मलेसियामा सांगीतिक कार्यक्रम गर्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस् !

 जेठ ३१, २०७६ शुक्रबार १७:५२:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा सांगीतिक कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ र कलाकारको रुपमा प्रस्तुतिको लागि त्यहाँ जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ।

तपाईंले मलेसियाको नियम, कानुन तथा स्थानीय भाषा, धर्म, संस्कृतिको ख्याल गर्नुभएन भने दुःख पाउन सक्नुहुन्छ । केही दिनअघि सांगीतिक कार्यक्रम प्रस्तुत गर्न गएका कलाकार र आयोजक पक्राउ परेपछि मलेसियामा रहेको नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ ।

मलेसियाका विभिन्न धार्मिक तथा सांस्कृतिक महोत्वसको बेला कलाकार बोलाएर कार्यक्रम गर्दा पूर्व स्वीकृति, भिसा लगायतका कुरामा ध्यान दिन दूतावासको आग्रह छ । 

मलेसियामा कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा संघसंस्थाले मलेसियाको स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम गर्न पनि दूतावासले आग्रह गरेको छ । साथै सबै प्रक्रिया पूरा गरेर कार्यक्रम गर्न लागेकोबारे दूतावासमा पनि जानकारी गराउन पर्ने हुन्छ । 

कार्यक्रम सञ्चालन गर्दा स्थानीय भाषा, धर्म र संस्कृतिको समेत ख्याल गर्नुपर्छ । साथै मलेसिया जाने सबैले स्थानीय अध्यागमन कानुनअनुसार आफ्नो भिसा अनुसार गर्न मिल्ने कार्यक्रम मात्र गर्न तथा कलाकारले सम्बन्धित भिसा प्राप्त भएपछि मात्र प्रस्तुति दिन दूतावासको अनुरोध छ ।

कार्यक्रममा आउने कलाकारलाई भिसाका लागि आयोजकले पुत्रजयामा रहेको permohonan penggambaran filem dan persembaham artis luar Negara (PUSPAL) कार्यालयसँग समयमै सहकार्य गर्न पनि दूतावासले अनुरोध गरेको छ । 

कानुन र प्रक्रिया विपरीत कार्यक्रम आयोजना गर्दा पर्न आउने विभिन्न समस्याप्रति बेलैमा सचेत रहन दूतावासले आग्रह गरेको हो । 

तपाईको प्रतिक्रिया