MENU

मेरो कथा मेरो भोगाई

बिहे गरेको एक महिनामै श्रीमती छोडेर विदेशिनु पर्दा

सन्तोषकुमार राई/खोटाङ

मेरो जीवनमा पनि प्राय सबैको जस्तै संघर्षमै बितिरहेको छ जस्तो लाग्छ । कक्षा १२ सम्मको पढाई सके पछि लाहुरे(आर्मी) हुन २०६१ देखि २०६३ सालसम्म चार पल्ट प्रयास गरें ।

मेरो गाउँ दिक्तेलकाे साेल्माका धेरै आर्मी भएका छन् । त्यसैले मलाई पनि आर्मी हुने मन थियो । चार पल्ट प्रयास गरेको पनि हुँ तर सकिन्ँ । लाहुरे हुन नसकेपछि पढ्न मन लागेन । छोडिदिएँ । 

दुई जना आमासहितको १० जनाको परिवार छुट्टा छुट्टै बस्थ्यौं । घरको जेठो भएकोले परिवारको जिम्मेवारी पनि मेरो काँधमा आउँदै थियो । धरानमा बस्दा समयको सदुपयोग गर्दै इलेक्ट्रिसियन र रेफ्रिजेनेरेटरको ४ महिनाको तालिम लिएँ । गाउँघरमा पनि भर्खरै बिजुलीको तार आइपुगेकाले वायरिङको काम पाएँ ।

कमाइ पनि भयो । काम गर्दा गर्दै आखिर दुःख गर्नु नै पर्ने रैछ बरु विदेशमा दुःख गर्ने हो भने धेरै कमाउन सकिन्थ्यो भन्ने लागेर विदेश जाने भएँ । पहिलो पटक इलेक्ट्रिसियनको काममा दुवई जान म्यानपावरमा कागजात बुझाएँ । अन्तरवार्ता पनि दिएँ तर भिसा आएन । त्यही म्यानपावरले मलाई साउदी पठाउने भयो । त्यसका लागि पनि मैले ६ महिना कुर्नुपर्यो । 

उड्न नपाएको तनावमा प्रेमिकासँग छुटिनु पर्ला कि भन्ने पीर पनि थपियो । प्रेमिकाले घरबाट अरुसँग बिहे गरिदिन लागेको खबर सुनाएपछि उनलाई छोड्न सकिनँ । हामीले भागेर बिहे गर्यौं । यत्तिका समय अल्झिरहेको विदेशको यात्रा बिहे गरेको एक महिनामै बन्यो । म्यानपावरले उड्ने पक्का भयो भन्दै बोलायो ।

हिजोसम्म कहिले उड्नु भन्ने मेरो मनले अब त जान नपरेपनि हुन्थ्यो भन्न थालिसकेको थियो । बिहे गरेको १ महिनामै श्रीमतीलाई छोडेर कम्तीमा पनि दुई वर्षका लागि टाढा जाने रहर कस्को पो हुन्छ र । मलाई पनि त्यस्तै भयो । तर हजारौं युवाको जस्तै बाध्यताका अगाडि मेरो केही लागेन । 

त्यसैले विदेश जान पाएको खुशी भन्दा पनि बिछोडिनु पर्दाको पीडा बोकेर काठमाडौं आएँ । म्यानपावरले जम्मा ९० हजार रुपैयाँ लाग्ने बताउँदै ६५ हजार रुपैयाँ माग्यो ।मैले अलिकति भएपनि घटाइदिनु भनेपछि ७ हजार रुपैयाँ घटाइदियो । ८३ हजार तिरें । ७ सय ५० रियाल तलब पाउने र खाना, बस्न फ्रि, ८ घण्टा काम लेखेको सम्झौता पत्रमा थियो । 

त्यही सम्झौता पत्र लिएर म बङ्गलादेश हुँदै  साउदी अरब पुगें । कम्पनीमा काम सिकेकाहरुलाई राम्रै मान्ने रहेछ । मलाई पनि आफू ईलेक्ट्रिसियनको काम सिकेर आएको छु भनेर खुशी लाग्थ्यो ।

तर कम्पनीमा पुगेको भोलि पल्ट २ सय रियाल दिएर सप्लाईमा अर्काे कम्पनीमा काम गर्न पठायो । त्यहाँ दैनिक १० घण्टा डिउटी गर्नुपथ्र्यो । त्यो पनि जुन पायो त्यही काम । 
उनी गाउँमा एक्लै अनि म परदेशमा । धेरै याद आउँथ्यो । त्यति बेला मोबाइल अनि सिम कार्ड सबैका पहुँचमा थिएन । तर पनि श्रीमतीले २ हजार २२ सय खर्च गरेर सीम हात पारिछिन् । सिम हात पर्ने बित्तिकै पहिलो कल मलाइ नै गरेकी थिइन । त्यसैले सबै दुःख सकिए जस्तो लाग्थ्यो । 

प्राय फोन भइरहन्थ्यो । म उनलाई तनाव हुन्छ भनेर दुःख छ भनेर कहिले पनि सुनाउँदिन थिएँ । पैसा चाहिँ कम छ काम त सजिलै छ भन्थें । उनले पनि पैसाको भन्दा ज्यानलाई सुविस्ता भए भइहाल्यो भन्थिन् । त्यसले मलाई घाउमा मल्हम लगाए जस्तै हुन्थ्यो । 

खानाको पैसा दिएन, तलबबाटै खाना खानु पर्ने, ओभरटाइम पनि कहिले काहिँ मात्रै हुन्थ्यो । पहिलो महिनाको तलब ७ सय ५० रियाल पाउनुपर्ने तर पहिला २ सय रियाल दिइसकेको भनेर त्यसका लागि ५० रियाल कटाएर ७ सय रियाल मात्रै दियो । त्यसमा खर्च गरेर जम्मा पाँच सय रियाल बचाउँथें ।

काम राम्रै चलेको बेला चाहिँ एक हजार रियाल पनि बचाएँ । विदेश जान भनेर सुरुदेखि नै लिएको ऋणको ब्याज सावाँ भन्दा धेरै भएको थियो । घर खर्च सँगै सबै ऋण चुक्ता गर्न मलाई झन्डै २ बर्ष लाग्यो । सम्झौता अवधि सक्किँदा पनि कम्पनीले घर फर्किन दिएन । 

घर फर्किन पाउँ भन्दै लेबरकोटमा उजुरी गरे पछि एक महिना १६ दिनमा कम्पनीले टिकट दिएर घर फर्काइदियो । मेरो २ वर्ष त्यसमै गयो । बचाएर केही ल्याउन सकिनँ । त्यसैले विदेश जाने भईयो भन्दैमा अगाडि नै कहिले पनि ऋण लिनु नहुने रहेछ ।

ब्याज बढी लाग्ने भएकोले विदेशको कमाई आफ्नो लागि नभई साहुको लागि मात्र हुने रहेछ । मेरो लाहुरे हुने नभए विदेश गएर कमाउने दुबै सपना पुरा भएनन् । 

(सन्तोषकुमार राई नवकिरण सेवा समाज अन्तर्गत सुरक्षित आप्रवासन परियोजनामा सामाजिक परिचालकका रुपमा कार्यरत हुनुहुन्छ ।)

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।