MENU

मेरो कथा मेरो भोगाई

सम्झना/समिक्षा : गर्नुपर्ने तर गर्न नसकेका कामहरु थुप्रै रहे

पेम्बा लामा/पूर्वसांसद्, नेकपा एमाले ।

२०५१/५२ देखि कार्पेट क्षेत्रमा रहेको अन्याय, अत्याचार र विसंगतीलाई हटाई समतामूलक समाज सिर्जना र श्रमजीवि वर्गलाई समृद्धि तर्फ डोर्‍याउने लक्ष्यका साथ नेपाल स्वतन्त्र मजदुर संगठनको प्रथम सम्मेलनबाट निर्वाचित भएको थिएँ । 

विभिन्न पद र जिम्मेवारी पुरा गर्दै श्रमजीवि वर्गको हितमा काम गर्दै नेपाल ट्रेड यूनियन महासंघको पाँचौ महाधिवेशनबाट उपमहासचिवको जिम्मा पाएको थिएँ । बुद्धि, विवेक, श्रम र सिर्जनाबाट आफ्नो जिम्मेवारी पूरा गर्न कटिवद्ध भएकोले महासंघले २०७० सालमा सम्पन्न संविधानसभा सदस्यका लागि नेकपा एमालेलाई मेरो नाम सिफारिस गरेको थियो । 

जसका कारण जनचाहना अनुरुप संविधान निर्माण, संविधान कार्यान्वयनका लागि नीति तथा कानून निमार्णका साथै समृद्ध, शान्त र समाजवाद उन्मुख नेपाल निर्माणको दायित्व पूरा गर्न २०७० माघ ७ गते देखि २०७२ असोज ३ गतेसम्म संविधानसभाको सदस्य र २०७४ असोज २८ गतेसम्म (२०७४ माग ७ गतेसम्म कार्यकाल भएता पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा भई असोज २९ गते समानुपातिक तर्फको उम्मेदवार मनोनयन भएकोले तीन महिना १० दिन अगाडि नै कार्यकाल समाप्त हुने) रुपान्तरित व्यवस्थापिका संसदको सदस्य भएर काम गर्ने अवसर प्राप्त भयो ।

यसरी जीवनमा पहिलो पटक खास क्षेत्र, समूदायको मात्र नभई देश र नागरिकको सेवा गर्ने मौका प्राप्त भयो । जसलाई पूर्ण इमान्दारीका साथ पुरा गर्ने प्रयत्न गरें । संविधानका धाराधाराको विश्लेषण, समर्थन विरोध र संशोधनमा कुनै कसर बाँकी नराखी काम गर्ने प्रयत्न गरें । कुनै प्रयास सफल भए, कुनै विफल । 

सहयोग र विरोधका बिच आफ्ना कामलाई अगाडि बढाउँदै जाँदा नेकपा एमाले र विभिन्न दलका माननीय सदस्यहरुले व्यक्त गर्नुभएको बिचार र सद्भाव देखेर मेरा प्रयत्न सफल भएको अनुभव गरेको छु । यद्यपि गर्नुपर्ने तर गर्न नसकेका कामहरु थुप्रै रहे ।

सरकारले ल्याएको विधेयकमा कुनै परिवर्तन हुँदैन, जस्ताको तस्तै पारित हुन्छ भन्ने अनुभवीहरुका विचार र त्यस विपरित उपयुक्त ढंगले तर्कसंगत विषयहरु राख्दा पाएका सफलताले निरन्तर प्रयत्न आवश्यक हुने कुरालाई अझ दृढ बनाएकोछ । तर, त्यसका लागि संयुक्त पहल र संगठित आवाजको महशुस सबैभन्दा खड्केको विषय हो । 

एउटै पदका व्यक्तिबिच विभिन्न आधारमा गरिने व्यवहार र कतिपय व्यक्तिहरु हितसमूहको विभिन्न प्रभावमा परेर गरिने व्यवहारका कारण पनि समयमा सम्पूर्ण काम नसकिएको महशुस र त्यस्ता व्यक्तिहरुको पहुँच सबैभन्दा तितो यथार्थ र बिझ्ने विषय बनेको छ । जसले भविष्यको राजनीतिक र सामाजिक धारमा नकारात्मक प्रभाव पर्ने निश्चितप्रायः छ । 

त्यसलाई चिर्नका लागि निष्ठाको राजनीति र राजनीतिलाई नागरिक, समाज र देशको हित अनुकुल बनाउनु आवश्यक छ । मानव सचेत जाति भएकोले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने विषयतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु । साथै, मलाई सफल बनाउनका लागि सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद् ।

लामाले रुपान्तरित व्यवस्थापिका संसद्मा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य भएर काम गर्नुभएको थियो । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।