्ने बेला लगाउने जुत्ता, लुगा, पञ्जा, क्याप सबै कति गह्रौ । सामान्य क्याप लगाउँदा त कस्तो हुन्छ । त्यस्तो गर्मीमा शरीर कतै पनि नदेखिने गह्रौ लुगा लगाएर काम गर्न निकै गाह्रो भयो ।

कम्पनी हो भनेर पठाएको थियो दलालले । तर सप्लाई कम्पनीमा पु¥यायो । कामको ठेगानै नहुने । जताजतै बालुवा । मलाई त त्यसै विरक्त लाथ्यो । क्याम्पमा पनि खाना पकाउने केरेलाका मानिसहरु थिए । खाना पनि खानै नसकिने । जे मा पनि धेरै नुन । अनि माछा पकाएको पनि कस्तो कस्तो । पहिले त घरबाट लगेको अचारसँग भात खाएँ । त्यो सकिएपछि कतिदिन त मैले खाना नै खाइन । बिस्तारै बानी पर्‍यो ।

काममा जाँदा क्याम्पबाटै प्लास्ष्टिकमा खाना लैजानुपर्ने । त्यो पनि भनेको समयमा खान पाइदैनथ्यो । गर्मीमा बाफिएर गन्हाउने । खानै मन लाग्दैनथ्यो । बेलुका काम सकेपछि नुहाउने ठाउँमा उस्तै भिड हुने । ट्वाइलेटमा पनि उस्तै । दिक्क लाग्थ्यो । बस्न पनि १५/१६ जना एउटै कोठामा ।

अनि कम्पनीले पैसा पनि तीन चार महिनामा एकचोटि दिने । घरमा फोन गर्न मन लाग्ने । अरुसँग सापटी माग्न पर्ने । घरमा फोन गर्न नपाउँदा त साह्रै दिक्क लाग्थ्यो ।

यसरी नै एक वर्ष बित्यो । जाँदा काडेको ऋण पनि तिरिसकेको थिएँ । मलाई त्यहाँ काम गर्न मनै थिएन । त्यसैले आइडी कार्ड नविकरण गरिन । कम्पनीले धेरै फकाएको थियो । भारतीय साथी सुतेकै अवस्थामा मरेको देखेपछि मलाई त्यहाँ बस्नै मन लागेन ।

कम्पनीलाई घर पठाइदिन अनुरोध गरेको ६ महिना बिते पछि साढे एक वर्ष कतारमा बिताएर नेपाल आएँ । घर आएर सुरक्षित आप्रवासन परियोजना(सामी)मा रिर्टनी भोलेन्टियर रुपमा काम गरें ।

म जस्तै विदेशको बारेमा जानकारी नलिई रहरमा विदेश जान लागेको धेरैलाई विदेशमा हुने जोखिमबाट बचाएँ । विदेश जान लागेका दाजुभाइ दिदीबहिनीलाई बुझेर मात्र विदेश जान सुझाव दिन्छु । हिजोआज म स्थानीय पत्रिकामा रिर्पोटिङ गरिरहेको छु ।

सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।