MENU

मेरो कथा मेरो भोगाई

विदेशमा नयाँ हुँदा नेपालीले नै सहयोग नगर्दा रहेछन्

सूर्यमोहन आचार्य । माछापुच्छे गाउँपालिका/कास्की ।

पढ्नका लागि कलेज जान्थेँ । तर पढ्न  त मनै नलाग्ने । कलेज गएपनि नपढेपछि के गर्नु फेल भएँ । १२ कक्षा फेल भएपछि के गर्नु विदेश जाने सोचें। भर्खरै २२ वर्ष लागेको थिए । फेल भएको सुरमा म सन् २००६ मा कतार लागेँ । 

पाइप फिटरको काम । मलाई त सुरुमा त साह्रै गाह्रो भयो । एक सय १४ इन्चसम्मको ग्यास पाइपमा काम गरेँ । नयाँ गएकालाई त नेपालीले नै पनि राम्रो व्यवहार नगर्ने । त्यो बेला त नेपाली देख्दा बोलिदिए मात्र पनि हुन्थ्यो, यसो के छ मात्र भनिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तर पुरानाले नयाँ जानेलाई खासै सहयोग नगर्ने ।

आफ्ना भन्ने कोही नभएको ठाउँमा नेपाली देख्दा आफ्ना लाग्थ्यो । अरु त के चाहियो र बोलीको सहयोग पनि नपाइने रहेछ । त्यसैले सुरुसुरुमा चाहिँ साह्रै मन आत्तियो ।

कतारको गर्मी । गुम्म परेको ठाउँमा काम गर्न पर्ने । एसी, पङ्खा भएको ठाउँमा काम गर्न पाए त हुने थियो नि के गर्नु त्यस्तो नहुँदो रहेछ । तर महिना मर्ने बित्तिकै पैसा हात पर्दाको चाहिँ सबै दुःख बिर्सन्थे । पैसा हात परेको दिन त बरु एसएलसी मै फेल भएको भए त यतिबेला त कति कमाइ सक्थे जस्तो लाग्थ्यो । ढिलो फेल भएछु भनेर पछुतो लाग्थ्यो ।

जस्तो अवस्था आइपरे पनि काम गर्नै पर्ने । दुःखसुख काम गरेँ । पुरानो हुँदै गएपछि काम जानियो, भाषा पनि जानियो । सबैले माया गर्न थाले । तर त्यही माया नयाँ जानेलाई किन नगरेको होला ? यो कुरा मेरो मनमा अहिले पनि खेलिरहन्छ । नयाँ हुँदा त ठूलाको दवाव, काम नजान्दाको गाली सम्झदा त अहिले पनि मन चिसो हुन्छ । 

यसरी नै कतारमा ५ वर्ष बिताएँ । यो ५ वर्षमा दुई पटक घर विदामा आएँ । ५ वर्ष पछि भने मलाई फेरि विदेश जान मन लागेन । ५ वर्षको कमाइले गाउँमा एउटा घर बनाएँ । विदेशको दुःखले मुन्टो लुकाउने घर भयो । त्यती हो ।

सन् २०११ मा घर फर्किएर व्यवसायिक रुपमा कुखुरा पाल्न सुरु गरेँ । सुरुमा त श्रीमतीले पनि साथ दिइन् । राम्रै कमाइ भयो । तर पछि उनी बिरामी भएपछि मैले यो व्यवसायलाई निरन्तरता दिन सकिन । 

अहिले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सूचना केन्द्रमा स्वयमसेवकको रुपमा काम गरिरहेको छु । आफ्नै गाउँमा विदेशको बारेमा जनचेतना फैलाउन पाउँदा निकै खुसी लाग्छ । तर मानिसलाई कुरा बुझाउन गाह्रो छ । 

दलालले अनेक कुरा सुनाएका हुन्छन् । तर दलालको कुरा मात्र सुनेर सीप नसिकी परदेशिदा दुःख पाइन्छ । 

सुर्यमोहन आचार्यसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म । भिडियो ः उज्यालो ।