कतारमा म्यानेजरको काम छोडेर नेपालमा योग स्कुल सञ्चालन

 साउन ९, २०७६ बिहिबार १८:१८:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – भनिन्छ नि, जहाँ समस्या त्यहाँ अवसर । यो भनाइलाई सार्थक पार्नुभएको छ दिपक भेटवालले । 

दिपक कुनै बेला तनावमा हुनुहुन्थ्यो । तनाव कम गर्ने औषधि खानुहुन्थ्यो । तर पनि रातभरी निद्रा पर्दैन थियो । जीवनमा सबैथोक भएर पनि आरामको निद्रा भएन भने के अर्थ ?

दिपक मिठो निद्राका लागि अस्पताल धाउनुभयो । औषधि खानुभयो, भएन । जब योग गर्न थाल्नुभयो, तब आफ्नो दैनिकीमा केही फरक पाउनुभयो । औषधिले निको नभएको समस्या बिस्तारै निको हुँदै गयो । आफ्नो समस्या समाधान भएपछि उहाँले त्यही समस्यालाई अवसरको रुपमा परिणत गर्नुभयो । र खोल्नुभयो योग स्कुल ।

‘कुनै पनि औषधिले ठिक नभएपछि मैले योग गरेँ र निको भएँ’, दिपक भन्नुहुन्छ, ‘औषधिले निको नभएको समस्या योगले निको भएपछि मैले यसबारे अध्ययन गरेँ, यसका महत्वबारे थाहा पाएँ र योग स्कुल सञ्चालनमा ल्याएँ ।’

हरेक काममा आत्मसन्तुष्टी हुनु पर्छ । दिपकको पनि भनाइ र भोगाइ यस्तै छ । रोजगारीका लागि कतार पुगेका उहाँ म्यानेजरको पदमा काम गर्नुहुन्थ्यो । काम र कमाइ राम्रो थियो । आफ्नो जीवनको १२ वर्ष कतारमा पसिना पगाउनुभयो । तर मन रमेन । सन् २००७ मा कतार गएका दिपक २०१८ मा फर्किनुभयो । कतारको एसएस ट्रेडिङ कम्पनीमा काम गर्नुहुन्थ्यो । 

बिहीबार बिहान ललितपुर थासिखेल चोकमा रहेको नेपाल स्कुल अफ योगको वातावरण फरक थियो । स्कुलको औपचारिक उदघाटनका लागि श्रम रोजगार तथा सामाजिक  सुरक्षा मन्त्री गोकर्ण विष्ट पनि पुग्नुभएको थियो । उदघाटन समारोहका लागि स्कुलका कोठा सजाइएको थियो । बेलुन फुलाइएको थियो । त्यही फुलेका बेलुन र चम्किएका कोठाहरुजस्तै चम्किरहेको थियो दिपको अनुहार पनि । 

पाँच वर्ष पहिले आफ्नो समस्या निको पार्न योगमा लागेका दिपकको अहिले समस्यालाई नै अवसरमा परिणत गर्न पाउँदा सन्तुष्टीले फुलेको थियो छाती । योग स्कुलका लागि ३० लाख रुपैयाँ लगानी गर्नुभएको छ दिपकले । कतारमा राम्रो कमाइ भए पनि आफ्नै देशमा केही गर्ने उद्येश्यले योग स्कुल सञ्चालनमा ल्याएकोे दिपक बताउनुहुन्छ । 

‘मैले धेरै कमाउने सोचेर यो व्यवसाय गरेको होइन, यसले कमाइ पनि हुँदैन’, सन्तुष्ट मुद्रामा मुस्कुराउँदै दिपक भन्नुहुन्छ, ‘योगको ज्ञान आम मानिसले थाहा पाउन् र निरोगीपूर्ण जीवन बिताउन पाउन् भन्ने सोचेर नै योग स्कुल सञ्चालनमा ल्याएको हुँ ।’

योगको बारेमा बुझ्नको लागि उहाँले बाल्मिकी क्याम्पसबाट पनि एक वर्षको योगशिक्षा विषय लिएर पढ्नुभयो। 

उहाँका भावी योजना छन् । १० वर्षे योजना लिएर दिपकले आफ्नो यात्रा सुरु गर्नुभएको छ । अबको १० वर्षमा देशभर योग स्कुलको ५ सय वटा शाखा खोल्ने र १ हजार योग शिक्षक उत्पादन गर्ने उहाँको लक्ष्य छ । 

दिपकको नयाँ कदमलाई हौसला दिँदै मन्त्री विष्टले दश वर्षे यात्राको सफलताको शुभकामना दिनुभयो । आफूले पनि योग गरेको र यसले मानिसलाई फाइदा पुग्ने भन्दै उहाँले दिपकको कदमप्रति खुशी व्यक्त गर्नुभयो । 

‘नियमित योगले मन र शरीरलाई नियन्त्रणमा राख्न सकिन्छ, आत्मविश्वास बढ्छ’, उहाँले भन्नुभयो, ‘शल्यक्रियाबाहेक सबै रोगहरुमा योगले निको पार्न सक्छ भन्ने मेरो व्यक्तिगत अनुभव छ ।’ साथै हरेक मानिसको स्वस्थ्यका लागि सरकारले योगलाई पाठ्यक्रममै राख्ने पनि उहाँले विश्वास व्यक्त गर्नभयो ।

तपाईको प्रतिक्रिया