MENU

मेरो कथा मेरो भोगाई

कामदारकै रुपमा विदेश आएर पनि नेपालीलाई सहयोग गर्न पाउँदा खुशी छु

रुपेन हमाल/कुवेत

कुवेत आएको दुई वर्ष भएको थियो । कुवेत आउने बेलामा कागजी समस्याले भनेको समयमा आउन नपाउँदा क्यानाडा जाने सुरमा श्रीमतीको गहना बेचेको पैसा पनि सिध्याएँ । यहाँ आएको दुई वर्षसम्म म पनि अरु जस्तै एउटा कामदारमा मात्रै सीमित भएँ । 

तर त्यसपछि अर्थात २०१३ मा अग्रज दाइहरुले लुम्बिनी समाज नेपाल, कुवेत नाम राखेर संस्था खोल्ने तयारी गर्नुभएछ । त्यसमा मलाई पनि सहभागी गराउने कुरा गर्नुभयो । यसले मलाई कुवेतमै रहेका अरु साथीहरुसँग मात्रै होइन् कुवेतमा रहेको नेपाली दूतावासका कर्मचारीसँग पनि चिनजान गर्ने मौका पाएँ । 

स्थापनाकालमा सदस्यमा बसेको मलाई ६ महिनापछि सचिव र एक वर्षपछि महासचिवको जिम्मेवारी दिइयो । यो बिचमा हामी कुवेतमा भन्दा पनि नेपालको सामाजिक काममा सक्रिय भयौं । हामीले गुल्मीमा आगलागी हुँदा समाजकै अग्रसरतामा १ लाख ४० हजार रुपैयाँ सङ्कलन गरेर सहयोग गर्‍यौं ।

त्योसँगै अर्घाखाँचीका केही ठाउँमा पनि म आफैं पुगेर विभिन्न कामका लागि सहयोग रकम हस्तान्तरण गरें । नेपाल पुगेर कुवेत फर्किएपछि नेपालमा विरामी भएर उपचारमा समस्या भएका दुई जनालाई पैसा उठाएर पठायौं । त्यसपछि भने हामी कुवेत आएर समस्यामा परेका नेपालीलाई सहयोग गर्ने काममा लागिरहेका छौं । 

त्यतिबेला रुपन्देहीकी तारा थापा एक वर्षदेखि अस्पतालमा रहेको थाहा पायौं । उहाँलाई सहयोग आवश्यक भएको थाहा पाएपछि दिनरात मेहनत गरेर ५ लाख रुपैयाँ उठाएर उहाँलाई घर पठायौं । उहाँका लागि सहयोग सङ्कलन गर्ने क्रममै नवलपरासीको बर्दघाटकी एक जना छात्रा पैसा नभएर पढाइ छोड्ने अवस्थामा पुगेको र उनी पढ्ने विद्यालयका विद्यार्थीले बाटो बाटोमा सहयोग सङ्कलन गरेका थाहा पाएपछि एक हप्तामा १ लाख २० हजार रुपैयाँ उठाएर उनका लागि नेपाल पठाइदियौं । 

त्यस लगत्तै एक जना नेपाली आदान हस्पिटलमा बेबारिसे अवस्थामा रहेको खबर आयो । उहाँ भागिरथ चापागाईं हुनुहुँदो रहेछ । उहाँलाई भेटेपछि भिसाको म्याद पनि सकिएको थाहा पायौं । उहाँका लागि चाहिने सहयोग जुटाउने काम सँगै पासपोर्ट बनाउनतिर पनि लाग्यौं । 

भिसाका लागि प्रक्रिया पुरा गरेर नेपाल पठाउन कागज बनाउन थालेपछि उहाँलाई नेपाल पुर्‍याउन ११ लाख रुपैयाँ लाग्ने बतायो ट्राभल एजेन्सीले । त्यसपछि भने लुम्बिनी समाज नेपाल, कुवेतको अगुवाईमा सहयोग सङ्कलन गर्न सुरु गर्‍यौं । 

त्यतिञ्जेलसम्म हामी आबद्ध संस्थाले अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्छ भन्ने कुरा धेरैले थाहा पाइसकेका रहेछन् । त्यसैले कोही अप्ठ्यारोमा पर्ने बित्तिकै हामीलाई खबर आउन थाल्यो । भगिरथ दाइका लागि सहयोग जुटाउने क्रममै एक जना नेपाली १० वर्षदेखि घर फर्किन नपाएको कुरा थाहा पाएपछि ५ हजार रुपैयाँ खर्च गरेर उहाँलाई भेट्न पुगें ।

नवलपरासीको बर्दघाट नगरपालिकाका मीनराज भुसाललाई भेटेपछि उहाँलाई उद्दार गरेर दसैंको मुखमा नेपाल पठायौं । उहाँ भन्दा अघि भेटेका भगिरथ चापागाईंलाई भने घर फर्काउने प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ । उहाँलाई नेपाल पठाउने चाहिने पैसा चाहिँ जुटिसकेको छ । अब कागजी प्रक्रिया मात्रै बाँकी छ ।

केही दिन अघि मात्रै ७ महिनादेखि भागेर काम गर्दा यातना भोग्न बाध्य एक जना बहिनीलाई पनि उद्दार गरेर पठायौं । म कुवेत आउँदा अरु जस्तै कामदारका रुपमा आएको थिएँ । यहाँ आइसकेपछि भाग्यले नै भनौं म जसरी नै आएर यहाँ समस्यामा परेका नेपालीलाई सहयोग गर्न पाइरहेको छु ।

हुन त कहिलेकाहिँ १२ घण्टासम्म काम गर्नुपर्ने म त्यो काम सकेर अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्छु । मैले एकछिन दुःख पाएर के भयो र । बिरामी भएर थलिएकाहरु हिँड्न सक्ने भएर घर पुगे । वर्षौंसम्म परिवारसँग भेट्न नपाएका मीनराज भुसाल जस्ता दाजुभाईले परिवार भेट्न पाए । यसमै खुशी छु । 

अहिले पनि धेरै नेपाली दाजुभाईहरु अप्ठ्यारोमा परेका नेपालीहरु बारेमा मसँगै संस्थाका साथीहरुलाई जानकारी गराइरहनुहुन्छ । सकेसम्म उहाँहरुलाई सहयोग गर्ने नै छौं । 

(रुपेन हमाल लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष हुनुहुन्छ ।)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।