MENU

मेरो कथा मेरो भोगाई

अब त विदेशको नाम पनि लिन्न

कृष्ण श्रेष्ठ/रामेछाप

पाँच जना छोराछोरी सहितको ६ जनाको परिवारको खर्च धान्न निक्कै गाह्रो भयो ।  विदेश जान पाए कमाउन सकिन्थ्यो अनि परिवार चलाउन सजिलो हुन्थ्यो भन्ने सोचेर म २०६८ सालमा मलेसिया गएँ । 
एक लाख रुपैयाँ लिएको म्यानपावरले मलाई शेनाइ शहरमा रहेको रबर फयाक्ट्रीमा पठाएको थियो । तर भन्जाले यो भन्दा धेरै तलब पाइन्छ भनेपछि उनीसँगै कुखुरा फार्ममा पुगें । 


तर १८ महिना नपुग्दै मलाई पुलिसले पक्रियो । त्यो पनि राती १२ बजे । राती १२ बजे एकहुल पुलिस आएर सुतेकै ठाउँबाट उठाएर लगे । सिमेन्टको चिसो भुईंमा सास अल्झिने गाँस मात्र दिएर ८ महिनाभन्दा धेरै राख्यो ।

कमाइ धेरै हुन्छ भन्दा खुशी नै थिएँ तर पक्राउ पर्नुपर्यो । त्यतिबेला मैले अलिअलि पैसा जम्मा त गरेको थिएँ । तर पक्राउ पर्नु भन्दा ११ दिनअघि नै भन्जाले मसँग भएको ४ हजार ३ सय ७५ रिङगेट पनि लगिदिए । त्यो पनि लगिदिएपछि त म रित्तै फर्किनुपर्यो । 

जेल बसुञ्जेल भान्जा एक पटक पनि भेट्न आएनन । त्यसैले अब त आफन्तको विश्वास पनि लाग्दैन । मैले पटक पटक ताकेता गरेपछि भन्जाले २ हजार रिङ्गेट फिर्ता गरे अनि म नेपाल फर्किएँ ।  

मलेसियाबाट दुःख पाएर फर्किएपनि अब त झन बुझ्ने भएँ जस्तो लागेर म घर आएको एक वर्षमा साउदी अरब गएँ । तर साउदीको बसाई मलेसियाको भन्दा पनि कष्टकर भयो । पुगेको ९ महिनासम्म काम नै पाइनँ । काम नपाएपछि पैसा त पाउने कुरै भएन् ।

त्यतिबेला पाएको दुःख त जिन्दगीमा कहाँ बिर्सिन सक्छु र । कमाउन नसकेर पैसा नहुँदा अरुको जुठो भात पनि खान बाध्य भएँ । त्यसैले ९ महिनामा खाली हात घर फर्किएँ । 

नेपाल फर्किएपछि मलाई आइओएमले पीडित भएर फर्किएको भनेर ५० हजार रुपैयाँ सहयोग गर्यो । त्यही पैसाले अहिले बाख्रा पालेको छु । बाख्रा पालेर आएको पैसाले नै घर परिवार चलिरहेको छ । भुकम्पले घर पनि भत्किएको थियो पनि बनाएँ ।

 अहिलेत मसँगै छोरो पनि ज्याला मजदुरी गर्न हिँड्छ । उतिबेलाका कुरा सम्झियो भने त  त्यतिबेला किन विदेश गएछु जस्तो लाग्छ । त्यसैले अब त विदेशको नाम पनि लिन मन लाग्दैन् । 

(सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार अन्तर्गत सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक सागरविक्रम बस्नेतले गर्नुभएको कुराकानीमा आधारित)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।