MENU

मेरो कथा मेरो भोगाई

वैदेशिक रोजगारीले बाआमालाई के दियो ?

शान्ता पुलामी/रामेछाप ।

सदरमुकाम बस्नेहरुका लागि त्यो भन्दा ठूलो शहरमा बस्न पाए भन्ने सपना हुँदो हो । तर गाउँका मानिसलाई त सदरमुकामसम्म पुग्नु अनि सदरमुकाममा घडेरी जोडेर घर बनाउन सक्नु नै काठमाडौं पुगे जस्तै हुन्छ । 

यस्तै सपना रहेछ ९० वर्षका हजुरबुवाका छोराको पनि । त्यही सपना लिएर उनी विदेश गएको ६ वर्ष भयो । ९० वर्षका हजुरबुवाको परिवारमा एक मात्र छोरा बुहारी र एक जना नाती छन् । श्रीमती पहिल्यै बितेकाले हजुरबुवा तिनै छोराको सहारामा हुनुहुन्थ्यो । 

छोरा विदेश गएपछि बुहारीसँग बस्दै आएका हजुरबुवाकी बुहारी पनि केही महिनामा छोरा पढाउनका लागि सदरमुकाम झरिन् । हजुरबुवा गाउँमा एक्लै । एक्लै हुँदा पनि हजुरबुवालाई समस्या थिएन् । उहाँ आफैं पकाउनुहुन्थ्यो, खानुहुन्थ्यो । 

तर सरदमुकाममा बस्ने बुहारीले केही महिना अघि हजुरबुवालाई पनि आफैं बसेको डेरामा ल्याउनुभयो । गाउँबाट शहर झर्नुभएको थियो तर बुवाको मुहारमा खुशी भन्दा निराशा धेरै देखिन्थ्यो । 

‘मान्छेहरु यस्ता ठाउँमा कसरी बस्छन होला’ उहाँको यही भनाईले शहर बसाईमा उहाँ खुशी हुनुहुन्न भन्ने थाहा पाइन्थ्यो । भनाई मात्रै होइन गाउँमा हुँदा यताउता डुल्ने अनि छरछिमेकसँग बोल्ने बानी परेका हजुरबुवालाई कोठाको बसाई पिँजडाको सुगा जस्तै भयो । त्यही पीडाले उहाँ कहिलेकाहिँ रुनु पनि हुन्थ्यो । पीडा धेरै भएपछि उहाँले विदेशमा भएको छोरो अनि डेरामा बस्ने बुहारीलाई भनेर गाउँ नै फर्किनुभयो । 

मैले पनि उहाँलाई देखेपछि मात्रै उहाँ जस्तै सन्तान विदेशमा भएका बुवाआमालाई राम्ररी नियालें । धेरै जसो अभिभावक सन्तानले विदेश गएर कमाएको खुसी त थिए । तर सन्तान आफ्नै छेउमा नहुँदा अनि सन्तानसँगै रिसोबासो छोडेर हिँड्नु पर्दा चिन्तित थिए । 

वैदेशिक रोजगारी भन्ने बित्तिकै हाम्रो समाजमा कमाइका मात्रै कुरा हुन्छन् । तर त्यसले समाजमा पारेको नकारात्मक प्रभावको चर्चा निक्कै कम मात्रै हुन्छ ।विदेश जानेहरुको सपना पैसा कमाउनु अनि परिवारलाई खुसी र सुख दिनु नै हो । तर उनीहरुको कमाईले बृद्ध बाआमालाई खुशी र सुख मात्रै दिएको छैन । 

भलै विदेश जाने सबैले राम्रो कमाउन सकेका छैनन् । तर कमाएकाहरुमध्ये धेरैले गाउँ छोडेका छन् । गाउँ छोडेर शहर पसेकाहरुले ९० वर्षका हजुरबुवा जस्तै बाआमालाई गाउँमै छोडेका छन् । उनीहरुका पीडा पनि धेरै छन् । तर जो छोराछोरीको साथ लागेर शहर पसेकाहरुको पीडा पनि कम छैन । उनीहरुले झनै छटपटिने रहेछन् । 

गाउँले परिवेशमा जन्मिएर, हुर्किएर आधा उमेर पनि गाउँमै बिताएका बाआमालाई शहरमा दिन बिताउनै मुस्किल पर्ने रहेछ । बन्द कोठाको बसाई त्यसमा पनि बोल्न मन लाग्दा बोल्ने साथी हुँदैनन । खान मन लाग्दा झिकेर दिने मान्छे छैनन् । घुम्न जाउ कहाँ जाउँ कसको साथमा जाउँ । बाबा आमा छोरा छोरी नाता नातीनी सँगै बसे पनि सँगै बसेर एक अर्काको विचार भावना सुनिदिने बुझिदिने र व्यावहारिक कुरा गर्ने फुर्सद नै हुँदैन कसैलाई ।

‘यदी समय निस्किहाल्यो भनेपनि अहिले पुस्ता मोबाइल र टिभीमै झुम्मिन्छन हाम्रा कुरा कसले सुन्दिन्छ र’ ती हजुरबुवाले मसँगै भन्नुभएको थियो । 
यसले वृद्ध बाआमाले एक्लो महशुस गर्ने, कोहीसँग पनि नबोल्ने, एक्लै बस्ने, खान मन नगर्ने, सरसफाईमा ध्यान नदिने, बिरामी भईरहने, रिसाउने, झर्किने जस्ता व्यावहार देखाउने रहेछन् ।

उहाँहरुलाई त समस्या भयो । उहाँको समस्याले परिवारका सदस्यलाई पनि अर्को समस्या थपिने रहेछ । त्यही कुरालाई लिएर परिवारमो बेमेल पनि सिर्जना हुने रहेछ । त्यसैले परदेशीका बाआमाको अवस्था सुखद छैन । आफैं गरेर खाउँ शरीरमा तागत छैन । गाउँ फर्किउँ भने साहारा छैन । त्यसैले उनीहरुका बारेमा पनि सोच्नु पर्ने दिन आएको छ । 

हुन त बाआमाका लागि सँधै सँगै बस्नुपर्छ भन्ने होइन तर पनि उनीहरुलाई दिन बिताउने केही उपाय चाहिँ खोज्नै पर्छ । अनि बुढा बाआमाको भावना सुनिदिने र बुझिदिन पनि सक्नु पर्छ ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।