MENU

मेरो कथा मेरो भोगाई

कोरियाको रोजगारी : आफैंले आफैंलाई विश्वास गर्नुहोस्

गुरुदत्त न्यौपाने/स्याङ्जा ।

नेपाली युवाका लागि दक्षिण कोरिया रोजगारीको आकर्षणको केन्द्र बनेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत औद्योगिक, कृषि तथा पशुपालन क्षेत्रमा नेपाली युवा भित्रिने क्रम जारी छ । 

कोरियामा नेपाली कामदारको संख्या झण्डै ५० हजार पुगेको छ । त्यहाँ जाने कामदार प्लस टु वा स्नातक पढ्दै गरेका १८ देखि २५ वर्ष उमेरका धेरै छन् । नेपालमा धेरै काम नगर्ने तर कोरिया पुगेपछि दैनिक १२/१५ घण्टा काम गर्नुपर्छ । त्यहाँको दैनिकीसँग हेलमेल हुन समय लाग्छ । सुखले हुर्किएकाहरु त्यसरी काम गर्नुपर्दा मानसिक तनावमा पर्छन् । 

मानसिक तनाव ठूलो कुरा होइन, त्यसको सही व्यवस्थापन गरेर अगाडि बढ्नु चाहिँ महत्वपूर्ण पक्ष हो । जसले समस्यालाई सुखदुःख सिक्काका दुई पाटा हुन भन्ने स्विकार्छ, उसले अर्थपूर्ण जिन्दगी जिउन सक्छ । तर जसले समस्या, बाधा, अडचन र संघर्षलाई सारथी बनाउन सक्दैन त्यो मानिस तनावमा फस्छ । तनावले जब चरमविन्दु पार गर्छ, तब उसले समाधानका लागि आत्महत्या रोज्न पुग्छ । 

पछिल्लो समयमा कोरियामा नेपाली युवाको औद्योगिक दुर्घटना, हृदयघात, डिप्रेसनका कारणले मृत्यु भएका खबरहरु पढ्न पाइन्छ । कोरिया गएर कतिपय युवाले परिवारको आर्थिक अवस्था मजवुत बनाएका थुप्रै उदाहरण छन् । तर केही युवा परिवारलाई कहिल्यै सन्चो नहुने घाउ दिएर संसारबाट बिदा भएका छन्  । 

कोरियामा नेपाली युवा डिप्रेसनमा पर्ने कारणहरु धेरै छन् । नेपालमा सोचे जस्तो नहुनु, भाषागत समस्या, कार्यक्षेत्रमा दिनहुँजसो दुव्र्यवहार र झगडा हुनु, त्यहाँको व्यस्त दैनिकीसँग समायोजन हुन नसक्नु, काममा मन नबस्नु, संस्कृति, वातावरण, खानपानमा रमाउन नसक्नु, बस्ने व्यवस्था भनेजस्तो नहुनु, परिवारसँगको झगडा तथा बेमेल, प्रेममा असफल जस्ता धेरै कारणले नेपाली युवा डिप्रेसनको सिकार भएका छन् । 

डिप्रेसन बाहेक मृत्यु हुने अरु कारणहरु पनि छन् । धुमपान मद्यपान गरेर सुत्नु, कोठामा पर्याप्त  अक्सिजन ओहोरदोहोर हुने ठाउँ नहुनु, झ्याल, ढोका तथा भेन्टिलेसन बन्द गरेर सुत्दा कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ ।

औद्योगिक क्षेत्रमा काम गर्नेले निरन्तर मेसिनमा काम गर्नुपर्छ । रक्सी खाएर काम गर्दा, अनिद्राको कारण, काम गर्दा मन अन्तै डुलाउनाले दुर्घटना हुँदा अंगभंग हुने र ज्यानै गुमाउने जस्ता घटना  बढिरहेका छन् । 

यी समस्या पहिचान गरेर आफैंले समाधान गर्न सकिन्छ । कतिपय समस्या समाधान गर्न साथीभाइ, विशेषज्ञले पनि महत्वपूर्ण भूमिका खेल्दछन् । 

हामी कतिपय सानातिना कुरालाई वेवास्ता गर्छौं । तर तिनै साना कुराले अप्ठेरो आइपर्छ । खानपान र  सुत्ने बानीमा मात्रै सुधार ल्यायौं भने पनि कतिपय समस्या आफैं समाधान हुन्छन् । समयमा खाने, सुत्ने, उठने, व्यायाम गर्ने, रक्सी तथा चुरोट नखाने गर्ने हो भने पनि समस्या कम हुँदै जान्छन् । 

मानसिक तनाव दक्षिण कोरियामा समस्याको रुपमा खडा भएको छ । यसलाई न्युनिकरण गर्न ढिला गर्न हुँदैन । सम्बन्धित निकायले यसबारेमा अध्ययन गरेर न्युनिकरण गर्ने उपाय खोज्नुपर्छ । हुन त बेलाबेला कोरियामा संघसंस्थाले यस विषयमा काम नगरेका भने होइनन् । तर जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन सकेको छैन । 

कोरियामा मानसिक समस्यामा हुनुहुन्छ भने सुरुमा आफैंलाई विश्वास गर्नुहोस् । त्यसपछि नेपालबाट संगालेका सपनाहरुलाई सम्झनुहोस् । परिवारको भविष्य बारेमा सोच्नुहोस् । आमाबुवा तथा परिवार प्रतिको जिम्मेवारी सम्झनुहोस् । 

दुई दिनको जिन्दगीमा जतिसक्दो हाँस्नुहोस्, खेल्नुहोस्, रमाउनुहोस् । सोच्नुहोस कि तपाईं आफ्नो मात्रै जिन्दगी जिउँदै हुनुहुन्न । तपाईंकै भरमा नेपालमा सुन्दर जिन्दगीको कल्पना गर्ने परिवार हुनुहुन्छ भन्ने सोच्नुहोस । काम गर्न सक्नुहुन्छ गर्नुहोस्, परिवाको आर्थिक अवस्था सुधार गर्नुहोस् । सक्नुहुन्न, नेपाल फर्कनुहोस् । 

र अन्त्यमा आत्महत्या समस्याको समाधान होइन । समस्यासँग हतासिएर गलत निर्णय नगरौं । समस्यासँग जुध्न सिकौं । कोरिया बसाई सफल र रमाइलो बनोस् । स्वस्थ रहनुस, ब्यस्त रहनुस् ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।