भीएलएन प्रणालीमा भ्रष्टाचारको आरोप लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउने तयारी

 असार १०, २०७६ मंगलबार १८:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोगमा मलेसियाका पूर्वउपप्रधान एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदी पक्राउ परेका छन् । उनलाई बुधबार मुद्दा चलाउने तयारी छ ।

मलेसियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेसियन एन्टी करप्सन कमिसन)ले सोमबार हमिदीलाई पक्राउ गरेको हो । हमिदीलाई क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार र शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी  छ ।

हमिदीलाई भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यसअघि हमिदीसहित मलेसियाका सरकारी अधिकारीसँगको मिलेमतोमा नेपाली एजेण्ट कम्पनीले मलेसिया जाने कामदारबाट अनधिकृत शुल्क उठाउने गरेको खुलेको थियो ।

हमिदीलाई मलेसियाको भ्रष्टाचार विरुद्धको आयोगले यसअघि गएको कात्तिकमा आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेसियन रिंगिट बराबरको रकम अवैध रुपमा आर्जन गरेको आरोपमा पक्राउ गरेर उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

भिसा लुअर नेगरा अर्थात भीएलएन नामबाट भिसा सेन्टर खोलेर २०७० सालदेखि २०७५ वैशाखसम्म मलेसिया जाने कामदारबाट अतिरिक्त रकम अशुल्ने गरेको भेटिएपछि सरकारले भीएलएन लगायतका कम्पनीलाई कारबाही  गरेको थियो । नेपालमा संस्था नै खडा गरेर सिण्डिकेट लगाएर आर्थिक शोषण गर्ने भीएलएन सहित माईग्राम्स, बायोमेट्रिक, आईएससी र ओएससीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले अघिल्लो वर्षको जेठमा खारेज गरेपछि मलेसियाको रोजगारी बन्द छ । 

 

तपाईको प्रतिक्रिया