MENU

मेरो कथा मेरो भोगाई

६ वर्ष अघि विदेश जाने बेलामा ‘दूध खाँदै रैछौ’ भनेर पठाउनै मानेका थिएनन्

सोमप्रसाद वाइबा/घ्याङलेक गाउँपालिका २ बस्तिपुर, सिन्धुली ।

म परिवारमा जेठो छोरो । १२ कक्षा पढ्दै थिएँ । भाइबहिनी पनि पढ्दै थिए । तर बुवाआमाले खेती किसानी गरेर हामी ६ जनालाई पढाउन सम्भव भएन् । बुवा विदेश पनि जानुभयो । उहाँले परदेशमा पसिना बगाउँदा पनि घरको आर्थिक अवस्था सुधार भएन । त्यसपछि मैले विदेश जाने सोच बनाएँ ।

धेरै म्यानपावर धाएँ । हातमा विशेष सीप थिएन । कम्युटर चाहिँ सिकेको थिएँ । कम्युटरको हार्डवयेर तालिम पनि लिएको थिए । तर मेरो यो सीप विदेश जानका लागि काम लागेन । म्यानपावरमा विदेश जानका लागि डिमाण्ड बुझ्न जाँदा म्यानपावरका मान्छेले ‘दुध खाँदै रैछौ भाइ, दुईचार वर्ष पछि विदेश जानु भने ।’

मलाई सानो देखेर उनीहरुले त्यस्तो भनेका थिए । म उमेरले पनि भर्खर १९ वर्ष लागेको थिएँ । त्यो माथि सानो ज्यानको मान्छे । मैले विदेश गएर काम गर्न सक्छु भनेर म्यानपावरका मान्छेलाई सायद पत्यार लागेन् । 

सानो उमेर भएकै कारण मेरो हातमा भएको सीप सदुपयोग गर्ने देशमा म जान पाइनँ । धेरै वटा म्यानपावर धाएँ । अन्तिममा काठमाडौंको चुच्चेपाटीमा रहेको एसकेडी ओभरसिसबाट २०६८ सालमा मलेसिया गएँ ।

चाउचाउ फ्याक्ट्रिको काममा १२ सय रिंगिट तलब पाउने सम्झौता भयो । काम ८ घण्टा मात्रै गरे हुन्थ्यो । त्यति भएपछि मलाई राम्रै होला जस्तो लागेको थियो । तर मलेसिया पुगेपछि दलालले भनेको कुरा उल्टियो ।

चाउचाउ फ्याक्ट्रिको काम हैन रहेछ । खेतीकै पो गर्नुपर्ने रहेछ । बारीमा बोडी लगाउनु पथ्र्यो । तरकारीमा औषधी छिट्नेदेखि सबै काम गर्नुपर्ने । जाने बेलामा म्यानपावरले दुई वटा कागजमा सही गर्न लगाएको थियो । मलेसिया पुगेपछि पो थाहा भयो दुईवटा सम्झौतापत्रमा सही गर्न लगाएको रहेछ ।

सम्झौता पत्र काम लागेन । फेरि कम्पनीमा पनि नेपाली कामदार म जानु भन्दा अघि गएका रहेनछन् । दुईतीन जना नेपाली साथी त थिए । तर बोल्ने कोही थिएनन् । सम्झौता विपरित भएपनि काम गर्न थालियो । काम त गरियो तर तलब भने दुई महिनामा मात्रै दिँदो रैछ कम्पनीले ।  

दुई महिनापछि तलब त आयो । तर ९ सय रिंगिट मात्रै । त्यसैबाट बिरामी हुँदा उपचारदेखि खान बस्न सबै पुर्‍याएर घरमा पठाउनु पनि पर्ने । महिनाको साढे पाँच सय रिंगिट जति बच्थ्यो ।  

काम गर्न थालेको ४ महिनापछि म सुपरभाइजर भएँ । कम्पनीले तलव पनि बढाउँछु भनेको थियो । सुपरभाइजर भएको एक महिना बित्यो । तलब त पहिले जति मात्रै आयो । पद बढेपछि तलब पनि बढ्छ भनेको हैन भनेर कम्पनीलाई सोध्दा,‘पहिले भन्दा काम सजिलो छ, तलब चाहिँ धेरै किन चाहियो भन्यो ।’ मलेसियामै काम गर्ने साथीले कति कमाउँथे । तर मैले काम गर्ने कम्पनीमा तलब कहिले बढेन । मलाई काम गर्नै मन लागन छाड्यो । 

तर के गर्नु जति घर फर्कन खोजेपनि कम्पनीले पठाएन । ३ वर्षको करार अवधि नसक्किएसम्म काम गरें । त्यसपछि घर फर्किएँ । यो तीन वर्षमा जम्माजम्मी साढे तीन लाख रुपैयाँ कमाइ भएछ । साढे तीन लाखले मेरो धेरै चिज लगिसकेको थियो । मैले मेहनत गरेर ११ पास गरेको थिएँ । तर त्यो पनि काम लागेन । फर्किएपछि मैले फेरि पढ्न थालेको छु । 

मलेसियामा खेतिपातीको काम गरेकाले त्यही काम यहाँ पनि गर्न थालेको थिएँ । तर माटो परिक्षण नगरेकाले खासै राम्रो भएन् । त्यसपछि स्टेसनरी पसल खोलें । कमाइ राम्रै थियो । २०७२ को भूकम्पमा भत्कियो । त्यसपछि रोकिएको छ । अब त्यही व्यवसाय गर्ने योजनामा छु ।

त्योसँगै सुरक्षित आप्रवासन परियोजना (सामी) मा रिटर्नी भोलेन्टियरको रुपमा काम गरिरहेको छु । विदेश गएर फर्किएपछि पाएको यी सबै कुरामा म खुसी छ । यो खुसी मैले परदेशमा कल्पना पनि गरेको थिइन् ।

रिटर्नी भोलेन्टियर सोमप्रसाद वाइबासँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।