खाडीमा तापक्रम उच्च : खुला ठाउँमा काम गर्दा सचेत हुनुहोस्

 जेठ ३०, २०७६ बिहिबार १४:५४:६ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडीका देशमा केही दिनयता तापक्रम बढेको छ । कुवेत र साउदी अरबको तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गएको शनिबार कुवेतमा छाँया पर्ने ठाउँको तापक्रम ५२.२ डिग्री र सिधा घाम पर्ने ठाउँको तापक्रम ६३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

कुवेतबाट प्रकाशित पत्रिका अल राइ डेलीका अनुसार यो अहिलेसम्मकै उच्च तापक्रम हो । साउदीबाट प्रकाशित अल कुवास पत्रिकाका अनुसार बुधबार त्यहाँको तापक्रम ५५ डिग्री सेल्सियस पुगेको छ । 

अबको एक, डेढ हप्तासम्म तापक्रम अझै बढ्ने खाडीको मौसम हेर्ने निकायले जनाएका छन् । तापक्रम कतार, बहराइन र यूएईमा पनि बढ्ने अनुमान गरिएको छ।

खाडीको मौसम विज्ञानसम्बन्धी हेर्ने निकायले यो वर्ष कुवेतमा ६८ डिग्री सेल्सियसम्म तापक्रम पुग्न सक्ने पूर्वानुमान गरेको गल्फ न्युजले बुधबारको अंकमा लेखेको छ। 

यूएईमा भने खाडीका अन्य देशको तुलनामा तापक्रम कम छ । बुधबार यूएईका केही भागमा ४८ डिग्री सेल्सियस पुगेको थियो । अलऐन र डेल्मामा ४८ डिग्री पुगे पनि सारजाह फुजेराहमा ४३, दुबईमा ४२ र आबुधाबीमा ४१ डिग्री सेल्सियस मात्रै रहेको छ ।

खाडीमा गर्मी बढ्नाले यस क्षेत्रमा कार्यरत कामदारलाई प्रत्यक्ष असर पर्छ । नेपाली कामदारको मुख्य श्रम गन्तव्य पनि खाडीका देशहरु नै हुन् । कतारमा धेरैजसो नेपाली निर्माणको क्षेत्रमा कार्यरत छन् ।

निर्माणको क्षेत्रमा कार्यरत कामदार उच्च जोखिममा रहेका अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।

गर्मीबाट बच्न के गर्ने ?

धेरै पानी पिउने ।

पसिना धेरै आउने हुनाले गुल्कोजको मात्रा बढाउने ।

गुल्कोज पाउडर मिसाएको पानी पिउने ।

काम सकेर कोठामा आएपछि चिसो पानीले ननुहाउने ।

गर्मीबाट सिधै एसी वा चिसोमा गएर कपडा नखोल्ने ।

टाउकोमा शितलता प्रदान गर्न गम्छा वा रुमालमा पानी पट्टी बनाएर बाँध्ने ।
 

तपाईको प्रतिक्रिया