‘नेपाल चिहानको देश होइन’

 साउन ३, २०७६ शुक्रबार १५:३०:५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने धेरै नेपालीको अवस्था हेमन्त रानाको गीत ‘चालिस कटेसी रमाउँला’ सँग मेल खान खोज्छ । शरीरमा जाँगर र जवानी रहेसम्म विदेशमा काम गर्ने । जब शरीर शिथिल हुन्छ, त्यहाँको कम्पनीले पनि अयोग्य ठहर्‍याउँछ, अनि स्वदेश फर्किने र परिवारसँग बसेर जिन्दगी बिताउने ।

वैदेशिक रोजगारीमा जानु कसैको पनि रहर होइन । प्रायः सबै बाध्यता र जिम्मेवारीले थिचिएर वैदेशिक रोजगारीमा जान्छन् । आफ्नो सक्रिय जीवन विदेशी भूमीमा बिताउँदा आफ्नो र परिवारको गर्जो त टर्ला । तर देश निर्माण गर्ने दायित्वबाट भने पछि परिन्छ ।

धनगढीका त्रिलोकराज पनेरुलाई यो दायित्व गुमाउनुहुन्न भन्ने लाग्यो । कोरियामा पाँच वर्ष बसेर नेपाल आएपछि कामको राम्रो अवसर आउँदा पनि उहाँ फर्केर जानुभएन । आफ्नो जवानीलाई स्वदेशमै खर्चिने सोच्नुभयो ।  

‘आफूले देश नबनाए कसले बनाउँछ भन्ने लाग्यो’ पनेरुले भन्नुभयो, ‘त्यतिबेला आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोचिसकेको थिएँ, त्यही भएर मलाई फर्केर जान मन लागेन ।’ उहाँ कोरियाको आकर्षक कमाइ छाडेर नेपालमै उद्योग गर्न थाल्नुभयो । अहिले उहाँको उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

कोरिया यात्रा 

काठमाण्डौमा अर्थशास्त्रमा एमए पढ्दै हुनुहुन्थ्यो । प्रथम वर्ष राम्रै अंक ल्याएर उत्तीर्ण हुनुभएको थियो । सरकारले युवालाई पहिलोपटक कोरिया पठाउने भयाे । कोरिया जान ईपीएस परिक्षा दिनुपर्ने भएपछि धेरै युवा पढाइ छाडेर ईपीएसको तयारी गर्न थाले । त्यही हुलमा मिसिनुभयो, त्रिलोक पनि । घरकाे समस्याले उहाँलाई पढाइ भन्दा पनि काेरिया जानु महत्वपूर्ण लाग्याे ।

बुवा गाउँमै बसेर राजनीति गर्नुहुन्थ्यो । पार्टीका नेताहरुसँग आउजाउ गर्नुहुन्थ्यो । कमाइ खासै केही थिएन । धनगढीको चौराहामा एक विघा जग्गा थियो । त्यही बेचेर त्रिलोकका बुवाले घर बनाउन थाल्नुभयो । तर अनुमान गरेकोभन्दा घरको खर्च बढी हुने भयो ।

त्यहीबेला त्रिलोककी आमा बिरामी पर्नुभयो । बनाउँदा बनाउँदै घरको काम रोकियो । त्यसपछि उहाँले बैंकबाट दश लाख रुपैयाँ जति ऋण निकाल्यो । त्यसको किस्ता चुकाउन पनि हम्मे हम्मे थियो । त्यहीबेला धनगढीकै कैलाली बहुमुखी क्याम्पसबाट स्नातक सकेर त्रिलोक एमए पढ्न काठमाण्डौ आउनुभएको थियो ।

काठमाण्डौमा बसेर पढिरहेको बेला त्रिलोकका एकजना दाइले सल्लाह दिए, ‘ए भाइ नेपालमा डिग्री पढेर के गर्छस्, नेपालमा केही पनि अवसर छैन हेर, सरकारीमा नाम निकालेर अधिकृत नै भए पनि घुस नखाएसम्म केही पनि कमाउन सकिंदैन । त्यही भएर म कोरियन भाषा सिक्दै छु, तँ पनि पढ ।’ 

काठमाण्डौमा बसेर लोकसेवाको तयारी गर्ने र मास्टर सकाउने सोच थियो त्रिलोकको । तर घरको अवस्थाले पिरोलिरहन्थ्यो । दाइको यो सल्लाहले उहाँको मनमा चिसो पस्यो । हो क्यारे भन्ने लाग्यो । अनि सुरु भयो कोरियन भाषाको नियमित कक्षा ।

पहिलो पटकमै नाम निस्कियो । अनि ११ वर्षअघि सन् २००८ मा कोरिया जानुभयो ।

‘पाल्ली पाल्ली’को ज्ञान

कम्प्युटरको ज्ञान थियो । त्यसैले कोरिया जानको लागि आवेदन भर्दा त्रिलोकले कम्प्युटर सम्बन्धी काम रोज्नुभएको थियो । तर त्यहाँ गएर कम्प्युटरको काम मिलेन । 
आफ्नो घर बनाउँदा एउटा इँटा नबोकेका त्रिलोकलाई कोरियामा पहिलो काम नै इँटा बोक्ने र गिटी बालुवाको काम गर्नु पर्ने भयो । 

‘राम्रो काम पाए ठिकै छ, नत्र जस्तो काम पनि गर्छु भन्ने मानसिकता बनाएर गएको थिएँ, बाध्य भए पनि गर्नुपर्यो’, उहाँले भन्नुभयो, ‘पाल्ली पाल्ली भन्दै पटक पटक सुपर भाइजर कराउँथ्यो, रिस त उठ्थ्यो नि पछि त्यही शब्द मिठो लाग्न थाल्यो ।’

त्रिलोकका अनुसार कोरियामा गर्नुपर्ने भन्दा बढी काम गरे पनि ‘पाल्ली पाल्ली’ भन्न छाड्दैनन् । उहाँलाई पनि यो शब्दले छोयो । नेपालीमा त्यसको अर्थ ‘चाँडो गर चाँडो’ भन्ने हुन्छ । यसै शब्दले उहाँलाई मेहेनती बन्नुपर्छ भन्ने गहिरो पाठ सिकायो ।

नेपालमा नदेखेको आफ्नै जाँगरलाई त्रिलोकले कोरिया गएपछि देख्नुभयो । ६ महिना त्यहीँ काम गर्नुभयो । त्यहाँ महिनाको ७० हजार रुपैयाँ कमाई हुन्थ्यो । ६ महिनापछि उहाँले त्यो काम छोड्नुभयो र गाडीको सिटभित्रको स्पञ्ज बनाउने कम्पनीमा जानुभयो । त्यहाँ पनि एक वर्ष १० महिना काम गर्नुभयो । त्यहाँ कमाइ मासिक डेढ लाख रुपैयाँ जति हुन्थ्यो ।

कोरियामा बस्ने अवधी सकिएको थिएन । काम चलिरहेको थियो । फेरि काम गरिरहेको कम्पनी छाडेर अर्को कम्पनीमा जानुभयो । फरक फरक कम्पनीमा काम गर्दा नयाँ कुरा सिक्न पाइन्छ भन्ने उहाँलाई लाग्थ्यो । 

‘मलाई त्योभन्दा बढी कमाउने र फरक काम सिक्ने छटपटी हुन्थ्यो, त्यही भएर म एउटै कम्पनीमा टिक्न सकिनँ’ उहाँले भन्नुभयो ।

त्यसपछि छनाङ भन्ने ठाउँमा कारको एयर ब्याग बनाउने कम्पनीमा दिन र रात गरेर ३ वर्ष १० महिनाभन्दा बढी काम गर्नुभयो । ७० हजारबाट सुरु भएको उहाँको कमाइ मासिक २ लाख रुपैयाँ पुगिसकेको थियो । कोरिया बसाइको समय पनि सकियो । ४ वर्ष दश महिना कोरियामा बसेर उहाँ फर्किनुभयो । त्यतिबेला उहाँको उमेर ३० वर्ष भएको थियो ।

फेरि पनि उहाँलाई कोरिया जान सजिलो थियो । तर उहाँलाई आफ्नो अवस्था हेमन्त रानाको गीतझैँ बनाउनु थिएन । शरीरमा जवानी र जाँगर छँदै वैदेशिक रोजगारीबाट फर्केर उहाँले आफ्नै देशमा केही गर्छु भन्ने अठोट लिनुभयो ।

देशको लागि केही गर्ने अठाेट

कोरियाबाट फर्केपछि फेरि उतै गएको भए त्रिलोक ४० वर्षमा नेपाल फर्किनुहुन्थ्यो । त्यहाँ कमाएको पैसा बैंकमा राखेर त्यसैबाट आउने ब्याजमा घरधन्दा चलाउन पनि सकिन्थ्यो । तर विदेशमा कमाएको धन र सीपको सदुपयोग स्वदेशमै गर्नुपर्छ भन्ने कुराले उहाँलाई फर्किएर फेरि कोरिया जान दिएन । आफ्नै देशमा व्यवसाय गर्छु भन्ने अठोट त गर्नुभयो । तर सुरुमा कस्तो व्यवसाय गर्ने भन्ने उहाँलाई थाहा थिएन । 

व्यवसाय गर्नको लागि थुप्रै विकल्पहरु खोज्दै जाँदा उहाँलाई गार्मेन्ट उद्योग सञ्चालन गर्न उपयुक्त लाग्यो । यसको लागि अध्ययन गर्नुभयो ।

‘के कति गार्मेन्ट उद्योगहरु छन्, तिनीहरुमध्ये कति बन्द भए, कति सञ्चालनमा छन्, बन्द किन भए, बत्तिको समस्या के कस्तो छ भनेर पाँच महिनाजति अध्ययन मात्रै गरेँ’, काम थाल्दाको अनुभव बाँड्दै उहाँले भन्नुभयो, ‘साथीहरुले जोखिम मात्र हुन्छ नगर भन्थे, तर त्यतिबेला मलाई म चानचुने मान्छे होइन, म जोखिम मोल्न सक्छु भन्ने लाग्थ्यो ।’

कोरियाबाट फर्केको लगभग एक वर्षपछि त्रिलोकले खोल्नुभयो, आलोक गार्मेन्ट उद्योग । यो उद्योग धनगढीमा सञ्चालन गरेको पाँच वर्ष भयो । पाँचवटा मेसिन र पाँच जना राखेर सुरु गरेको उद्योगमा अहिले १२ वटा मेसिन छन् । प्रत्यक्ष रुपमा १५ जनाले रोजगारी पाएका छन् । आठ लाख रुपैयाँ लगानीमा सुरु गरेको उद्योगको पूँजी २५ लाख रुपैयाँ पुगिसकेको छ । 

उद्योगले ट्राउजर, हाइनेक, खेलाडीको कपडा, टिसर्ट आदी कपडाहरु उत्पादन हुन्छन् । सुरुमा आफ्नै मोटरसाइकलमा राखेर उत्पादित कपडा महेन्द्रनगर र धनगढीका पसलहरुमा पुर्याउनुहुन्थ्यो । तर अहिले प्रदेश ७ का ९ वटै जिल्लामा पुग्छन् । 

यसै वर्ष वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीलाई राज्यको तर्फबाट प्रदान गरिने ‘राष्ट्रिय उद्यमी पुरस्कार’ बाट उहाँ सम्मानित पनि हुनुभयो । 

उहाँ युवाहरुले विदेशको सीप र कमाइलाई स्वदेशमै लगानी गर्ने हो भने भावी पुस्ताले विदेश जान नपर्ने बताउनुहुन्छ । ‘आफू कोरिया गए पनि छोराछोरीले श्रम बेच्नको लागि विदेश जानु नपरोस्’, उहाँ भन्नुहुन्छ’, ‘मेरा छोराछोरी कोरिया गए पनि काम गर्नको लागि नभएर घुम्नको लागि जाउन् ।’

सबैको सरकारसँग गुनासो हुन्छ, त्रिलोकको पनि छ । नेपालमा कुनै काम गर्न खोजे पनि प्रक्रिया झण्झटिलो र खर्चिलो भएको उहाँ गुनासो गर्नुहुन्छ ।

‘सामान्य कम्पनीको लागि फर्म दर्ता गर्न पनि निकै झण्झट हुन्छ, काम सुरु गरेपछि हुने घाटाभन्दा पनि फर्म दर्ता गर्दाको टेन्सन बढी हुन्छ’, उहाँले गुनासो गर्नुभयो, ‘कोही कोही त नेपालमा कम्पनी दर्ता गर्ने झण्झट गर्नुभन्दा फर्केर कोरिया जानु नै राम्रो भनेर उतै लाग्लान् ।’

उमेरले ३६ वसन्त पार गर्नै लाग्यो । अहिले त्रिलोक आफ्नै व्यापारमा रमाइरहनुभएको छ । बिहान समय निकालेर कोरियन भाषा पनि सिकाउनुहुन्छ । परिवारका सदस्यहरुसँगै बसेर १५ जनालाई रोजगारी दिनुभएको छ । उहाँ युवालाई विदेश जानै हुन्न त भन्नुहुन्न । तर जीवनभरी विदेशमै काम गर्ने र उमेरले डाँडो काट्न थालेपछि भने स्वदेश फर्केर निष्क्रिय जीवन बिताउनेलाई भने दह्रो जवाफ दिनुहुन्छ ।

‘चालिस कटेसी रमाउन नेपाल फर्किने होइन, जोश जाँगर विदेशमा खर्चेर मर्नको लागि नेपाल आउने कसैलाई अधिकार छैन’, हेमन्त रानाको साईंली गीतलाई चुनौती दिँदै त्रिलोक भन्नुहुन्छ, ‘कोही रोग र जाँगरले थलिएपछि मात्र नेपाल फर्किनको लागि यो चिहानको देश होइन ।’

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

2 Comments

  • बसन्त

    July 22, 2019, 11:25 p.m.

    नेपालबाट परदेशिएका सय मात्र हो र? भन्नलाइ सजिलो छ सर, गर्नलाइ त्यत्तिकै गारो ! धन्न कोरिया नाइ गएछौ खाडिमा आउनु पर्थ्यो ,अनि थाहा हुन्छ, पाच साल सम्म त कमायौ पनि होला , त्यही भयेर हो यो कुरा, यदि नकमाएको भये गर्थेउ घन्टा/ नेपालमा त्यस्तो सोच्नेले विदेश गएको एक सालमा वापस आएर गरेर यो कुरा गर्दा हुन्थ्यो/ अवधि सकेपछी आएर अहिले बनावटी कुरा नगरम है/ पैसा हुँदा कसैको सल्लाह पर्दैन नेपाल को हालत थाहा हुदाहुदै यस्तो भन्ने ? सहि कुरा भन्नुस है त, बनाएर होइन /तपाईंको गार्मेन्ट राम्रो चलोस, तर वाहियात कुरा नगरम, यो सम्भव छैन / नेपाल बाहिर बस्न कसैको रहर होइन, बाध्यता हो भन्ने पनि बुझम !!!

  • DB Thakuri

    July 21, 2019, 10:21 a.m.

    ठिक भन्नु भयो । तर, नेपालमा बसेर आफ्नो जीवन आर्जन गर्नको लागि जब हुन जरुरी छ । नेपाल मै केही गरौं भन्ने प्रतेक प्रदेशिएका दाजुभाइ दिदीबहिनी को मन मै छ । आफ्नो देशमा जब, जागिर खाानको लागि कि सोर्स फोर्स चाहिन्छ कि, आफ्नो नातेदार हुनुपर्छ । पढ्यो लेख्यो आफ्नो मान्छे नभए पछि जागिर पाउनै सकिन्न । नेपालमा जागि भनेको योग्यताको हिसाबले दिइन्न । आफ्नो मान्छे अलि ठुुुुलो स्थानमा भयो भने ८ पास गरेकाले पनि सहजै जागिर पाउछन् । नेपाल चिहान हैन भन्ने ब्यक्ति तिम्रो बारेमा जान्नु जरुरी छैन मलाई । तर, नहुने नहुने कुराको भाइरल नगर । काम छैन भने जाउ डोजरले बाटो खनेको हेर ।

तपाईको प्रतिक्रिया