MENU

मेरो कथा मेरो भोगाई

टेन्सनले प्रेसर बढेपछि मलेसिया बस्न सकिन

लालबहादुर मगर/सुकाजोर, रामेछाप ।

म २०५२ सालमा नेपाली सेनामा भर्ती भएँ । १६ वर्ष जागिर खाएर रिटायर्ड भएँ । मान्छेलाई जति भएपनि पुग्दैन भन्छन् । मलाई पनि त्यस्तै भएको होला कमाउन विदेश जाउँ भन्ने लाग्यो । मलेसिया गएँ सेक्युरिटी गार्डमा । 

यहाँबाट त मसँग अनुभव छ के गाह्रो होला र भनेर गएँ । तर विदेश कहाँ हामीले सोचे जस्तो हुने रैछ र । एक त विदेश त्यहीँमाथि सेक्युरिटी गार्डको काम । अरु काम पनि गाह्रै होला तर गार्डको काम झनै गाह्रो हुने रैछ । किनभने गार्डले अलिक कडा नै हुनुप¥यो । त्यसो गर्दा आफ्नै कम्पनीमा काम गर्ने साथीहरु पनि रिसाउने रहेछन् । 

त्यसले मलाई साह्रै टेन्सन भयो । त्यही टेन्सनले प्रेसर ह्वात्तै बढेछ । त्यसले गर्दा बस्नै सकिन । स्वास्थ्य नै ठिक नभएपछि काम गर्न सकिँदैन भनेर डेढ वर्षमै फर्किएँ । 

सम्झौता भन्दा आधै समयमा फर्किंदा पनि मैले साढे चार लाख रुपैयाँ त घरमा पठाएको थिएँ । घर आएपछि फेरि विदेश जाने भन्दा पनि सकेसम्म यतै केही गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ । 

त्यही बेला रामेछापको सामुदायिक जनशक्ति विकास कार्यक्रम, गोल्माटारले विदेशबाट फर्किएका र विदेश गएकाका परिवारलाई लक्षित गरी वित्तिय साक्षरता कक्षा चलाएको रहेछ । म पनि केही सिकौं भनेर त्यो कक्षामा बसें । 

यो कक्षामामा बस्दा खर्च कसरी गर्ने भन्ने कुरा मात्रै सिकिने होला भन्ने सोचेको थिएँ । तर होइन रहेछ । यो कक्षाले त कमाई र खर्चको सन्तुलन मिलाउन सिकाउनुका साथसाथै परिवारलाई कसरी व्यवस्थित बनाउने भन्ने पनि सिकाउने रहेछ । केही काम गर्नु अघि परिवारमा सल्लाह गर्नु पर्दो रैछ भन्ने कुरा मैले त्यहीँबाट सिकें । 

कक्षामा बुझेपछि फेरि विदेश जान्न भन्ने सोचेर कुखुरा पालें । प्राविधिक ज्ञान नहुँदा आम्दानी गर्न सकिन । अहिले भुकम्पले भत्किएको घर बनाउँदैछु । अब फेरि कुखुरा नै पाल्ने सोचेको छु । 

कमाउन त सिकें नै खर्च कसरी कम गर्न सकिन्छ भन्ने कुरा पनि थाहा पाएँ । हामीले त खैनी खानेदेखि आफ्नै बारीमा फलेको सागसब्जी भन्दा बजारको तरकारीमा फजुल खर्च गरिरहेको हुँदा रहेछौं । कक्षामा बसेपछि मैले बजारको तरकारी किनेर खान छोडेको छु । 

अर्को कुरा पेन्सनको पैसा पनि बचाउन थालेको छु । त्यो भन्दा अघि मैले यसरी बचाउनुपर्छ भन्ने बुझेकै थिइनँ । त्यसपछि मलाई यो कक्षाले त जीवन जिउन पनि सिकाउँदो रहेछ भन्ने बुझें । 

(मगरसँग मोहन पौडेलले गर्नुभएको कुराकानीमा आधारित)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।