MENU

मेरो कथा मेरो भोगाई

अरुका बुवा दसैँमा आए हाम्रो त ९ वर्ष भयो खबर पनि छैन

निर्मला राई/भोजपुर ।

परदेश गएका सबैका बुवा नयाँ लुगा, खानेकुरा, नयाँ पैसा लिएर घर आइरहेका छन् । बुवासँगै मेरो साथीहरुको घरमा दसै‌ँ आउँछ । मेरो बुवा पनि आउनुहुन्छ कि जस्तो लाग्छ । बाटो हेर्छु  । तर उहाँ आउनुहुन्न् । दसै‌ँ आयो तर मेरो बुवा यो वर्ष पनि आउनुहुन्न । ११ वर्ष भयो हामीले बुवा कुरेको तर उहाँ आउनुभएन । न त खबर नै आयो ।

मेरो बुवाको नाम ऋषिजित राई हो । बुवा कतार गएको अहिले ११ वर्ष भयो । तर ९ वर्षदेखि उहाँको केही खबर छैन । सबैले भन्छन कतारमा मान्छे खाने के हुन्छ रे तेरो बुवालाई पनि खायो कि । बुवालाई केही भयो कि भनेर म सोच्न पनि सक्दिन । आफन्तले यसो भन्दा साह्रै चित्त दुख्छ । 

बुवा कतार गएको मलाई त्यति याद छैन । बुवाले कतारबाट दुई वर्षसम्म चिठ्ठी पठाउनुहुन्थ्यो । बेलाबेलामा गाउँको फोनमा फोन पनि गर्नुहुन्थ्यो । तर दुई वर्षपछि उहाँले गर्ने नम्बरमा फोन पनि लागेन न त चिठ्ठी नै पठाउनु भयो । बुवाले पठाएका चिठ्ठी म आफैं पढ्थ्ये । बुवा यसरी बेखबर हुँदा बेलाबेलामा मन चिसो हुन्छ कतै बुवालाई आफन्तले भने जस्तै मान्छे खानेले त खाएन ?

बुवाको चिठ्ठी आउन छाडेपछि ममी दिनरात रोएरै बिताउनु हुन्छ । हामी सात जना दाजुभाइ दिदीबहिनी छौं । हाम्रै लागि विदेश जानुभएका बुवा हराएपछि ममीसँग पनि रुन बाहेक अरु केही गर्न सक्नुभएको छैन । 

म राति बिउझिँदा सधै ममि रोएकै देख्थ्ये । आमाको छेउमा बसेर हामी सबै जना रुन्थ्यौं । बुवाले फोन गर्न र चिठ्ठी पठाउन छाडेपछि आमाको आँखा ओभानो देखेको छैन । खै हाम्रो रुवाइ कसैले सुनेनन् । ९ वर्ष वित्दा पनि बुवाको कुनै खवर आएन ।

ममीको पीडा त म शब्दमा भन्न सक्दिन । ममी बुवाकै कुरा गरेर बर्बराइ रहनुहुन्छ । बेलाबेलामा सपनामा देख्नुहुन्छ रे । कहिले खुकुरीले ममीलाई नै काटेको देख्नुहुन्छ रे । त्यस्तो सपना देखेको दिन बिहानै उठेर तिम्रो बुवा ठिकै होलान् भन्नुहुन्छ । कहिले सुतिरहेको सपना देख्नुहुन्छ रे त्यो बेला चाँही सान्चो छैन कि के हो भन्नुहुन्छ । ममिले यस्तो भन्दा साह्रै नरमाइलो लाग्छ । 

कहिलेकाहीँ आशा मर्छ कि के हो कुन्नी त्यो बेला चाँहि अब त तिम्रो बुवाको मुख देख्न पाउँदिन जस्तो छ भन्नुहुन्छ । ममीका यस्ता सयौं कुराले हामीलाई झन पीडा दिन्छ । मेरो कान्छो भाइले त बुवाको अनुहार पनि दखेको छैन । बुवा जाँदा भाइ गर्भमा थियो । ६ कक्षाबाट अहिले म पनि बिएड दोस्रो वर्षमा पढ्ने भइसकें । 

ममिको आँखामा सधै आँशु देख्दा आफैं बुवालाई खोज्न हिडौं जस्तै लाग्छ । मलाई सानैदेखि बुवालाई खोज्न कतार जाउँ जस्तो लाग्थ्यो । तर ठूलो भएपछि बुझें बुवा खोज्न सजिलो रहेनछ । आफ्नो बुवा नहुँदा धेरै चिजको अभाव हुने । अरुले सामान्य कुरा गर्दापनि मेरो बुवा नभएरै हेपेको जस्तो लाग्छ । शब्द भन्दा चाँडो त आँशु झर्छ ।

बुवा कुन म्यानपावरबाट जानुभयो, के काम गर्नुहुन्थ्यो केही पनि थाहा छैन । चिठ्ठी चाँहि दोहा कतार लेखेको ठेगानाबाट पठाउनुहुन्थ्यो । बुवा नहुँदा हामी टुहुरा भएका छौ । तपाईंहरुले मेरो बुवालाई देख्नुभएको भए भन्दिनु है हामी कुरिरहेका छौं ।

सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।