MENU

मेरो कथा मेरो भोगाई

परदेशका १८ वर्ष: काम त पाइयो तर भनेजस्तो कमाई भएन

भिमबहादुर दर्लामी मगर/कमलामाई नगरपालिका २ सिन्धुली ।

जीवनको उर्जाशिल समय मैंले परदेशमा नै बिताएको छु । २२ वर्षको उमेरमा परदेशिएको थिएँ । झण्डै २० वर्ष अघि विदेश जाने भनेर खाडीका देशमा जाने चलन खासै थिएन । गाउँका साथीभाइ आफन्त सबैजना भारत जान्थे । 

म पनि उनीहरुकै साथ लागेर कोलकत्ता पुगें । भर्खरै गाउँबाट भारत पुग्दा काम के गर्ने, कसरी गर्ने पीर पनि लागेको थियो । मैले सुरुमा सेक्युरिटी गार्डको काम पाएँ । एक दुई वर्ष त्यही काम गरें । त्यसपछि मार्केटिङको काम गर्न थालें । बजारबाट पैसा उठाएर ल्याउन पथ्र्यो । बिस्तारै मार्केटिङ म्यानेजर भएँ । म्यानेजर भएपनि मेरो कमाई भनेका १० देखि ११ हजार रुपैयाँ मात्रै थियो । 

भारतमा ११ वर्ष बिताएँ । बिहान बेलुका हातमुख जोर्न बाहेक एक पैसाको पनि जोहो गर्न सकिन । भारतमा सँगै काम गर्ने साथीको आफन्तले विदेश पठाउने काम गर्दा रहेछन् । साथीले ‘कि खाडी जाने त’ भन्यो । भारतमा भन्दा अलि कमाई हुने भए जहाँ भएपनि जाउँ जस्तो लाग्यो । घर आएँ । साथीका आफन्तसँग चिनजान भयो । उनले मलाई मलेसिया पठाउने भए । 

२०६३ सालको नयाँ वर्ष मलेसिया जाने हवाइजहाजमा मनायौं । म सहित मलेसिया हिँडेका ९ जना थिए । जहाजमा मनाएको नयाँ वर्ष सम्झदा अहिलेपनि साह्रै रमाइलो लाग्छ । रमाइलो गर्दै मलेसिया पुगियो । 

चाइनिजको खटाईमा काम गर्न पर्ने । त्यो पनि मेसिन चलाउने काम । एक छिन पनि बस्न पाइदैनथ्यो । उभिएर काम गर्न पर्ने । मेसिन त एक छिन पनि रोकिदैनथ्यो । त्यस्तो मेसिनमा कामगर्दा काम बिग्रिन्थ्यो । चाइनिजले नराम्रोसँग गाली गर्थे ।

कमाइपनि महिनाको ४८१ रिंगिट हुन्थ्यो । १२÷१३ घण्टा उभिएर काम गर्दा श्वास रोकिएला जस्तो हुन्थ्यो । तर कमाइ भने हात लाग्यो शुन्य ।

एकदिन त सामान काट्दा बिग्रियो । अनि चाइनिचले ‘त घर जा’ भनेर धकेलिदियो । कोठामा आएर सुते । त्यो बेला साह्रै दुःख लाग्यो । बाध्यता काम गर्नै प¥यो । भोलिपल्ट काममा गएँ । त्यसको केही समय पछि म नेपाल फर्किएँ । काठमाडौंको विमानस्थलमा झर्दा एक पैसा पनि साथमा थिएन । 

मलेसियामा भएको एक जना साथीसँग ८ सय ऋण मागें । उसले पठाइदियो । त्यही पैसाले सामान किनेर म घर गएँ । त्यसको एक वर्षमा फेरि पहिलेकै दलालबाट एक लाख ४० हजार बुझाएर  बहराइन उडें । बहराइनमा सेक्युरिटी गार्डको काम गरें । महिनाको ५० हजार रुपैयाँ जस्तो कमाई हुन्थ्यो । दिनभरी काम गरेर फर्कियो बेलुका आफैं पकाएर खानु पर्दा दिक्क लाग्थ्यो ।

काम गर्ने ठाउँमा सकैले राम्रो भन्थे । काम राम्रो गर्छ ज्ञानी मान्छे भन्थे । त्यतीबेला चाँहि खुसी लाग्थ्यो । बहराइनमा ४ वर्ष विताएर म घर फर्किएँ । अहिले गाउँमा आफूले विदेशमा भोगेका दुःखसुख सुनाउने जागिर पाएको छु । सुरक्षित आप्रवासन (सामी) परियोजनामा रिटर्नी भोलेन्टियरको रुपमा काम गरिरहेको छु ।

यो कामले मलाई आफ्नो गाउँका मानिससँग अझ नजिक बनाएको छ । गाउँठाउँमा पहिचान पनि दिएको छ । साथै विदेशको बारेमा नबुझि जान लागेका युवालाई वैदेशिक रोजगारको बारेमा जानकारी दिन पाउँदा साह्रै खुसी लाग्छ ।

(रिटर्नी भोलेन्टियर भिमबहादुर दर्लामी मगरसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।