'कतार गए, साउदी गए, गए लाहुर भोट : कहीँ पनि भेटिएन धन फल्ने बोट'

 असार १, २०७६ आइतबार १३:४०:१७

सागरबिक्रम बस्नेत/रामेछाप

रामेछाप – 'कतार गए, साउदी गए, गए लाहुर भोट, कहीँ पनि भेटिएन धन फल्ने बोट, ए आमा मिठो खाने राम्रो लाउने आशले‍...' बोलको गीतले रामेछापका गाउँबस्ती तताउन थालेको छ ।  अहिले रामेछापका गाउँबस्तीमा याे गीत गुञ्जिरहेकाे छ ।

वैदेशिक रोजगारीमा जान लागेका युवा र वैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उदेश्यले  गीति अभियान सञ्चालन गरिएको हो । 

‘द भ्वाईस अफ नेपाल’का स्टार तथा सारंगी वादक तेजिन्द्र गन्धर्व र उनका भाइ हिमाल सागर गन्धर्वले रामेछाप जिल्लाको उत्तरीे गाउँपालिका उमाकुण्ड १, गुम्देलबाट गीति कार्यक्रमको थालनी गर्नुभएको छ । 

गीति कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने भएकाले वडाबाट समेत बजेट बिनियोजन गरी गुम्देलमा कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष नोर्बु शेर्पाले प्रतिबद्धता जनाउनु भएको छ । 

वैदेशिक रोजगारीमा जाने युवाको रोजगारीलाई सुरक्षित बनाउने उदेश्यले रामेछाप जिल्लामा गन्धर्व गीति कार्यक्रम सुरु गरिएको हो । रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजीकरणमा गन्धर्व गीति कार्यक्रम सञ्चालन गरिएको हो । 

रामेछाप जिल्लामा चालू आ.व २०७५/०७६ मा सामी/हेल्भेटासको प्राविधिक सहयोग तथा मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिाकाको ६/६ लाख रुपैयाँको आर्थिक साझेदारीतामा चारघरे सेवा समितिले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गीति कार्यक्रममा नबुझी विदेश जानु हुँदैन, विदेश जाँदा तयार गरिएको कागजपत्रको प्रतिलिपि घरपरिवारमा छोडेर जानुपर्ने कुरालाई जोड गरिएको छ । त्यस्तै विदेशमा धन फल्ने बोट नहुने हुँदा स्वदेशमा नै रोजगारी गर्नको लागि प्रोत्साहित गरिएको सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक सागरबिक्रम बस्नेतले बताउनुभयो । 

जेठ २९ गते गुम्देलबाट सुरु भएको गीति कार्यक्रम अभियान बाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर, भुजी, चुचुरे, ठोसे, रस्नालु, बेताली, नमाडी, फर्पू, मन्थली नगरपालिकाको गेलु, फुलासी, चनखु, भलुवाजोर र दोरम्बा गाउँपालिकाको वडाहरुमा समेत गरी असार २५ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिनु भएको छ ।  

विद्यार्थीहरुलाई अभिमुखीकरण

गीति कार्यक्रमँंगै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पनि विद्यालय अअभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ८ को पेशा व्यवसाय र कक्षा १० को सामाजिक किताबमा समावेश गरिएको वैदेशिक रोजगारी भन्ने पाठ अनुसार पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । 

उमाकुण्ड गाउँपालिका १, गुम्देलको महालंगुर मा.विको कक्षा ८, ९ र १० मा अध्ययन गर्ने ६२ जना छात्र छात्रालाई अभिमुखीकरणगरिएको छ । 

अभिमुखीकरण कार्यक्रममा आप्रवासी स्रोत केन्द्र मार्फत दिइने सेवा, निःशुल्क सिप तालिम जस्ता विषय समावेश गरिएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रम उमाकुण्ड गाउँपालिकाको महालंगुर, सिद्धेश्वर मा.वि बाम्ती, गोकुलगंगा गाउँपालिकाको शारदा मा.वि र गोकुलगंगा मा.वि मा सञ्चालन गरिने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिनु भएको छ । 

तपाईको प्रतिक्रिया