सीप सिकेको प्रमाणपत्र देखाएर मात्र वैदेशिक रोजगारीमा, सुरक्षा र तलब बढ्ने विश्वास

 असार २, २०७६ सोमबार १४:४१:११ | उज्यालो सहकर्मी

काठमाण्डौ - तपाईं वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ र सीप सिकेको प्रमाणपत्र छैन भने ख्याल गर्नुहोस् । सरकारले यही असार १५ गतेदेखि वैदेशिक रोजगारीमा जान सीप र दक्षतालाई अनिवार्य गर्दैछ ।

न्यूनतम सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था कार्यान्वयनमा आउन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

असार १५ पछि हाउस वायरिङ तथा इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ तथा क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट तथा टेलरिङ र प्लम्बिङलगायतका लागि वैदेशिक रोजगारीमा जाने कामदारको तालिम र सीप परीक्षण गर्न लागिएको हो । 

वैदेशिक रोजगारीमा जाने कामदारले सीपमूलक तालिम लिएको त्यसको प्रमाणपत्र या कुनै प्रतिष्ठानमा अनुभवमा अनुभवको प्रमाणपत्र पेस गर्नुपर्नेछ । अथवा वैदेशिक रोजागर बोर्डले सिकाइ परीक्षण गरी दिएको प्रमाणपत्र भए पनि हुन्छ । बोर्डले यस्ता युवाहरुलाई लक्षित गरी तालिम पनि सञ्चालन गरेको थियो ।

सीपको प्रमाणपत्र देखाएपछि मात्र श्रम स्वीकृति पाइने विभागले जनाएको छ । तर म्यानपावर व्यवसायीहरू भने यसको विरोधमा छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृतिका लागि अनिवार्य सीप तालिम प्रमाणपत्र पेस गर्नुपर्ने निर्णय स्थगित गर्न माग पनि गरिसकेको छ ।

वैदेशिक रोजगार ऐन नै संशोधन गरी पूर्वस्वीकृति तथा म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीबीच भएको करारपत्रका आधारमा नभई कामदार र रोजगारदाता कम्पनीबीच भएको करारअनुसार अन्तिम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने संघको माग छ ।

तर सरकारले भने सीप नहुँदा विदेशमा असुरक्षा बढेकाले यसलाई अनिवार्य र १५ गतेदेखि कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा जुटिसकेको छ । 

सीपले सुरक्षा र तलब बढाउने विश्वास

वैदेशिक रोजगारीमा जानेमध्ये धेरै कामदार अदक्ष भएका कारण असुरक्षा बढी हुने गरेको छ ।

विभागको तथ्याँकअनुसार गएकाे महिना मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन् ।  उच्च सीप भएका कामदारको भने कम संख्यामा विदेशिएका छन् । वैशाखमा जम्मा १७ जना मात्रै उच्च सीप भएका कामदार विदेश छन् ।

यस्ता कामदार सामान्य मजदुर, हेल्पर, मेसन, निर्माण, सरसफाइ लगायत श्रम गर्न बाध्य छन् । सीप तथा दक्षता आवश्यक नहुने यस्ता क्षेत्रमा असुरक्षा बढी हुने गर्छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीप अनिवार्य गर्दा उनीहरूले व्यवसायजन्य सुरक्षा, राम्रो तलब, मर्यादित श्रम गर्ने वातावरण पाउने सरकारको विश्वास छ ।

सीप सिकेको प्रमाण भएका व्यक्तिको सीपको परीक्षण वैदेशिक रोजगार बोर्डले आफैं गर्नेछ । सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरेकाहरुको अनुभवको प्रमाणपत्र वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको यकिन गर्नुपर्ने छ ।

विदेशमा कुन काममा जाने हो त्यो सीप कानुन बमोजिम अनुमति प्राप्त तालिम प्रदायक संस्थाबाट लिन पनि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विदेश जान चाहने कामदारलाई न्युनतम सीप सिकाएर मात्र पठाउने उदेश्य अनुसार आउँदो वर्षदेखि सीप विकास तालिमलाई सबै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्षण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने आवश्यक तयारी भइरहेको पनि विभागले जनाएको छ । 

सरकारी अधिकारीहरू सीप सिक्दा स्वदेशमा समेत त्यो उपयोगी हुने र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न योगदान पुग्ने तर्क गर्छन् । कतिपय व्यक्ति सीप सिकेर वैदेशिक रोजगारीमा जाँदा श्रमिकले राम्रो पारिश्रमिक पाउनुको साथै सुरक्षित हुने ठान्छन् । हाल वैदेशिक रोजगारीमा दैनिक सात–आठ सय युवा जाने गरेका छन् । 
 

तपाईको प्रतिक्रिया