MENU

मेरो कथा मेरो भोगाई

​मलेसियाले खुट्टा खायो, मैले क्षतिपूर्ति पाउँछु होला त ?

साङबहादुर तामाङ/सिन्धुपाल्चोक ।

घरमा आम्दानीको स्रोत कुनै थिएन् । जसो गरेपनि बिहान बेलुकाको छाक टार्ने धौ धौ भयो । नेपालमा भन्दा धेरै पैसा कमाउने ठाउँ मैले विदेश नै देखें । २०६९ सालमा म काठमाडौंमा रहेको प्रिज्मा ओभरसिस् इम्प्लोइमेन्ट प्रलिबाट मलेसिया गएँ ।

काम सामसङ इलेक्ट्रोनिक कम्पनीमा थियो । यो कम्पनीमा जान मैले एक लाख ८० हजार रुपैयाँ तिरें । म्यानपावरले विदेशमा काम राम्रो छ भनेको थियो । कम्पनी पनि राम्रो नै हो ।

दुई वर्ष नौ महिना भएको थियो । काम सकेर फर्किदै थिएँ । बाटो काट्दा गाडीले हान्यो । साथीहरुले अस्पताल लगेछन् । मलाई त केही थाहा छैन् । तीन दिन पछि होसमा आउँदा त मेरो खुट्टा काटिइसकेको थियो ।

पैसा कमाउछु भनेर गएको दाहिने खुट्टा गुम्यो । २५ दिन अस्पतालमा बसें । उपचार खर्च पनि कम्पनीले नै दियो । घर फर्किने बेलामा टिकट खर्च पनि कम्पनीले नै दियो ।

कमाउन गएको मान्छे गरिखाने खुट्टा नै गुमाउन प¥यो । सग्ला खुट्टा लिएर गएको थिएँ, वैशाखी टेक्ने भएर फर्किएँ । घर फर्किंदा मलाई मरेकै जुनी भयो भन्ने लागेको थियो । श्रीमती र छोराछोरीलाई कसरी मुख देखाउनु भन्ने सोचले घाउको चोटले भन्दा पनि यस्तै कुराले मन भतभती पोलेको थियो । 

३५ वर्षको भएँ । खुट्टा छैन् । वैशाखीको साहारामा के मात्र गर्नु । दुई जना छोरी छन् । एउटी दुई कक्षामा पढ्छिन्, एउटी काखे छिन् । विहान बेलुका पेट भर्ने मेलो पनि नभएपछि मैले गाउँमै सानो खुद्रा पसल त थापेको छु । तर यसले खान बाहेक पुग्दैन् । कसरी छोराछोरी पढाउनु, दुःख बिमार हुँदा कसरी उपचार गर्नु ? 

काठमाडौंमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशबाट अंगभंग भएर फर्किएकालाई क्षतिपूर्ति दिन्छ रे भनेर गाउँतिर धेरैले कुरा गर्छन् । बीमाबाट पनि पैसा पाइन्छ रे । खै मलाइ त केही थाहा छैन् । बुझ्न हिँड्न पनि सक्दिन् ।

कहाँ जानुपर्छ र कसरी पाइन्छ भन्ने पनि थाहा छैन् । फेरि दुर्घट्ना हुँदाको र उपचार गराउँदाको कागज पनि विदेशमै छुट्यो ।  मसँग त पासपोर्ट मात्र छ । क्षतिपूर्ति कसरी पाइन्छ होला ? क्षतिपूर्ति पाए त मेरो परिवारको उद्दार हुने थियो । मेरो भन्दा पनि छोराछोरीले पढ्न पाउँथे ।

अहिले क्षतिपूर्तिका लागि सहयोग गरिदिन जिल्ला समन्वय समिति अन्तर्गत सुरक्षित आप्रवासन परियोजना सिन्धुपाल्चोकमा अनुरोध गरेको छु । मैले क्षतिपूर्ति पाउछु होला त ?

साङबहादुर तामाङसँग सुरक्षित आप्रवासन परियोजना सिन्धुपाल्चोककी कार्यक्रम संयोजक रिना श्रेष्ठले गरेको कुराकानीमा आधारित ।

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।