MENU

मेरो कथा मेरो भोगाई

कुवेत आउन नपाउँदा क्यानडा जान श्रीमतीको गहना बेचेको थिएँ

रुपेन हमाल/कुवेत ।

कुरा सन् २०११ अगष्टको हो । त्यतिबेला नेपालमा गर्दै गरेको व्यावसाय चौपट भएपछि विदेशिन बाध्य भएँ । कुवेत आउने तयारीमा म मात्रै एक्लै थिइन । दुई जना साथी पनि थिए । हामी तीन जना कुवेत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौं । 

त्यहाँ कागजपत्र देखाउने ठाउँमा २ जना साथीको काम बन्यो तर मेरो चाहिँ रोकियो । मेरो पासपोर्ट र भिसामा जन्म मिति दुई दिन फरक परेकाले म भित्र छिर्न पाइँन् । ती दुई जना साथीले जान्छौं पनि भन्न सकेनन् जान्नौं पनि भन्न सकेनन । 

स्थिती सबैको त्यस्तै हो त्यसैले मैले नै साथीहरुलाई तिमीहरु जाओ, म पछि आउँछु भनेर साथीहरुलाई बिदा गरें । व्यावहारले पिरोलिएर विदेश जान हिँडेको मान्छे घरमा मात्रै होइन छरछिमेक र साथीहरुसँग पनि बिदा मागेर हिँडेको थिएँ । त्यसैले पनि कुवेत उड्न नपाउँदा मेरा आँखा निक्कै रसाए । 

कतै मिलिपो हाल्छ कि भनेर विमानस्थलमा भेटिनेहरुलाई मेरो समस्या सुनाएँ पनि तर केही उपाय लागेन् । कुवेतमा भएका साथीहरुले एक हप्तामा काम हुन्छ भन्ने आश्वासन दिए । तर एक हप्तामा पनि भएन् । मैले कुवेत जान एक लाख २५ हजार रुपैयाँ पहिल्यै नै बुझाएको थिएँ । त्यो पनि डुब्ने हो कि भन्ने पीरले पनि सतायो । 

यसो गर्दा पो हुन्छ कि, उसो पो गर्दा हुन्छ कि भन्दा भन्दै काठमाडौं बसेको पनि एक महिना बित्यो । त्यतिबेला कहिँ कसैले म्यासेज पो पठाउँछन् कि भनेर दिनमा एक पटक साइबरमा बस्थें । त्यही बेला एक जना दलालले भिजिट भिसामा क्यानडा पठाइदिन्छु भन्यो । 

कुवेत जान नपाएर बिथोलिएको मनले धेरै कुरा सोचेन् । मैले श्रीमतीको गहना बेच्न लगाएर ८० हजार रुपैयाँ र पासपोर्ट बुझाएँ । एक हप्तामा काम हुन्छ भनेको दलालले एक महिना हुँदा पनि काम गरेन । उसले बिरामी भएर अस्पताल आएको छु भन्दै टार्न थाल्यो । 

एक महिनापछि साथीहरुले मेरो भिसाको काम बनेको कुरा सुनाए । तर मसँग पासपोर्ट थिएन । त्यसैले उसलाई पासपोर्ट फिता मागें तर त्यसमा पनि उसले आलटाल गर्न थाल्यो । उसले पैसा नदिने थाहा पाएपछि मैले पैसा चाहिँदैन मलाई मेरो पासपोर्ट दिनु भनें । 

त्यति भनेपछि उसले मलाई ४० हजार रुपैयाँ चेक र पासपोर्ट दियो तर बैंकमा पुगेपछि बाउन्स चेक दिएको रहेछ भन्ने थाहा पाएँ । श्रीमतीको गहना बेचेर दिएको पैसा कसरी छोड्नु त्यसैले तीन चार पटक त्यसकै लागि बैंकमा पुगें । तर खातामा पैसा नै जम्मा नै गरेको रहेछन् । 

उसले पैसा नै नदिएपछि म ८० हजार रुपैयाँ छोडेर कुवेत आएँ । यहाँ राम्रै काम फेला प¥यो । त्यसैले सन् २०११ देखिको कुवेतको बसाई अहिलेसम्म पनि निरन्तर छ । यहाँको बसाई लम्बिँदै जाँदा म कामदारमा मात्रै सीमित भइनँ । दुई वर्षपछिदेखि परदेशबाट पनि सामाजिक काम गरिरहेको छु । सामाजिक काम गर्दा पाएका स्याबासी र गल्ती नगर्दा नगर्दै पाएका आलोचना अर्को बसाईमा साट्ने छु । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।