तीन म्यानपावरको बदमाशी : पूर्व स्वीकृतिविनै साउदी पठाउन होटलमा अन्तर्वार्ता

अन्तर्वार्तास्थलमा भेटियो कुटनीतिक नियोगको गाडी

 असार ४, २०७६ बुधबार २१:४०:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – काठमाण्डौका तीन म्यानपावर कम्पनीले ग्राउण्ड क्लिनरको काममा साउदी पठाउने भन्दै पूर्व स्वीकृतिविनै गैरकानुनी धन्दा गरेको भेटिएको छ ।

काठमाण्डौका फजल ओभर्सिज प्रालि, अलहायात ओभर्सिज प्रालि र मिता ओभर्सिज प्रालिले हज यात्रीका रुपमा साउदीमा एक महिनादेखि ४५ दिनको काम पाउने भन्दै प्रतिव्यक्ति ४५ हजार रुपैयाँसम्म उठाएर होटलमा अन्र्तवार्ता लिइरहेको भेटिएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले जानकारी दिनुभयो ।

गैरकानूनी रुपमा हिजो मंगलबार र आज बुधबार युवासँग अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागको टोलीले छापा मार्दा झण्डै ५५ जनाको स्वीकृति लिएर १२ सय युवालाई लाइनमा राखेर अन्तर्वार्ता लिएको भेटिएको महानिर्देशक भुषालले बताउनुभयो ।

विभागले छोटो अवधि अर्थात ४५ दिनका लागि भिसा नदिने र केही कामदारका लागि पूर्व स्वीकृति लिएको म्यानपावरले पनि लामो अवधि अर्थात २ वर्षकै लागि लिएको उहाँको भनाइ छ ।

‘५० जानको स्वीकृति लिएर हजारभन्दा धेरै युवा लाइनमा किन लगायो, अनि ४५ दिनका लागि भनेर विभागले स्वीकृति पनि दिँदैन,’ महानिर्देशक भुषाल भन्नुहुन्छ, ‘४५ दिनको काममा जानका लागि युवासँग ४५ हजार रुपैयाँसम्म लिएको पाइयो ।’

अन्तर्वार्तास्थलमा भेटियो कुटनीतिक नियोगको गाडी

बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा अन्तर्वार्ता भैरहँदा विभागको टोलीले छापा मारेको थियो । जहाँ कुटनैतिक नियोगको गाडी पनि भेटिएको र त्यहाँ रहेका व्यक्तिले विभागको टोलीलाई आफू साउदीको कन्सलट्यान्ट भएको भन्दै धम्क्याएको पनि महानिर्देशक भुषालले बताउनुभयो ।

‘काउन्सिलर भए परिचय पत्र हेरौं न भन्दा त्यो पनि देखाएनन्, यदि काउन्सिलर नै हो भने पनि त म्यानपावरले अन्तर्वार्ता लिइरहेको ठाउँमा किन नियोगका मानिस गए, कस्तो कुटनैतिक प्रक्रिया रहेछ ?’ उहाँले प्रश्न गर्नुभयो ।

आधिकारिक व्यक्ति हो कि हैन भनेर बुझ्ने समय नमिलेको पनि उहाँले बताउनुभयो । ठूलै गिरोहको संलग्नता भएको आशंका युवालाई झुठो आश देखाएर यस्तो गैरकानूनी कार्य गर्नेमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने महानिर्देशक भुषालले आशंका व्यक्त गर्नुभयो ।

सञ्चालकलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन पत्र काटिएकाले उनीहरु कसरी प्रस्तुत हुन्छन् त्यसपछि थप अनुसन्धान अघि बढाउने पनि विभागका महानिर्देशक भुषालले बताउनुभयो ।

म्यानपावर सञ्चालकले मेडिकल, बिमा लगायतका प्रक्रियाविनै पठाउने भनेपछि युवाको घुईंचो लागेको थियो । ‘युवालाई पूर्व स्वीकृतिविनै उडाउँछौं भन्ने आश देखाएइको रहेछ, यसरी झुटो आश देखाउने र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि छाड्दैनौं,’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया