MENU

मेरो कथा मेरो भोगाई

​परदेशी र परिवारलाई सन्देश

मनिका सुनुवार/रामेछाप

गाउँमा होस या बजारमा धेरै चर्चा वैदेशिक रोजगारीकै हुन्छ । कुरा सकारात्मक पनि हुन्छन् अनि नकारात्मक पनि । 

विदेशको कमाईले कसैले घर बनायो भने नगएको भए बनाउन सक्दैनथ्यो भनिन्छ अनि कसैको विदेशमै ज्यान गयो वा अङ्गभङ्ग भयो भने विदेश नगएको भए यस्तो हुँदैनथ्यो भनिन्छ । यसैले दर्शाउँछ वैदेशिक रोजगारीको सकारात्मक र नकारात्मक पाटो । 

सरकारको तथ्याङ्क हेर्ने हो भने दैनिक १५ सयदेखि २ हजार युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । ती मध्ये दिनकै कम्तीमा ३ जनाको लास भित्रिरहेको छ । जुन मृत शरीर, कमाउने सपना बुनेर गएकाहरुको हो । 

यसो भनिरहँदा विदेश जानेहरुको सबैको नराम्रो घटना मात्र भएको, समस्या र अप्ठ्यारो मात्र परेको छ भन्ने होइन ।  कमाउने सपना पुरा गरेर सकुशल फर्किएकाहरु पनि छन् । 

विदेश जानु प्राय नेपालीको रहर होइन बाध्यता हो भन्ने बुझ्न गाह्रो छैन । यो बाध्यताभित्र पारिवारिक, व्यवहारिक, व्यक्तिगत कुरा लुकेका छन् । सपना बुनेर परदेशिएका कति परदेशीका सपना पुरा हुन्छन भने कतिका चक्नाचुर पनि । किनभने वैदेशिक रोजगारमा जानु अघि जति सजिलो सोचिएको हुन्छ पक्कै त्यति सजिलो छैन । 

विदेशिनेहरुलाई सम्झिएर भन्ने हो भने तुलनात्मक रुपमा विदेश आउने जाने गरिरहेकाहरुलाई भन्दा पहिलो पटक गएकाहरुलाई भाषासँगै त्यहाँको वातावरणसँग घुलमिल हुन गाह्रो हुन्छ । गाह्रो भएपनि मानवीय स्वभावले या नेपाली बहादुरीपनले भनौं यस्ता समस्यालाई पार गर्न पनि सक्ने क्षमता छ परदेशीहरुसँग ।यसको अर्थ परदेशीहरु बाध्यताले पनि समस्यासँग जुध्न सक्छन भन्ने हो । 

यस्तै समस्याको नै कुरा गर्दा भनेको काम नपाउने, तलब नपाउने या कम पाउने, काममा बढी खट्नुपर्ने जसले गर्दा परिवारमा पैसा पठाउन नसक्ने, समयमा फोन गर्न नपाउने, बिरामी पर्ने, दुर्घटनामा पर्ने, विभिन्न कारणले कम्पनी छोडेर लुकेर काम गर्नुपर्ने, गल्ती गरेर या नगरेर जेल सजाय समेत भोग्नुपर्ने र कतिपय लामो समयसम्म घर नफर्किने अनि कतिपय परिवारसँग सम्पर्कविहीन हुनु समस्या हुन् ।

 परिवारले आफूसँग गरेको आशा पुरा गर्न नसक्दा मनमा हुने पिडा त छँदैछ परदेशमा रहँदा परिवारले आफ्नो समस्या बुझ्न नसक्दाको तितो पीडाले झन असह्य बनाएको छ । 

पीडा परदेशीहरुलाई मात्रै छैन । किनकी परिवार पनि उसैसँग आश्रित छ । परिवारको सदस्य नहुँदा बढेको जिम्मेवारी र बोझसँगै परदेशमा उनीहरुको अवस्था राम्रो हुन नसकेको सुनेपछि कति पीडा हुन्छ त्यो शब्दमा यति सजिलै सकिन्न् ।

कति परिवार र परिवारका सदस्यहरुले त खाल खालका लान्छना पनि खेप्नु परेको । यो लान्छनाले परदेशीको परिवारलाई सहि नसक्नुको पीडा दिएको छ । यसो भनिरहँदा परदेशी र उनीहरुका परिवारबाट गल्ती नै भएको छैन पनि भन्न खोजेको होइन । परिवारभित्र त्यस्ता घटना घटेका पनि छन् ।

तर त्यस्तै एक दुई वटा घटनालाई लिएर परदेशी र परदेशीका परिवारलाई हेर्ने दृष्टिकोण फरक बनाउनु उचित होइन । यस्तै विविध कारण परदेशिएका सदस्य अनि परदेशीएका परिवारहरु टाढा रहेर व्यवहार अघि बढाउने क्रममा नचाहँदा नचाहँदै पनि एकअर्काबिच तालमेल नमिलेर खुसी मनले बस्न नसकेका परदेशी र परदेशीका परिवार धेरै छन् ।

जसको कारण पारिवारिक विखण्डन, सामाजिक लागत जस्ता कुराहरु बढ्दै गएको पाइन्छ । त्यसैले यस्ता समस्याबाट बच्न परदेशी र परदेशीका परिवार आफैं सचेत हुनु जरुरी छ । परदेश जानेहरुले पनि कसैको लहैलहैमा नलागी आफू जाने देश र आफूले त्यहाँ गएर गर्नुपर्ने कामका बारेमा बुझेर, सीप सिकेर मात्रै जानुपर्छ । त्यसले तपाईंलाई विदेशमा पर्न सक्ने समस्याबाट धेरै हदसम्म जोगाउँछ ।

परिवारले पनि विदेशमा हुने आफ्नो सदस्यको समस्या बुझ्न र घरको अवस्था बुझाउन सक्नुपर्छ । तर धेरैको हकमा यो लागु भएको देखिँदैन । कुरा नबुझ्दा सानो समस्याले पनि तिलको पहाड भने जस्तै ठूलो रुप लिन्छ ।

पछिल्लो समय हेर्ने हो भने राम्रो अनि मिलेर बसेको परिवार बिखन्डन (भाँडिने/बिग्रने) हुने कारण भनेको आफ्नो परिवारको सदस्यलाई एक अर्कामा विश्वास नगर्ने, विश्वास नभएको कारण झैझगडा गर्ने, सदस्यहरुबिच सरसल्लाह नै नहुने, परिवारमा एक अर्कालाई बुझ्ने अनि बुझाउने कोशिस नगर्ने, शंका गर्ने, अरुको कुरा सुन्ने, रीसको झोंकमा गरिने कामले तनाव थपिरहेको छ । 

यी कुराहरुमा ध्यान पुर्‍याउन सक्यो भने यस्ता समस्याबाट टाढा रहन सकिन्छ ।  परदेशी र परदेशीका परिवारहरु स्वयंमले कुनै पनि कुराहरु भन्नु, गर्नु भन्दा पहिले ती कुराहरुले भविष्यमा के हुन्छ भने आँकलन गर्न सक्यो भने परदेशी र परदेशीका परिवारलाई समस्याहरुले माथि भनिए जसरी तनाव दिने अवस्था हुँदैन होला । 

त्यसैले यी कुराहरुलाई ख्याल गरेर सम्बन्ध सुधार्न सक्यो भने समस्या र चुनौतीबाट केही हदसम्म टाढा रहन सकिन्छ ।वैदेशिक रोजगारीले ल्याउने समस्यालाई व्यवस्थापन गर्नु भने जति सजिलो पक्कै छैन । 

त्यसैले अप्ठ्यारोका बिच पनि आफ्नो र परिवारको भविष्य सम्झिएर परदेशमा दुःख गरिरहनुभएका परदेशी अनि सदस्य टाढा हुँदा आइपर्ने समस्यासँग जुधेर खुशी बाँडिरहेका उनीहरु परिवारलाई सलाम । 

(मनिका सुनुवार चारघरे सेवा समिति रामेछापद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनामा मनोसामाजिक परामर्शकर्ताका रुपमा कार्यरत हुनुहुन्छ )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।