MENU

मेरो कथा मेरो भोगाई

काममा पेलाई र गाली सुनेपछि लाग्यो, विदेशमा काम गर्न शाखा सन्तान नजाउन

मिसन विरही खड्का ।

आजभन्दा ५ वर्ष अगाडि म रोजगारीका लागि युएई गएको थिएँ । त्यसबेला मेरो उमेर १९ वर्ष थियो । घरमा आमाबाले विदेश नजाउ, पढ भन्दा पनि म धेरै र छिट्टै पैसा कमाउने सपना बोकेर युएई पुगेको हुँ । पैसा कमाएर बाआमालाई सुखसँग राख्ने रहर पनि थियो । 

जब म युएईको एयरपोर्टमा झरेँ, त्यसैबेला मेरा सपना चकनाचुर भएजस्तो लाग्यो । फर्केर नेपाल टेक्न पाउँदिन झैं मनमा लाग्यो । एयरपोर्ट बाहिर कम्पनीको मान्छे लिन आएका रहेछन् । म सहित सात जनालाई गाडीमा लिएर कम्पनीको अफिसमा लग्यो । 

पाँचतारे होटलमा खाना सर्भिस गर्ने भनेर हामी सबैजना गएका थियौं । तर म्यानेजरले तिमीहरु वेटर होइन, क्लिनर हो, जुठो भाँडाकुँडा सफा गर्नुपर्छ भन्यो । म त छाँगाबाट झरे जस्तै भएँ । 

कत्रो सपना बोकेर आएको थिएँ । खाना सर्भिस गर्दा ग्राहकले टिप्स पनि दिन्छ भन्ने सुनेको थिएँ । त्यसो भयो भने विदेश जाँदा लागेको ऋण छिट्टै तिरेर ठूलो घर बनाउँला, भाइलाई धेरै पढाउँला भन्ने सोचेको थिएँ । त्यो सपना कम्पनीको अफिसमा पुग्न साथ टुट्यो । 

एक मनले त घर फर्किएर जाउँ भन्ने लाग्यो । अर्को मनले साहुको ऋण सम्झियो । अनि दुःखसुख २ वर्ष बिताउने निर्णय गरियो । भोलिपल्ट देखि ड्युटी सुरु भयो । ग्राहकले खाना खाएको प्लेट, पकाएका अरु भाँडाकुँडा देखि स्टाफका लागि खाना बनाउने भाँडा सफा गरियो । जिन्दगीमा कहिल्यै नदेखेको भाँडा देखियो । भाँडा भित्रै पसेर दुई हातले सफा गर्दा पनि नभेट्टाउने । 

भाषा नजान्ने । गाली र पेलाई त कति हो कुरै छोडिदिनु । नेपालीले नेपालीलाई पेल्ने, गाली गर्ने । त्यो देखेर मलाई बस्नै मन लागेन । मन नभए पनि बस्नुपर्ने बाध्यता थियो । साहुको ऋण लिएर कमाउन विदेश हिँडेको, त्यसै फर्केर हुन्नथ्यो । 

दुःखसुख काम चल्दै थियो होटलमा । जुठो भाँडा माझ्दा कहिलेकाँही त बिहानको ३/४ पनि बज्थ्यो । कोठा गयो अनि लगत्तै बिहान १० बजे ड्युटी आउनुपर्ने । निन्द्रा पूरै खल्बलिने । कहिले सुत्न पाइन्नथ्यो । १४ घण्टा ड्युटी गर्नुपर्ने । यस्तो लाग्थ्यो, विदेशमा काम गर्न मेरा शाखा सन्तान नआउन् । यहाँ गर्ने दुःख नेपालमा गर्‍यो भने सुन फलाउन सकिन्छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।