MENU

मेरो कथा मेरो भोगाई

यसरी मैले विदेश जाने सोच त्यागें

बसन्त राई/खोटाङ ।

म त्यति विदेश जाने सोचमा थिएँ । आफ्नो धेरै माटोबारी थिएन् । ६ जनाको परिवार चलाउनु पर्ने जिम्मेवारी जेठो छोरो भएकाले मेरै काँधमा थियो । त्यसैले विदेश जान पाए म सहित परिवारको अवस्था सुध्रिन्थ्यो कि भन्ने लाग्यो । 

त्यसैले कहाँ जाने अनि को मार्फत जाने भनेर बुझ्दै थिएँ । त्यति नै बेला हाम्रो गाउँमा वित्तीय साक्षरता कक्षा हुने खबर पाएँ । यो कक्षामा विदेश जानेहरु, फर्किएका आएका र उनीहरुको परिवारलाई फाइदा हुने कुरा सिकाइने भनेपछि म पनि गएँ ।

साँच्चै त्यहाँ त विदेश गएर फर्किएका र उनीहरुका परिवारलाई मात्रै होइन् विदेश जानेहरुका लागि चाहिने कुरा सिकाइँदो रहेछ । विदेश जाने पैसा लगानी गरेर गाउँमै गर्न सकिने कामका बारेमा जानकारी पाएँ । 

त्यो कक्षामा उहाँहरुले थोरै पैसा हुनेहरुले बाख्रा, कुखुरा पालेर अनि व्यावसायिक रुपमा खेती गर्ने हो भने विदेशमा दुःख गर्न जान पर्दैन भनेपछि मेरो मन फेरियो । मैले २०७२ सालमा ७० हजार रुपैयाँ लगानी गरेर बाख्रा पाल्न थालें । के तरिका मिलेन कुन्नि त्यसबाट राम्रो आम्दानी गर्न सकिन ।  

त्यसको १ वर्षपछि ६० हजार रुपैयाँ लगानी गरेर कुखुरा पालें । ऋण लिएर बाख्रा र कुखुरा पाल्न थालेको थिएँ । कुखुराबाट त्यो ऋण तिरेर पनि ५० हजार रुपैयाँ नाफा भयो । त्यसले मलाई हौस्यायो । 

२०७४ साल लागि सकेपछि मैले एउटा पोखरीमा माछा पनि पाल्न थालें । अहिले त बाख्रा, कुखुरा अनि माछाबाट महिनाको एक लाख रुपैयाँ कमाइ रहेको छु । अब यही व्यावसायलाई बढाउने मेरो सोच छ । अनि भइरहेको खेतीलाई पनि व्यावसायिक रुपमा गर्ने योजना बनाएको छु । त्यसैले अलैंची पनि लगाएको छु । 

२ वर्षमा मैले गरेको प्रयोग सफल हुँदै गएको छ । परिवारसँगै बसेर पनि विदेशमा सामान्य कामदारले कमाउने २०/३० हजार रुपैयाँ भन्दा यही तीन चार गुना बढी कमाइ हुने रहेछ । त्यसैले किन विदेश जाने भन्ने भएपछि मैले विदेश जाने सोच त्यागें । 

(प्रस्तुती : बिनिता राई, सामाजिक परिचालक , बालसेवा समाज नेपाल, नेर्पा खोटाङ) 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।