‘साइन्स पढेर नेपालमा काम पाइनँ, विदेश जान खोज्दा ठगिएँ’

 साउन २८, २०७६ मंगलबार १७:१५:४१ | बेदानन्द जाेशी

काठमाण्डौ – पेशाले शिक्षक हुनुहुन्छ सल्यानका भुवन बोहोरा । अरुलाई शिक्षा दिने भुवनलाई आफू भने दलालको छलबाट बच्न सक्नुभएन ।

यूएई जान जाने भनेर एजेण्टलाई एक लाख रुपैयाँ तिर्नुभयो । तर पैसा तिरेको भोलिपल्टै एजेण्ट फरार भए । पहिले पनि यूएई जानुभएको थियो । पहिले यूएई पुगेपछि दुःख पाउनुभयो । तर यो पालि भने स्वदेशमै एजेण्टको जालमा पर्दा दुःख पाउनुभयो ।

विदेश नै किन ?

विज्ञान विषयमा स्नातक पास गर्नुभएका भुवनले आफ्नै गाउँमा र काठमाण्डौमा पनि पढाउनुभयो । भुवनले विदेश जान्छु भन्दा साथीभाइले किन जानुपर्यो नभनेका पनि होइनन् ।

तर खुकुरीको पीडा अचानोलाई मात्र थाहा हुन्छ भनेझैं, भुवन भन्नुहुन्छ, ‘पढेको छँदैछ, नेपालमै केही गर्न छोडेर किन विदेश जानुपरेको भन्छन्, तर पीडा त भोग्नेलाई नै थाहा हुन्छ नि ।’ भुवनले १२ कक्षासम्म दाङमा पढ्नुभयो ।

स्नातक पढ्न भनेर २०६८ सालमा काठमाण्डौ आउनुभयो । त्रिचन्द्र कलेजमा पढ्नुभयो । पढ्नका लागि बुवा आमासँग पैसा माग्न अप्ठ्यारो लाग्थ्यो यहाँलाई । काठमाण्डौमा आफ्नो खर्चको जोहो गर्न बोर्डिङ पढाउन थाल्नुभयो ।

बोर्डिङ पढाएको कमाइले बस्न र खानमै ठिक्क हुन्थ्यो । महंगो कोठा भाडा, जताततै समस्याको चाङ, दिक्क लाग्यो । बरु गाउँमै पढाउँछु भनेर भुवन घर फर्किनुभयो । स्नातक पूरा हुनै पाएन, बीचमै रोकियो ।

६ भाइबहिनीमध्ये सबैभन्दा जेठो भुवन । काँधमा जिम्मेवारी । घरको आर्थिक अवस्था कमजोर । त्यसैमाथि ५ भाइबहिनीलाई पढाउनुपर्छ भन्ने सोच । काठमाण्डौको जस्तै सल्यानमा पनि १० हजार रुपैयाँ थियो तलब ।

के धान्थ्यो र त्यसले ! यति कम तलबमा भुवनले पढाइरहन सक्नुभएन । अनि मजदुरी गर्न थाल्नुभयो । ‘दिनभरी मजदुरी गरेको ८ सय हजार जति हुन्थ्यो, त्यही भएर मैले पढाउन छाडेर मजदुरी गरेँ’, उहाँले आफ्नो दुखेसो पोख्नुभयो । १ वर्ष मजदुरी गर्दै बित्यो ।

२०७२ सालमा विदेश जाने सोच्नुभयो । भिजिट भिसामा यूएई पुग्नुभयो । तर त्यहाँ पनि भनेजस्तो भएन । ‘एकजना चिनेकै दाइले राम्रो कम्पनीमा काम लगाइदिन्छु भने, त्यही भएर गएको थिएँ,’ भुवन गुनासो पोख्नुहुन्छ, ‘तर भोलिभोलि भन्दै दुई महिना बित्दासम्म पनि काममा लगाइदिएनन्, त्यही भएर म फर्किएँ ।’

यूएईबाट त फर्किनुभयो । तर दुई लाख ५० हजार रुपैयाँ फस्यो । त्यही बेला लागेको ऋण नर्तिर्दै फेरि एजेण्टले ठग्यो भन्नुहुन्छ भुवन । पहिलो पटक यूएईबाट ठगिएर आएपछि दुई वर्ष घरमा मजदुरी गर्दै र म्यानपावर कम्पनी खोज्दै बिते ।

त्यसपछि भुवनको सम्पर्क रम्तुल्ला मिया भन्ने एकजना एजेण्टसँग भयो । उसले भुवनलाई बिस्तारै आफ्नो जालमा पार्यो । भुवनलाई पत्तै भएन । दोस्रो पटक उहाँ जीफोरएस कम्पनीको सेक्युरिटी गार्डमा जान पाउँने लोभमा ठगिनुभयो ।

यसरी ठगिमा पर्नु भयो भुवन

भुवनले म्यादी प्रहरीको रुपमा पनि काम गरिसक्नुभएको थियो । एजेण्टले भुवनलाई यूएईमा जीफोरएसको सेक्युरिटीमा काम लगाइदिन्छु भनेर फकाए ।

नाम र दाम दुईवटै हुन्छ भनेर ग्रुप फोर कम्पनीको सेक्युरिटीमा जान युवाहरु मरिहत्ते गर्छन् । भुवनलाई पनि राम्रो मान्छे भेटियो भन्ने लाग्यो । बिस्तारै रम्तुल्ला मियाँसँग सम्बन्ध बढ्दै गयो ।

काठमाण्डौ आउनुभयो । उसको कार्यालय आउने जाने भयो । सरबाट सुरु भएको सम्बन्ध दाइभाइमा पुगिसकेको थियो । एजेण्टले ठगी गर्छन् भन्ने कुरामा भुवन सजग हुनुहुन्थ्यो ।

‘पहिले पनि ठगीमा परिसकेकोले म एकदमै सचेत थिएँ, उसका क्रियाकलापलाई ध्यान दिन्थेँ, तर मलाई त्यस्तो केही पनि लागेन’, भुवनले सुनाउनुभयो । ती एजेण्टले भुवलाई ‘असार मसान्तसम्मको हिसाब मिलाउनुपर्ने भयो भाइ, मैले घर पनि बन्धकी राखेको छु, अहिले अलि गाह्रो भयो मलाई तुरुन्तै एक लाख चाहियो, फ्लाइटको पैसा तिर्नुपर्ने भयो’ भन्दै भावनात्मक रुपमा बहकाएर एक लाख रुपैयाँ माग्यो ।

गाउँका दाइहरुसँग ऋण मागेर भए पनि भुवनले १ लाख रुपैयाँ दिनुभयो । गएको असार ३१ गते उहाँले एजेण्टलाई रकम बुझाउनुभयो । साउन ५ गते फ्लाइट छ भनेको, थियो । तर ४ गतेदेखि नै एजेण्टको मोबाइल स्वीच अफ भयो ।

देख्नमा जस्तो भित्री मन हुँदैन भनेजस्तै रम्तुल्लाको पनि त्यस्तै चरित्र भएको थाहा भयो, जब भुवनलाई आफू ठगिएँ भन्ने पत्तो भयो भुवनलाई । अहिले बेपत्ता भएका एजेण्टलाई खोजिदिन आग्रह गर्दै भुवन वैदेशिक रोजगार विभाग र प्रहरीकोमा धाइरहनुभएको छ ।

तर एजेण्ट नै कहाँ छ भन्ने थाहा नभएसम्म आफ्नो रकम फिर्ता नहुने भनेर आशा मार्नुभएको छ भुवनले । ‘तीस वर्षसम्म परिवारको समस्यालाई पार लगाएर आफू व्यवस्थित हुने सोच बनाएको थिएँ, सबै चकनाचुर भए’, पछुतो मान्दै भुवन भन्नुहुन्छ, ‘समय खराब चल्दैछ ।’

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया