MENU

मेरो कथा मेरो भोगाई

मनोसामाजिक समस्या र परिवारको भूमिका

मनिका सुनुवार/रामेछाप ।

मैले मनोसामाजिक परामर्शकर्ताका रुपमा काम गर्न थालेको ३ वर्ष भयो । त्यो भन्दा पहिला सामाजिक परिचालकको रुपमा काम गर्थें । मनोसामाजिक परामर्श भनेको प्राविधिक विषय हो त्यसैले स्कोप छ भन्ने सुनेको थिएँ । 

सुरुमा त मनोसामाजिक समस्यामा परेको व्यक्तिलाई भेट्दा उसमा समस्या धेरै थिए । उनी तनाव धेरै भएपछि बेहोस हुँदा रहेछन् । उनलाई देख्ता त मैले परामर्श दिएर ठिक बनाउन सकिन्छ कि सकिंदैन भन्ने लाग्यो ।

त्यतिबेला म १५ दिनको तालिमपछि पहिलो पटक परामर्श दिन पुगेको थिएँ त्यसैले पनि होला । तर पनि हामीलाई साथ दिन अरु विज्ञहरु पनि भएकाले परामर्श सुरु गरें । 

३ वर्षको दौरानमा मैले झण्डै ६५ जनालाई मनोसामाजिक परामर्श दिएँ । मैले आफूले गरेको कामबाट सिकेको पहिलो कुरा मनोसामाजिक समस्या भएका व्यक्तिलाई परिवारको साथ चाहिने रहेछ भन्ने हो । 

सुरुमा त उसलाई मनोसामाजिक समस्या भएको हो भनेर थाहा पाउने अनि थाहा पाउनुपर्ने परिवारका सदस्यले नै हो तर धेरैका परिवारका सदस्य र स्वयम समस्या भएकै व्यक्तिलाई पनि थाहा हुँदैन ।  यो थाहा पाइसकेपछि समस्यामा परेका व्यक्तिलाई परिवारकै सदस्यले साहस र हौसला दिने हो । किनकी ऊ सबैभन्दा धेरै समय परिवारसँगै हुन्छ । 

समस्यामा परेका व्यक्तिलाई हौसला नदिई तनाव दिने कुरा गरियो भने त्यसले उसलाई झनै समस्यामा पार्दो रहेछ । यदी परिवारको भूमिका त्यसको ठिक उल्टो अर्थात उसलाई हौसला दिने खालको भयो भने समस्याबाट छिट्टै बाहिर निस्किन सहयोगी हुने रहेछ । 

मैले नै अहिले परामर्श दिइरहेकी एक जना दिदीलाई आमाले हौसला मात्रै दिनुभएन हामीसम्म ल्याइ पनि दिनुभयो । ९ पटकको भेटघाटपछि उहाँमा धेरै सुधार भएको छ । यसमा परिवारको साथ निक्कै महत्वपूर्ण छ । 

मनोसामाजिक समस्या भएका  व्यक्तिहरुलाई आत्मबल बढाउनको लागि मनोसामाजिक परामर्शकर्ताले विभिन्न विधि मार्फत उनीहरुको पिडालाई सुनिदिने, बुझिदिने साथैै उनीहरुमा भएका सबल र सकरात्मक कुराहरु बुझाइदिनु पर्दछ ।

उसका सहयोगी व्यक्तिहरु, उसमा भएको सीप, क्षमता, ऊ एक्लैले अहिले गरिरहेको काम र त्यसबाट प्राप्त उपलब्धी, उसले जन्मेदेखी अहिलेसम्म गरेका उपलब्धी, उसले गर्न सक्ने कुराहरुलाई देखाइदिएर हौसला दिनु पर्दछ । यसमा मनोसामाजिक परामर्शकर्ताको भूमिका जति हुन्छ परिवारको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । 

(मनिका सुनुवार चारघरे सेवा समिति रामेछापद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनामा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।