विदेशबाट फर्किएपछि च्याउखेती : महिनाको २ लाख आम्दानी

 भदौ २०, २०७६ शुक्रबार १४:४९:५ | सुमन तिमल्सिना

मोरङ – कुनैबेला देशमा काम पाइएन भन्दै वैदेशिक रोजगारीमा गएका बुढीगंगा गाउँपालिकाका सरोज नेपाल अहिले आफ्नै ठाउँमा व्यवसाय गरेर रमाउनुभएको छ । च्याउ खेतीले उहाँले विदेश फर्किने बाटो बिर्सिसक्नुभएको छ । उहाँको प्रगति देखेर छरछिमेकी समेत दंग छन् ।

सरोज सानैदेखि कृषि कर्मलाई रुचाउनुहुन्थ्यो । केही व्यवसाय गरेर स्वदेशमै आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच्नुहुन्थ्यो । कक्षा १० मा पढ्दै गर्दा सरोजले गाउँको दूध खरिद गरेर बजारसम्म पुर्याउने काम गर्नुभयो । उहाँले गाउँका किसानले उत्पादन गरेको दूध खरिद गरेर घर घरसम्म पुर्याउने काम गर्नुभयो ।  यसरी दूध बिक्री गर्दा एक लिटरबाट पाँच रुपैयाँ नाफा हुन्थ्यो । एक वर्ष जति उहाँले त्यही काम गर्नुभयो । 

११ कक्षामा पढाइ चलिरहेको थियो । तर सरोजको ध्यान भने किताबभन्दा बढी कृषिमै थियो । त्यसपछि अब केही न केही व्यवसाय गर्नैपर्छ भनेर सरोजले छिमेकीसँग मिलेर गाउँमै  कुखुरा फार्म खोल्नुभयो । 

एक हजार कुखुराका चल्ला ल्याएर कुखुरा पाल्न थाल्नुभयो । तर रोगको प्रकोप तथा उत्पादनमा आएको गिरावटका कारण एक वर्ष नहुँदै सरोजले त्यो व्यवसाय पनि छाड्नुभयो ।

मनमा कृषिप्रतिको चाहना घटेको थिएन । १२ कक्षा पढ्दै गर्दा १ लाख ३० हजार रुपैयाँमा सानो हाते ट्याक्टर किनेर गाउँलेहरुका खेत खनजोत गर्न थाल्नुभयो । यसबाट पनि सोचेजति फाइदा भएन । दुई वर्ष ट्याक्टर चलाएपछि उहाँले वैदेशिक रोजगारीको बाटो रोज्नुभयो । ‘गरेका सबै काममा भनेजति नाफा भएन, अनि विदेश जाने सोच बनाउनुपरेको थियो’, सरोजले सुनाउनुभयो । 

यात्रा वैदेशिक रोजगारीको 

गरेजतिका कामबाट भनेजति नाफा नभएपछि घरखर्च चलाउन सरोजलाई गाह्रो भयो । घर परिवारको जेठो छोरा भएको कारण भाइबहिनीलाई पढाउने जिम्मेवारी सरोजकै काँधमा थियो । त्यही जिम्मेवारी पूरा गर्न र बुबाआमालाई सहयोग गर्न भन्दै हातमा पासपोर्ट बोकेर उहाँ परदेशको बाटो लाग्नुभयो ।

२२ वर्षको उमेरमा वि.सं. २०७० सालमा सरोज यूएईको दुबई  पुग्नुभयो । त्यहाँ ‘कस्टुमर केयर’को काम थियो । तर सरोजलाई त्यो काम चित्त बुझेन । कृषिमा रमाएको मन त्यहाँ रमाउन सकेन । 

१४ महिनाको दुबई बसाइपछि फेरि उहाँ नेपाल फर्किनुभयो ।

‘अर्काको देशमा  भनेको जस्तो के हुन्थ्यो र’, उहाँ दुबई बस्दाका दिन सम्झिनुहुन्छ, ‘आफूलाई आफैंले बेचेको जस्तो लाग्ने, अरुको नियन्त्रणमा बसेको महसुस भएपछि फर्किने योजना बनाएँ र फर्किएँ ।’

च्याउ खेतीको यात्रा

सरोज दुबईमा हुँदा उहाँका भाइहरु सुरज र जीवनले गाउँमा च्याउको बीउ उत्पादन गर्ने काम सुरु गरिसकेका थिए । त्यो काम गर्ने सल्लाह पनि सरोजले नै दिनुभएको थियो ।

विदेशमा रहँदा सरोजलाई यहाँ बस्नुभन्दा त भाइहरुले गरिरहेको कामलाई नै बढाएर स्वदेशमै राम्रो कमाइ गर्ने सोच बनाइसक्नुभएको थियो । सरोजका भाइ जीवनले क्रिकेट सिक्न काठमाण्डौ गएको बेला च्याउको बीउ बनाउने तरिका सिक्नुभएको थियो । त्यही सिकाइको आधारमा शुरु भएको च्याउको बीउ उत्पादन र च्याउ खेतीलाई बढाउँदै जानु तीनै भाइको जिम्मेवारी थियो ।  

त्यसपछि तीन दाजुभाइले लो टेक प्रबिधिबाट च्याउको बीउ बनाउन सुरु गरे । तर गुणस्तर नहुँदा बिक्री बितरणमा निकै समस्या भयो । 

तीन वर्षसम्म विभिन्न समस्याहरुमै अल्झ्यो च्याउ व्यवसाय । तर उहाँले हार मान्नुभएन । व्यवसायलाई बढाउने र राम्रो उत्पादन गर्नको लागि लगानी बढाउने क्रममा आफूसँग भएको १६ कठ्ठा जग्गा पनि बिक्री गर्नु परेको सरोजले सुनाउनुभयो । 

यति गरेर पनि समस्याको पार लागेन । के गर्ने कसो गर्ने भन्ने दोधारे मनस्थितिमा थिए तीनै दाजुभाइ । यत्तिकैमा उहाँहरुको भेट सुन्दर दुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेसँग भयो । उहाँले केही गर्ने युवा उद्यामीलाई प्रोत्साहन गर्ने विषयमा सरोजलाई २ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने बताउनुभयो । त्यो कुराले सरोज र भाइहरुको आशा बढायो । गुम्न लागेको हौसला फर्केर आयो । 

पहिले बीउ उत्पादनका लागि भारतबाट ल्याइएको मास्टर सीडलाई मल्टिप्लाई गरेर बिउ बनाउने गरिन्थ्यो । त्यो प्रविधिबाट माथि उठेर नयाँ प्रविधिबाट च्याउको बीउ उत्पादन शुरु गरेपछि बल्ल च्याउको बीउबाट व्यावसायिक रुपमा फाइदा हुन थालेको  सरोज बताउनुहुन्छ । बिस्तारै बढ्दै गएको व्यवसायिक सफलतासँगै सरोजको कामको प्रशंसा हुन थाल्यो । 

‘जग्गा बेचेर लगानी गर्दा नेपालका छोराहरु सडकमा आए भनेर गाली गर्ने समाजले अहिले हामीले गरेको कामको प्रचार गर्न थालेका छन्’, सरोजले हाँस्दै भन्नुभयो ।
‘कमाउन विदेश नै जानु पर्दैन’

कुनैबेला आफूले गरेको इलमले गुजरा नचलेपछि विदेश हानिनुभएका सरोज अहिले घरपरिवारसँगै बसेर मासिक दुई लाख रुपैयाँ आम्दानी गरिरहनुभएको छ । बीउ, प्रविधि, कर्मचारीको खर्च व्यवस्थापन तथा घरभाडा लगायतका आन्तरिक खर्च कटौती गरेर मासिक  २ लाखभन्दा बढी आम्दानी गर्दै आएको सरोज बताउनुहुन्छ । 

अहिले तीनै दाजुभाइ आफ्नो व्यवसायमा रमाएका छन् । कमाउनको लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन् । आफ्नो क्षेत्रमै सफल व्यवसायीको रुपमा स्थापित भएका नेपाल दाजुभाइले विभिन्न संस्थाबाट पुरस्कार तथा सम्मान पनि पाएका छन् ।

केन्द्रीय कृषि सहकारी लिमिटेडबाट उत्कृष्ट युवा उद्यमी राष्ट्रिय पुरस्कार, केन्द्रीय साना किसान बैंक लिमिटेड, केन्द्रीय साना किसान सहकारीबाट सम्मान,  जिल्ला युवा परिषदबाट उत्कृष्ट युवा उद्यमी पुरस्कार लगायतका विभिन्न संघ संस्था तथा आफैले अध्ययन गरेको जुपिटर स्कुलले समेत पुरस्कृत गरेको छ । 

यस्ता सम्मान र पुरस्कारले आफूहरुलाई थप उर्जा दिने गरेको भन्दै सरोज भन्नुहुन्छ, ‘यसले हामीलाई अगाडि  बढ्न सघाउँछ ।’

सरोजले आउँदा दिनमा मोरङमा नै यार्सागुम्बा उत्पादन गर्ने योजना बनाउनुभएको छ । त्यसको लागि तयारी गरिरहनुभएको छ । उत्पादन राम्रो गर्न सके सिंगापुर, कोरिया र जापान जस्ता देशमा  निर्यात गर्न सकिने उहाँ बताउनुहुन्छ ।
 

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया