MENU

मेरो कथा मेरो भोगाई

​मलेसियामा १० वर्ष : भारी बोक्नेदेखि पजेरो चढ्नेसम्म

सुकराम माझी/मरिण गाउँपालिका – ३ सिन्धुली ।

घरमा आर्थिक अवस्था कमजोर थियो । कमाउनु पर्छ भन्ने मनमा लाग्थ्यो । तर, घरमा छउन्जेल पैसा कमाउनका लागि केही काम गरिन । सन् २००४ को कुरा हो ।

गाउँकै दलालले विदेशमा राम्रो कमाइहुने कुरा सुनाए । ‘दुःख गर्न पर्दैन मेसिनबाट झरेको फलाम खनखनी गर्ने हो,’ दलालले मलाई भनेको शब्द यही हो । 

सयकडा चारमा काढेको ८० हजार रुपैयाँ ऋण र विदेशमा खनखनी फलामा गनेर पैसा कमाउने सपना बोकेर म मलेसिया पुगेँ । भनेको काम किन पाइन्थ्यो । बिहानदेखि बेलुकासम्म भारी बोक्नुपर्ने काम पाइयो ।

 ५० किलोका पोटास मल, कार्टुनहरु बोक्न पर्ने । सामान उचालेर काँधमा राख्न खोज्दा साहुले तिम्ले बोक्न सक्दैनौ मात्र भन्थे । मलाई दुब्लो अनि होचो देखेर साहुले मैले काम गर्न सक्छु भन्ने विश्वास नै मान्दैन थिए ।

अरु कामदारलाई गर्ने भन्दा मलाई गर्ने व्यवहार पनि फरक थियो । कोठामा सुत्न पनि दिदैनथे । दुई दिन त बाहिर सुतेँ । लामखुट्टेले कति टोके कति । खान पनि दिएनन् । साहुले यस्तो व्यवहार गर्नुको एउटै कारण थियो मैले काम नजान्नु ।

कताकता काममा लिएर जान्थे । एकदिन चरा राख्ने घर बनाउन लगेर गएका थिए । सफा गर्ने बेलामा भ्याकुम लागउनु पर्ने रैछ । मैले नेपालमा भ्याकुम चलाउनु त परको कुरा देखेको पनि थिइन । मलाई चलाउनै आएन ।

 साहुले तिम्लाई त्यती पनि आउदैन भनेर गाली गर्दै भोली नै नेपाल पठाउँछु भने । त्यत्रो महङ्गो ब्याजमा ऋण काढेर आएको कमाउन । ऋण पनि नतिरी घर फर्काइदिने भयो भनेर म त धुरुधुरु रोएँ । साहुले म रोएको देखेर ‘स्टुपीड म्यान’ भन्दै माया गरेर भ्याकुम चलाउन सिकायो । रुँदै सफा गरेँ ।

भाषा नजान्दा काम नजान्दा पाएका दुःखको हिसाब गर्ने हो भने मैले मलेसियामा बस्दा कमाइको पैसा भन्दा कयौ गुणा बढी छ । वर्षौसम्म पनि भारी बोके । ढाड र काँधको छाला त कति गए कति ।

प्रत्येक बोरा उचाल्दा सयकडा चारमा काढेको ऋण सम्झन्थेँ । दुःख भएपनि काम नगरी सुखै थिएन । दिनरात सुत्न दिँदैन थिए साहुले । कामदार सुत्छन् भनेर आफैं काम गरेर भएपनि हामीलाई दलाउथे ।

जाने बेलामा त ४ सय रिंगिट बेसिकमा गएको । त्यो भन्दा धेरै तलव पनि पाइएन । महिनामा पछि भएपछि चाहिँ ६ देखि ७ सय रिंगिटसम्म आउँथ्यो । साहुले जस्तो व्यवहार गरेपनि काम गर्न छाडिन । डटेर काम गरें ।

पछि भएपछि त मेरो दुःख देखेर हो कि किन हो साहुले साह्रै माया गर्न थाले । मलेसियामा ९ वर्ष १० महिना बिताए । तीन चार वर्ष त कष्ट मै बिते । जब काम सिके, भाषा सिके त्यसपछि सबैको प्यारो भएँ ।

मलाई भारी बोक्नेबाट स्टोर किपर बनाइयो । आफ्नो काम तनमन लगाएर गर्थें । तलव पनि बढ्यो । साहुले त पछि भएपछि मलाई ‘त मेरो छोरा जस्तै होस भन्थे,’ खान पनि उनले नै दिन थाले । साहुले पजेरो गाडी पनि दिए ।

 मलाई गाडी सिकाउने पनि साहु नै हुन् । मलाई गाडी लिएर जहाँ जान पनि छुट् थियो । झण्डै १० वर्ष पसिना बगाउदा २० लाख रुपैयाँ जति कमाए । तर पैसा बचेन । बुवाको उपचारमा ८ लाख भन्दा धेरै खर्च भयो । बुवा पनि बाँच्नुभएन ।

परदेशको सुख र दुःख दुवै भोगेँ । घर फर्किएर बिहे गरे । अहिले दुई सन्तान छन् । फर्किएको ५ वर्ष हुन लाग्यो । सुरक्षित आप्रवासन परियोजना(सामी) सिन्धुलीको सूचना केन्द्रमा स्वयमसेवकको रुपमा काम गरिरहेको छु । 

(सुकराम माझीसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।