प्रधानमन्त्री रोजगार कार्यक्रम : कतै गाई धपाउँदै, कतै काम छाड्दै

 असार ७, २०७६ शनिबार १३:५५:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका स्थानीय तहले  प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छन । 

दाङका १०  वटा  स्थानीय तहमा झण्डै २ हजार बढी रोजगारदाता छानेर कामको सुरुवात गरिएको छ । जिल्लाका दश वटा स्थानीय तहमध्ये ८ वटाले कामको थालनी गरेका छन । अन्य दुई वटा स्थानीय तहले पनि काम सुरु गर्ने अन्तिम तयारीमा रहेको जनाएका छन । 

सरकारले बेरोजगारहरुलाई रोजगारसँग जोड्न र श्रमको सम्मान गर्ने उद्देश्यका साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन । उनीहरुमध्ये धेरैलाई सामान्य काममा लगाइएको छ । सडकमा छाडिएका गाई धपाउनेदेखि सडकछेउको फोहोर टिप्ने, सरकारी कार्यालय परिसरमा रहेका घाँस काट्ने जस्ता सामान्य काम रोजगारदातालाई गराउँदा यो कार्यक्रमको आलोचना पनि सुरु भएको छ ।

देशमा काम नपाएर विदेशिने युवाहरुलाई स्वदेशमै रोजगार रहने र काम नपाएका युवाहरुलाई काम दिने विश्वास ठानिएको यो कार्यक्रमको सुरुवाती छाँट हेर्दै विवादित र आलोचितसमेत बनेको छ । राेजगारी गर्नेलाई सरकारले दैनिक ५ सय १७  रुपैयाँ पारिश्रमिक दिने भएको छ । 

शनिबार बिहान दाङको सदरमुकाम घोराहीको व्यस्त मानिने तुलसीपुर चोकमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका केही महिलाले गाई डोर्‍याइरहेको र केहीले धपाइरहेको देखियो । यस्तो रोजगारी नाममात्रको रोजगारी र झारा टार्ने खालको मात्र देखिएको छ  । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराहीमा ३६ वटा आयोजना छानिएकोमा ८ वटामा मात्रै काम भएको कार्यक्रम संयोजक संयोजक शरद पाण्डेले जानकारी दिनुभयो । घोराहीमा मात्रै ४ सय २५ जनाले रोजगारी पाएका छन । 

सरकारले केन्द्रदेखि नै ढिलाइ गरेका कारण यो वर्ष कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको कार्यक्रम संयोजक पाण्डेको भनाइ छ । जेठको ७ गते संघीय सरकारले बजेट दिएका कारण पनि सोचेजस्तो कार्यक्रम बनाउन नसकिएको उहाँले बताउनुभयो । ‘हतारहतार भयो, प्राविधिकले इष्टिमेट गर्नेदेखि बजेट नै ढिलो आयो कसरी राम्रो काम गर्ने’ पाण्डेले कार्यक्रम प्रभावकारी हुन नसक्नुको कारण बताउनुभयो ।  

दाङका अन्य स्थानीय तहमा पनि पनि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको पक्ष त्यति प्रभावकारी र लोभलाग्दो छैन । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले काममा लगाएका रोजगारदाताहरुले गाउँपालिका र स्वास्थ्य चौकी भवन सरसफाइ गर्ने काम गरेका छन् । दुवै कार्यालयमा कार्यालय सहयोगी पनि छन् । उनीहरु फेसबुक चलाएर बस्ने गरेको र प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका रोजगारदाताले कार्यालय परिसर सरसफाइ गरेको भन्दै स्थानीयले आलोचना छन् ।

शान्तिनगर गाउँपालिकाका सातवटै वडाबाट ४४ सय ५१ जनाले आवेदन फाराम भरेको भए पनि तीमध्ये ९९ जना मात्र रोजगारका लागि छनौटमा परेको जानकारी दिएको छ । यस्तै छनोटमा परेकाहरुलाई आवश्यक औजार, सुरक्षा सामग्री र प्राथमिक उपचारका सामग्रीहरु उपलब्ध गराउँदैै गाउँपालिकाका रोजगार संयोजक निमराज सापकोटाले गाउँपालिकाका विभिन्न स्थानका कामका लागि खटाइने बताउनुभयो । छनौटमा परेकामध्ये ७७ जना महिला रहेका छन भने २२ जना पुरुष रहेका छन् ।

शान्तिनगर गाउँपालिका र घोराही उपमहानगरपालिकाको जस्तै जिल्लाका अन्य स्थानीय तहको अवस्था छ । यस्तै कार्यक्रम गर्दै जाने हो भने सरकारले बेरोजगारीलाई एक सय दिनको रोजगारी दिने गरी ल्याएको योजनाले युवा विदेश पलायन रोकिएला त ? सबैको जिज्ञासा यही नै छ । रोजगारीका नाममा पैसा सक्ने काम भएको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना बढ्दै गएको छ । 

डेढ सय बढीले काम छोडे 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाबाट डेढ सय बढीले काम छोडेका छन् ।

उपमहानगरपालिकामा ६ सय जनालाई रोजगार दिइएकोमा एक सय ५५ जनाले काम छोडेको उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा सरसफाइ गर्नेदेखि सामान्य खालको कार्यक्रम गर्न परेका कारण काम छोडेको जनाइएको छ । 

तुलसीपुरमा चारसय ४५ जनाले मात्रै काम गरिरहेका छन् । दलित,असहाय, एकल महिला, अति विपन्न तथा बेरोजगार नागरिकलाई पहिचान गरी रोजगार प्रदान गरिएको थियो ।
 

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • koirala rajendra

    June 22, 2019, 2:06 p.m.

    के हो सामान्य र असमान्य काम। काम नै इज्जत हो/

तपाईको प्रतिक्रिया