वैदेशिक रोजगारीमा जाँदा ठगिनुमा हाम्रै कमजोरी छ

 असार २३, २०७५ शनिबार १६:१८:१५ | उज्यालो सहकर्मी

मोहन दाहाल, दमक झापा, हाल आबुधावी/ युएई 

म अहिले अल वासिता इमिरेट्समा अपरेशन म्यानेजरको रुपमा काम गरिरहेको छु । ८ वर्ष अघि म स्टोर किपरको रुपमा आएको थिएँ । ८ वर्षको बसाईंले परदेशका बारेमा धेरथोर बुझ्ने भएको छु । 

प्राय जसो हरेक दिन वैदेशिक रोजगारीका आउनेहरुलाई कतै दलालले, कतै एजेण्टले त कतै म्यानपावरले ठगे भन्ने खबर आइरहन्छ । अनि यो सरकारले गर्दा भएको भन्ने कुरा पनि सँगै आउँछ । तर मलाई चाहिँ यस्ता खबर सुन्दा यसमा हामी अर्थात वैदेशिक रोजगारीमा आउने व्यक्तिको पनि कमजोरी छ जस्तो लाग्छ । 

ठगी रोक्न जनचेतना बढाउनुपर्यो भन्छौं । तर साँच्चै चेतना नभएकैले ठगिएका हौं कि बुझ्दा बुझ्दै र जान्दा जान्दै आफ्नै कारणले ठगिएका हौं एक पटक सोचौं त । 

सरकारले विदेश जाने बेलामा एजेण्ट, दलाल र म्यानपावरलाई १० हजार रुपैयाँ भन्दा धेरै पैसा नदिनु भनेको छ । तर हामी म्यानपावरले दिने आश्वासनमा परेर एक लाख, दुई लाख रुपैयाँ दिन्छौं अनि रसिद चाहिँ दश हजारकै समाउँछौं अनि यसमा सरकारले के गरोस् ।

पछि हामीलाई समस्या पर्दा यही प्रमाणकै आधारमा त हो सरकारले न्याय दिने अनि त्यतिबेला जम्मा दश हजारकै कुरा आइहाल्छ । सरकारले जानकारी गराउँदा गराउँदै पनि हामी त्यसको पालना गर्दैनौं भने हाम्रै कमजोरी भएन र ? 

यदी एक जनाले म्यानपावरले भनेको गलत कुरालाई राम्रोसँग हेरेर म यसमा जान्न, यस्तो काम गर्दिन भन्न सक्ने हो भने आजको एक जना भोलि हजारौं हुन्छ । 
हामीलाई विदेश पुग्ने मात्रै हतारो हुन्छ । सम्झौता पत्र राम्रोसँग हेर्दैनौं । म्यानपावरले यहाँ साइन गर्नुस् त भन्ने बित्तिकै साइन गर्छौं । यदी हामीले राम्रो शिक्षा पाएका थियौं भने काम सुरु गर्नुभन्दा पहिले गरिने सम्झौता पत्र भनेको खेलाची होइन यसलाई राम्रोसँग पढ्नुपर्छ भन्ने कुरा थाहा पाउँथ्यौं । तर हामी त्यसो गर्दैनौं । 
कसै कसैले तलब कति हो भनेर हेर्न खोज्दा म्यानपावरका प्रतिनिधिले त्यहाँ नहर्नु न पहिला हस्ताक्षर गर्नु भनेपछि जान नदिने पो हो भन्ने सोचेर हतारमा हस्ताक्षर गर्छौं । तर तपाईंले सम्झौता पत्र राम्रोसँग हेर्दैमा र त्यसका बारेमा स्पष्ट हुन खोज्न विदेश जान नपाउने वा नदिने भन्ने हुँदै हुँदैन ।

त्यो त तपाईंको अधिकार हो । यदी तपाईं आफ्नो अधिकार लिने कुरामै चुक्नुभयो भने पछि समस्यामा परियो भने तपाईंका लागि कसले लडिदिन्छ । हामी सरकार सरकार मात्रै भन्छौं । तर सरकारलाई हामीले नै यथार्थ कुरा लुकाइरहेका छौं ।

अहिलेको जमानामा सबै कुरा मोबाइलमा, नेटमा हेर्न पाइन्छ तर हामी हेर्दैनौं अनि म्यानपावरले जे भन्छ त्यही मानेर धेरै तलबमा हस्ताक्षर गरेको सम्झौता पत्र एयरपोर्टमै च्यातेर जम्मा ४ सय दिर्हाम लेखिएको सम्झौता पत्र चाहिँ बोकेर आउँछौं । अनि सरकारले गर्दिएन भन्छौं । यो जायज हो र ? त्यसैले आफैं सचेत हुनुपर्छ । 

यस्तै अवस्थामा विदेश आइयो भने यहाँ आइसकेपछि सोचेको जस्तो विदेश पाइँदैन । त्यसले तनाव हुन थाल्छ । त्यसैले आउनुभन्दा अगाडि नै सचेत हुनुपर्छ । हामी आफैं जिम्मेवार बन्यौं भने समस्यामा पर्नबाट जोगिन सकिन्छ । 

(मोहन पौडेलसँगको कुराकानीबाट)

4 Comments

  • लोकेश कोईराला

    July 9, 2018, 9:53 p.m.

    सहि कुरा हो मोहन सरको

  • sarath thamsuhang

    July 8, 2018, 7:28 a.m.

    सहि कुरा हो सर हो यसरी नाइ प्रतिकृया जान्कारि दिदाइ आउनुहोस अलिकती हामी लगाएत सम्पुर्ण दाजु भाइ दिदी बहिनी मा बुझ्न सक्ने मनोस्थिती को मौका मिल्न सक्छ सर धन्यबाद सर

  • शेरा गुरुङ

    July 7, 2018, 4:42 p.m.

    tapai ko sujab ramro lago but dalal lai paisa na khui kan bidesa jan painna k garni ta sir

  • शेरा गुरुङ

    July 7, 2018, 4:41 p.m.

    tapai ko sujab ramro lago but dalal lai paisa na khui kan bidesa jan painna k garni ta sir

तपाईको प्रतिक्रिया